महावीर पुन
कोरोना भाइरसको दोस्रो लहरमा केही दिनसम्म राष्ट्रिय आविष्कार केन्द्रमार्फत अक्सिजनको खाली सिलिन्डरहरु जम्मा गर्ने र अक्सिजन भरेर वितरण गर्ने प्रयासमा मैले जाने बुझेंसम्म अक्सिजनको चरम अभावलाई तुरुन्त पूर्ति गर्ने अन्तिम उपाय तल दिएको छु । सिलिन्डर संकलन गर्ने निकै प्रयास गर्दा पनि सोचे जति उपलब्धि नभएकोले सोचेको उपाय हो यो । मैले सुझाएको उपायसँग तपाईं सहमत नहुन पनि सक्नु हुन्छ । छलफल गरौं र राम्रो उपाय निकालौं ।
पहिलो कुरा त, कोरोना महामारीको अहिलेको अवस्था भनेको संकटकालीन अवस्था हो । कुनै कल्पना नै नगरिएको संकट आइहाल्यो भने त्यसलाई पार लगाउनको लागि मौजुदा र प्रचलित चलन, नियम कानुन र प्रशानिक तरिकाले काम गरेर समस्या सामाधान हुँदै हुँदैन । नेपाल सरकारले अहिलेसम्म नबुझेको कुरा यही नै हो । प्रधानमन्त्रीसहित मन्त्री मण्डलले निर्णय गरेर कोरोना रोकथाम र समस्या सामाधानको लागि मुख्य सचिव र मन्त्रालयका सचिवहरुलाई कडा निर्देशन दिनु हुन्छ । अनि सचिवहरु र विभागीय प्रमुखहरुले सो निर्देशन पालन गर्नको लागि मौजुदा ऎन, नियम कानुन, प्रक्रिया र अभ्यासको आधारमा कदम चाल्छन् । यसरी कदम चाल्दा एक दिनमा हुने काम हप्तौं र महिनौं लाग्दछ । आकस्मिक संकट यसरी समाधान गर्न खोजेर हुँदै हुँदैन । त्यसलाई समाधान गर्ने छुट्टै ऎन, नियम कानुन, प्रक्रिया हुनु पर्छ जुन प्रक्रिया नेपालमा छँदै छैन । मैले यसो भन्दा दु:ख नमान्नु होला होला ।
उसोभए सरकारले तत्कालै चाल्नु पर्ने कदम के हो त ?
१. अहिले कोरोनाको महामारीमा भएको अक्सिजनको चरम अभावलाई समाधान गर्नको लागि सर्वप्रथम राष्ट्रपतिले अध्यादेशद्वारा “कोरोना महामारी रोकथामको लागि आपतकालीन कानुन र प्रक्रिया” भन्ने अध्यादेश ल्याउने ।
२. सोही कानुनमा टेकेर सरकारले भ्रष्टाचार नगर्ने स्वच्छ व्यक्तिहरुको टीम बनाएर काम सुरु गरिहाल्ने ।
३. अध्यादेश ल्याउन एक दिन लाग्ला र रातारात काम गरेर प्रक्रिया मिलाउन १ हप्ता लाग्ला ।
४. अनि नेपाल एयरलाइन्स र हिमालायन एयरलाइन्सका ४ वटा जहाजहरुमा तीन हप्ता भित्रमा २० हजार वटा खाली अक्सिजन सिलिन्डरहरु तुरुन्तै चीनबाट अथवा अन्य मुलुकबाट ल्याउने ।
५. ती खाली सिलिन्डरहरु अस्पतालहरुमा हाल चलिरहेका प्लान्ट र अन्य अक्सिजन उद्योगहरुलाई तुरुन्तै उपलब्ध गराएर अक्सिजनको चरम अभाव कम गर्ने ।
लौ त, म मूर्ख मान्छेले जानेको कुरा यही हो । म सरकार भएको भए कुनै पनि हालतमा यही काम गर्ने थिएँ । अब गर्ने काम सरकारको हो ।






