पोखरा । योज तमुहरुको ज्ञात इतिहास तथा वंशावली `ख्योंलो योज ट्हों´ पुस्तक लोकार्पण तथा वितरण कार्यक्रम २०८३ वैशाख १२ गते शनिबार, पोखरा-१४ काजीपोखरी हवेलीमार्ग स्थित पैयुँखोला तमु समाज भवनको सभाहलमा सम्पन्न भएको छ ।
शनिबार आयोजित १४ घरे योज तमु परिवार, पोखराका अध्यक्ष राधाप्रसाद योज तमुको अध्यक्षतामा नेपालभरि छरिएर बसेका योज तमुहरुको बाक्लो उपस्थितिमा वंशावली पुस्तक संकलन, लेखन तथा प्रकाशन १४ घरे योज तमु परिवारकै संस्थापक अध्यक्ष क्या.गंगा बहादुर योज तमुद्वारा भाइखलकको ज्येष्ठ नागरिकहरुको रोहबरमा लोकार्पण तथा वितरण गरिएको हो ।
वंशावली पुस्तक लेखक तथा प्रकाशक क्या.गंगाबहादुर योज तमुले २०६० सालदेखि निरन्तर रुपमा आफ्नो पुर्ख्यौली (पैत्रिक) थलो (न्हेज) खोज्दै कास्कीको खिलाङ गाउँमा पुगेपछि `ख्योंलो योज ट्हों´ को बारे गहिरो अध्ययन र अनुसन्धान गर्दै जाँदा नेपालभरि छरिएर बसेका योज तमुहरुको वास्तविक इतिहास तथा वंशावली संकलन गर्न थालेको झण्डै २२ वर्ष पुगेको कुरा आफ्नो अनुभव र अनुभूतिसहित बताउँछन् ।
लोकार्पण तथा वितरण गरिएको एउटा पुस्तकको वजन झण्डै १ किलो ६५ ग्राम रहेको र लगभग ३,५००/- मूल्य पर्ने बताउँदै वंशावली पुस्तकमा नाम उल्लेख भए अनुसारको उपस्थित दाजुभाइहरुलाई जेठाको हाँगाबाट नि:शुल्क वितरण सुरु गर्दै लगभग १०० वटा पुस्तक शनिबार वितरण गरेका थिए ।









