संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को आवश्यकता र महत्व

SHARE:

गणेश राना
सात समुद्रपारिको भौतिक बसाई भएपनि गृहजिल्लाको माया र यादको धड्कन बनी हृदयभरि सजिदोरहेछ । बाहिरी रङ्गीबिरङ्गी फूलबुट्टाको सजावटभन्दा अनन्तसम्म जन्मभूमिको सजावट नै मनभित्रको कुनामा सजिदोरहेछ ।
पूर्वी नेपालको १ नं. प्रदेशमा पर्ने कोसी अञ्चलको सुन्दर पहाडी जिल्ला, सर्वोच्च शिखरमा मोतीको दानाझंै टलक्क टल्किने सेतो अनि कञ्चन, अमूल्य गहनाको रुपमा सजिएको संसारकै पाचौं अग्लो मकालु हिमालको काखमा रहेको जिल्ला हो, संखुवासभा । हिमशिखरबाट बगेको स्वच्छ र निश्चल सदाबहार रुपमा हरियो रङ्गको आभाष दिलाउने नेपालकै ठूलो र प्रशिद्ध अरुण नदी संखुवासभा जिल्लाकै मेरुदण्ड र पहिचानको रुपमा अवस्थित छ ।

नेपालमै सबैभन्दा धेरै विभिन्न प्रकारका राष्ट्रिय फूल लालीगुराँस फुल्ने अग्रणी जिल्लाको रुपमा चीरपरिचित छ भने जिल्लाको शान र संखुवासभाको पहिचानको रुपमा जिल्लाको उत्तर र पश्चिममा बग्ने संखुवा नदी, मध्ये भागबाट बग्ने सभा नदी, यही दुई नदीको मिलनविन्दुबाट जिल्लाको नाम संखुवासभा नामकरण गरिएको वास्तविक यथार्थता जिल्लावासीमा रहेको छ । संसारकै सुप्रशिद्ध सबैभन्दा गहिरो र होचो ठाउँमा रहेको अरूण उपत्यका तुम्लीङटार विमानस्थल (एयरपोर्ट)ले जिल्लाको शानलाई उच्चतममा राखेको छ । मकालु हिमालको काखैमा रहेको बरुण राष्ट्रिय निकुञ्ज, उत्तरमा मित्रराष्ट्र चीनको स्वशासित तिब्बतसँग सिमाना जोडिनुको साथै ताप्लेजुङ, तेह्रथुम, धनकुटा भोजपुर सोलुखुम्बु जिल्लासँग सिमाना जोडिएको छ ।
जिल्लामा विभिन्न मठमन्दिर शक्तीपीठ देवालय देवीदेवताको मन्दिर आस्था र विश्वासका प्रसिद्ध धार्मिकस्थलसहित पर्यटकीय मनमोहक स्थलहरु संखुवासभामा प्रशस्त छन् । विदेशी आगन्तुकलाई मात्र नभई नेपाली मनहरुलाई पनि सजिलै लोभ्याउन सक्ने पहाड पर्वत खोलानाला झरना, छाँगा अनेकन देउराली, चौतारी, भञ्ज्याङ लेक बेंसी, फाँट र समथर मैदानहरूले भरिभराउ हुनुको साथै भौगोलिक र प्राकृतिक रूपमा रहेको जडिबुटी, वनस्पति र वनपैदावर प्रचूरताको खानी भएको असाध्यै सुन्दर र रमणीय पहाडी जिल्लाको रुपमा संखुवासभाले भिन्नै पहिचान बनाएको छ ।

संखुवासभा जिल्लामा बसोबास गर्ने विभिन्न जातजाति भाषाभाषीहरुको आ–आफ्नै मौलिक कला र संस्कृति, नृत्य संगीत, भेषभूषा रीतिरिवाज रहनसहन र बसोबासले पनि संखुवासभालाई नेपालमा एउटा नमुना जिल्लाको रुपमा चिनाउन सफल भएको छ ।

प्राकृतिक संम्पदाको खानी भएको संखुवासभाले नेपालको इतिहासमा देखिएका आर्थिक सामाजिक राजनीतिक फरक फरक खालको साना ठूला समस्या र कठिन चुनौती सामना गर्दै राष्ट्र निर्माणमा आमुल परिवर्तनको मार्गरेखा कोरिँदा होस् या नयाँ नेपाल निर्माणको निम्ती । संखुवासभा जिल्लाले दशकौंदेखि महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको इतिहास साँची छ ।

भौगोलिक रुपमा नेपालको एकीकरण भएपश्चात्, नेपालको केन्द्रीय राज्यसत्तामा संखुवासभा जिल्लावासीले प्रतिनिधित्व गर्नबाट बन्चित हुनु परेको तीतो यथार्थ आम संखुवासभालीहरुको मानसपटलमा अहिले पनि ताजै छ ।
तीनवटा राष्ट्र नेपाल, चीन र भारतलाई जोड्ने जोगबनीदेखि किमाथांकासम्मको नेपालको सबैभन्दा नजिक ४१९ किमिको दूरी भएको नाकालाई यदि सञ्चालन गरिएमा नेपालको मुख्यद्वारको रुपमा सावित भई सिंगो राष्ट्रले आर्थिक विकासमा उच्चतम गतिका साथ फड्को मार्ने थियो ।

सिंगो राष्ट्र निर्माणको निम्ति ठुल्ठूला संभावित विकास परियोजना सम्भावना हुँदाहँुदै पनि सदियौंदेखि केन्द्रीय राज्यसत्ताले सधैंजसो संखुवासभालाई ओझेलमा पार्ने गरेको दिनको घामझैं छर्लङ्ग छ । केन्द्रीय राज्यसत्ताको नजर संखुवासभामा भलै नपरोस् तर पनि परिवेश र परिस्थितिभित्रको समयसांपेक्षमा नेपालको राजनीतिक इतिहासले जतिसुकै कोल्टे फेरे पनि संखुवासभा जिल्ला एक ज्वलन्त इतिहासको रुपमा पर्खाल बनी खडा भएकै छ । कुनै एक जमानामा विकटताको नामले पुकारीने “संखुवासभा” वर्तमान अवस्थामासम्म आइपुग्दा विकासको गतिसँगै संखुवासभाले फड्को मारेको अवस्था छ ।

नेपालको पूर्वदेखि पश्चिम जोड्ने तराईको हाईवे यातायात पृथ्वी राजमार्गसँग पहाडी यातायात मार्ग नजोडिकन संखुवासभाको सदरमुकाम खाँदबारीमा गाडी गुड्ने गर्छ अनि त्यहाँका जनता गाडीमा यात्रा गर्छन् भन्दा सायदै जोकको अनुभूति प्रायमा हुने गर्थ्यो ।

आत्मनिर्भर र आत्मस्वभालम्बीलाई आत्मसात गर्दै आमसंखुवासभालीहरुको अथक् मिहिनेत र प्रयासले गर्दा नेपाली इतिहासमा एक छुट्टै नयाँ पहिचान बनाई केन्द्रीय राज्यसत्तालाई घचघचाउने काम पनि गरेको थियो । पहाडी जिल्ला भए पनि विकासको फलस्वरूप वर्तमान अवस्थामा संखुवासभालीहरुको एकतासहितको जागरुकताले जिल्लाको प्रत्येक गाउँपालिका अन्तर्गत वडाको कुनाकुनासम्म यातायात मार्ग बन्ने क्रम जारी छ ।

पाँचवटा नगरपालिका र पाँचवटा गाउँपालिकाभित्र सुगमताको फूलहरु फुल्न खोजी रहेका छन् । “संखुवासभाको शान, संखुवासभाली हाम्रो पहिचान” लाई आत्ममनन् गरी मकालु हिमालको काखमा रहेको संखुवासभा जिल्लाबाट समयको परिवेशसँगै विश्वको विभिन्न मुलुकमा प्रवासी नेपालीको रूपमा स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहेका सम्पूर्ण संखुवासभालीहरूलाई संखुवासभाली मूल सुत्रमा एकाकार गरी अन्तर्राष्ट्रियस्तरबाटै एकीकृत र संगठित रूपमा गोलबन्द गर्दै सम्पूर्ण संखुवासभालीहरूलाई एक साथ अगाडि बढाउने महान् उद्देश्य रहेको “संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्” नामक साझा संस्था स्थापना गरेका छौं ।

संखुवासभा जिल्लामा जन्मीहुर्की विदेशीभूमिलाई कर्मथलो बनाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग जुटाई आफ्नो जन्मभूमि थातथलोलाई सदैव माया गरी गर्वका साथ जिल्ला र जिल्लावासीहरुलाई साथ र सहयोग गर्दै समग्र जिल्लाको विकास उन्नति र प्रगतिको बारेमा चिन्तित रहनुहुने सहयोगी मनका धनी संखुवासभालीहरु र घरदेशमा रहेका संखुवासभालीमाझ निःस्वार्थ सहयोग, सद्भाव, मायाबोध, प्रेमभाव, आत्मियताको सुमधुर सम्बन्धलाई अझ प्रज्ञाण र मजबुत बनाउँदै एकताको मालामा गाँसेर अगाडि लैजाने संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को संकल्प रहेको छ ।

“संखुवासभालीको पहिचान, विश्वसामु चिनाउने हाम्रो महान् अभियान” लाई आत्मसात गर्दै “जन्मभूमिका लागि अब केही गरौं” भन्ने भावनाको साथ विश्वभर छरिएर रहेका संखुवासभालीहरुलाई आफ्नो गृहजिल्लाको विकास र समृद्धिको सपनालाई साकार पार्न संगठित र गोलबन्द हुनको निमित्त प्रवासी संखुवासभालीहरुको साझा छाता संस्था संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा सबै संखुवासभालीहरुलाई हार्दिकताको साथ
आह्वान गरिनेछ ।

संखुवासभा जिल्लावासीहरुलाई भई परिआउने प्राकृतिक प्रकोप, भवितव्य, प्रत्यक्ष देखिएका जटिल चुनौती एवम् अचानक आइपर्ने विभिन्न खाले समस्याहरूसँग एक आपसमा सामूहिक रूपले हातमा हात, काँधमा काँध मिलाई संगठनात्मक रुपमा मुकाबिला र सामना गर्न सदैव संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् तत्पर रहनेछ ।

वर्तमान परिप्रेक्ष्यमा सिंगो जिल्लाको सेरोफेरोमा रहेर हामी तमाम संखुवासभालीहरु विभिन्न जातजाति, भाषाभाषी, धर्मकर्म संस्कार संस्कृति, वर्ग, लिङ्ग, ठाउँ क्षेत्र, आस्था र विचारभन्दा पनि माथि उठी हरपल संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई सबै प्रकारको संखुवासभाली भावनाको सुन्दर फूलहरु फुल्ने साझा फुलबारीको रुपमा रुपान्तरण गरी रोप्ने, हुर्काउने र फूलाउने ठूलो जिम्मेवारी अन्तर्राष्ट्रियस्तरमै हामी सबै संखुवासभालीहरुको काँधमाथि आइपरेको अवस्था छ । संखुवासभाली मनका विभिन्न प्रकारको फूलहरु फुल्ने साझा फुलबारीको रुपमा विकास गर्दै संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सबै संखुवासभालीहरूलाई समेट्न प्रयासरत रहनेछ ।

संखुवासभाली गाउँले दाजुभाइ, दिदीबहिनी, आमाबुबाहरूको भावनात्मक रूपमा भित्री आत्मादेखि नै आत्मियता जगाउने एवम् संखुवासभा जिल्लावासीहरुसगँको सद्भाव तथा समन्वयलाई विस्तार गरी एकापसमा सम्पर्क र गाउँले सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ्न उत्प्रेरित तथा मार्गनिर्देशन गर्नको लागि विश्वको विभिन्न देशमा स्थापना भएका संखुवासभा समाजहरु आबद्ध रहेको विशुद्ध साझा छाता संस्थाको रूपमा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई परिचालन गरिने छ ।
गृहजिल्लाको विकास र जिल्लावासी जनहितको लागि (एक थोपा सुकी सय थोपा नदी) यदि तपाई हाम्रो प्रयासले थोपा थोपा जम्मा गरेर जिल्लावासी र जिल्ला विकासमा टेवा पुग्छ भने हामीले किन अरुको मुख ताक्ने ? भौगोलिक हिसाबले मातृभूमिदेखि सात समुद्र टाढा भए पनि गाउँले भावनात्मक सम्बन्धले गर्दा जिल्लावासीमाझ संखुवासभाली एकता, जुझारुकता, लगनशिलता र आत्मीयता मजबुत गर्नको निमित्त संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत महत्वपूर्ण भूमिका निभाउन सकिनेमा सायद दुईमत नहोला ।

ऐतिहासिक रुपमा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्माण गरेको अन्तर्राष्ट्रिय संखुवासभाली गोरेटो बाटोबाट हिँड्नको निम्ति चाल्दै गरेको प्रत्येक आलो पाइलाहरुमा सम्पूर्ण संखुवासभालीहरुले आत्मसात गर्नेमा परिषद्को विश्वस्त छ ।
हामी सबै संखुवासभालीहरुको थातथलो जन्मभूमि संखुवासभालाई समृद्ध जिल्लाको रुपमा देखिने गरेको सपनालाई विपनामा साकार पार्न सबै संखुवासभाहरु एकीकृत हुन जरुरी छ । समृद्ध जिल्ला र जिल्लावासीको सुखद् भविष्यको परिकल्पनाको आधारमा हाम्रो जिल्ला र जिल्लावासीको लागि मागचित्र कोर्नलाई एक नयाँ संखुवासभाली पानामा एक नयाँ उचाईको इतिहास रच्न हाम्रो महान् अभियानलाई सफल बनाउन विश्वको विभिन्न मुलुकमा बसोबास गरिरहेका सबै संखुवासभालीहरुले आपूmसँग भएको भिजनसहित आआफ्नो ठाउँबाट साथ र सहयोग गर्नु हुनेछ भन्ने संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अपेक्षा गरेको छ ।

(लेखक, संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् संयोजक एवं संखुवासभा समाज बेलायतको प्रमुख सल्लाहकार हुन् ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!