महिला पत्रकारका अवसर र चुनौती

SHARE:

पवन मुडभरी
विगत केही वर्षयता नेपालको पत्रकारिता क्षेत्रमा महिलाको आकर्षण बढिरहेको छ ।

विभिन्न जिल्लामा खुलेका एफएम स्टेसनदेखि लिएर टेलिभिजन, पत्रपत्रिका हुँदै अनलाइन मिडियामा समेत महिला पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । एकातिर प्रवेश बढ्दो छ भने अर्कोतिर पत्रकारिता क्षेत्रमा महिलाका समस्या तथा चुनौतीहरु पनि त्यत्तिकै छन् । बाहिरको संसारमा रहेर काम गर्नेहरूको त कुरै छोडौँ, घरभित्रै बसेर काम गर्ने गृह व्यवस्थापकहरू पनि चुनौती र समस्याबाट टाढा छैनन् । घरको सीमित दायरामा रहेर पारिवारिक भूमिका निर्वाह गर्दै आएको पृष्ठभूमि बोकेका नेपाली महिलाले बाहिरी संसारमा उभिएर व्यावसायिक बन्न खोज्नु आफैमा चुनौतीपूर्ण हो । हरेक पेसा–व्यवसाय अपनाउने महिला हुन् या पुरुष या तेस्रोलिङ्गी सबै नै कुनै न कुनै समस्या र चुनौतीबाट गुज्रिरहेका हुन्छन् ।

घरको सीमित दायरामा रहेर पारिवारिक भूमिका निर्वाह गर्दै आएको पृष्ठभूमि बोकेका नेपाली महिलाले बाहिरी संसारमा उभिएर व्यावसायिक बन्न खोज्नु आफैमा चुनौतीपूर्ण हो ।

०४६ को प्रजातन्त्रपछि पत्रकारिता क्षेत्र फराकिलो बन्दै जाँदा महिलाको प्रवेश पनि बाक्लिँदै गएको हो । अहिले विभिन्न कलेजहरूमा हुने पढाइका कारण महिलालाई यो क्षेत्रमा आउन झनै सहज भएको छ । पहिला–पहिलाजस्तो पत्रकारिता विषय नपढी अभ्यासबाट मात्रै आउनेहरूभन्दा पढेर आउनेहरूमा सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान हुने हुँदा झनै सजिलो भएको छ । उनीहरूमा आत्मविश्वास पनि बढी देखिन्छ । त्यसमा पनि अङ्ग्रेजी माध्यमबाट शिक्षा पाएकाहरूका लागि नेपालमै भएका अंग्रेजी मिडिया र अन्तर्राष्ट्रिय दुवै मिडियामा काम गर्ने अवसरहरू छन् । राष्ट्रिय र स्थानीय मिडियामा रेडियो र टेलिभिजनमा महिलाको सङ्ख्या बढी छ । रेडियोमा महिला स्वरका कारण प्रवेश दिइए पनि त्यहाँभित्र गएर प्राविधिक तथा लेखनमा आफ्नो दक्षता बढाउने अवसर प्रसस्त छ । सुरुमा स्वर या अनुहारका लागि मिडियामा स्थान दिइएका धेरै महिलाहरु काम गर्दै जाँदा अहिले सम्बन्धित मिडियाका लागि नभइनहुने पत्रकार या सञ्चारकर्मी बन्न पुगेका छन् । राजधानी र विभिन्न जिल्लामा यस्ता महिला पत्रकारहरूको सङ्ख्या बढ्दै गएको छ ।

पत्रकारितामा महिलाका लागि के छ त अवसर ?

पत्रकारिता चुनौतीसँगै अवसरले भरिएको पेसा हो । महिलाले पत्रकारितालाई पेसाका रूपमा अपनाउनुपर्ने केही सुखद कारण छन् । हाम्रोजस्तो समाजमा महिलाको आफ्नै नाम, पहिचान हुनु आफैँमा ठूलो कुरा हो । अरूको नाम र नाताबाट आफ्नो परिचय पाउने आम नेपाली महिलाको अवस्था भएको हाम्रो समाजमा पत्रकारिता क्षेत्रमा स्थापित भएका महिलाले कसैकी छोरी, श्रीमती या बुहारी भनेर चिनिनु, चिनाउनुपर्दैन । बढीमा आफू कार्यरत सञ्चार संस्थाको नाम भन्नुपर्ला नत्र परिचयका निम्ति आफ्नो नाम नै काफी हुन्छ । आफूले गरेको काम सबैले थाहा पाउने र मूल्याङ्कन गर्न सक्ने हुँदा विभिन्न क्षेत्रका मानिसले गर्ने ‘रेस्पोन्स’ र त्यसबाट मिल्ने सन्तुष्टि छुट्टै प्रकारको हुन्छ । अन्य क्षेत्रमा काम गर्नेहरूले आफ्नो नाम कमाउन जिन्दगीका धेरै वसन्त पार गर्नुपर्छ, अनुभवले खारिँदै कपाल फुलाउनुपर्छ, तर मिडियामा कहिलेकाहीँ अत्यन्तै राम्रो भयो भने एउटै सामग्रीले पनि जनमानसमा राम्रो प्रभाव जमाउन सक्छ, नाम कमाउन सकिन्छ । त्यस्तै, सधैँ नयाँ सूचनाहरूसँग खेल्न पाउनु पनि कम रोमाञ्चकारी कुरा होइन ।

घरपरिवार र नातेदारहरूका आराम–बिमार र अनेक टीका–टिप्पणीबाट माथि उठेर देशको राजनीति, अर्थ, व्यवसाय, सुरक्षालगायत महत्त्वपूर्ण प्रायः सबै विषयमा जानकारी लिने मौका, आफ्नो ‘बिट’अनुरूप कतिपय विषयमा जान्नैपर्ने अवस्था, देशको मात्रै नभएर विश्वमै भएका अनेक घटनाबारे ‘अपडेट’ हुने अवसर अरू क्षेत्रमा पाइँदैन । लगनशील भएर मिहिनेतका साथ काम गर्नेहरूलाई अवसर पनि त्यत्तिकै छ । मिडियाको बढ्दो प्रतिस्पर्धामा रोजाइहरू धेरै छन्, अझ अङ्ग्रेजी पृष्ठभूमिबाट आएकाहरूलाई त नेपालमा बसेर विदेशी सञ्चार संस्थाहरूमा काम गर्न पाउने सम्भावना पनि त्यत्तिकै छ । केही वर्षदेखि हाम्रो मुलुक विदेशी मिडियाका निम्ति समाचारको उर्वरभूमि रहँदै आएको छ, महिलालाई प्राथमिकता दिने विश्वव्यापी मान्यताअनुरूप खटेर व्यावसायिक रूपमा काम गर्ने महिलाले पुरुष पत्रकारले भन्दा चाँडो काम पाउन सक्छन् ।

अरूको नाम र नाताबाट आफ्नो परिचय पाउने आम नेपाली महिलाको अवस्था भएको हाम्रो समाजमा पत्रकारिता क्षेत्रमा स्थापित भएका महिलाले कसैकी छोरी, श्रीमती या बुहारी भनेर चिनिनु, चिनाउनुपर्दैन ।

विभिन्न क्षेत्र, तह र तप्काका मानिसले दिने सम्मान पनि यो क्षेत्रमा जस्तो अन्त कमै हुन्छ । एउटा व्यावसायिक पत्रकारलाई सबै राजनीतिक पार्टीहरू, व्यावसायिक सङ्घ÷सङ्गठनहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूलगायतले उत्तिकै दूरीको महत्त्व दिइरहेका हुन्छन् । यसैगरी अन्य पेसामा प्रतिष्ठा हासिल गरिसकेका मानिसहरूलाई भोलि राजनीतिक तथा अन्य उच्च पदमा पुगेर आफ्नो कार्यकाल सकिएपछि फेरि आफ्नो पुरानै पेसामा फर्किन गाह्रो हुन्छ, तर पत्रकारितामा हुनेहरूलाई आफ्नो पेसामा फर्कन चाहे खासै अप्ठ्यारो पर्दैन ।

साथै उमेरको हदबन्दी नहुने हुँदा सक्रिय रहन सके जीवनबाटै अवकाश प्राप्त नभएसम्म यो पेसाबाट बाहिरिनुपर्दैन । विशेषगरी छापा र अनलाइन माध्यममा काम गर्नेहरूका लागि ‘रिपोर्टर’ हुँदाको ‘मोबिलिटी’को अनुभवलाई ‘ओपिनियन मेकर’का रूपमा जीवनको उत्तरार्द्धसम्ममा उपयोग गर्न पाउनु पत्रकारिता क्षेत्रको सुन्दर र सबल पक्ष हो ।

पत्रकारिताबाट महिला पलायन हुनुको कारण

राज्यको चौथो अंग मानिने पत्रकारीताका क्षेत्रमा महिला पत्रकारहरु पेसामा लागेको केहि समय पछि नै पलायन हुन्छन ।

किन दिर्घकाल सम्म यस पेशामा रहन सक्दैनन् ? यो एक गम्भिर प्रश्न उठ्न पुगेको छ । ठुलो जोस र आँट लिएर प्रवेश गर्ने पत्रकारीताको क्षेत्रमा किन केही समय पश्चातनै पेशा छोड्ने अवस्थाको सृजना हुन्छ । एउटी महिला पत्रकार मात्र नभएर कसैकी छोरी, श्रीमती, बुहारी र आमा पनि हुन् । उसो त पुरुषहरु पनि कसैको छोरा, श्रीमान, ज्वाई र बाबु हुन् । तर पुरुषलाई यी सवै नातागोताले उसको काममा कुनै प्रभाव पार्दैन ।

महिला पत्रकार भने आफ्नो काम संग संगै यी सवै बन्धनमा जकडिएका कारणले यो पेसाबाट पलायन हुन वाध्य हुन्छिन । अनि अर्को कुरा पुरुष पत्रकार साथिसँग समन्वय गर्दा वा समाचार रिर्पोटिंगमा एक्लै हिड्दा समाजले कुरा काटने गरेका कारण पनि महिला पत्रकारमा आफ्नो पेशाप्रति असहज भएको पाइन्छ फलस्वरुप महिला पत्रकार पत्रकारिता बाट पलायन हुन पुग्छन् । पत्रकारिता क्षेत्रमा लागेका महिला पत्रकारको कामको मुल्याङ्कनसँगै प्रोत्साहन गर्ने चलन कमै मात्र भएको पाईन्छ ।

जसले गर्दा दक्ष महिला पत्रकार यस पेसाबाट बिस्तारै पलायन हुने क्रम जारी छ । आजको महँगीको समयमा सम्बन्धित संचार माध्यमले सन्तोषजनक रुपमा समयमा पारिश्रमिक दिन नसक्नु, विवाहित महिला पत्रकारले घरबार र पत्रकारिता पेशाबीच तालमेल मिलाउन नसक्नु आदि कारणहरु रहेका छन् महिला पत्रकार पलायन हुनुमा । अरुका हिंसामा कलम चलाउने हामी महिला पत्रकार आफै पनि कुनै न कुनै बेला लैगिंक हिंसाको चपेटामा पर्ने गर्दछौ । त्यसतर्फ पनि महिला पत्रकार सचेत भएर काम गर्नुपर्ने अवस्था छ । महिला पत्रकार भएर स्थापित हुन ठुलो चुनौती रहेको छ । त्यसैले पत्रकारितामा प्रवेश गर्न चाहाने नव प्रवेशी महिलालाई निकै ठुलो हिम्मतको आवश्यकता छ । एक त चुनौती पूर्ण कार्य पत्रकारिता, त्यसमा पनि महिला भएर फिल्डमा निस्किदा बाहिरी वातावरणसँग आफैलाइ ढाल्न नै निकै कठिन हुन्छ । तर हिम्मत र हौसला रहेमा जस्तो सुकै कठिनाई पार गरि लक्ष्यमा अवश्य पुग्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!