
वीरप्रसाद घर्तीमगर
परिचय :
हुन त कुनै न कुनै रूपमा भूमिको पूजा नेपालका अन्य समुदायहरुले पनि गर्ने गर्दछन् तर भूमि पूजालाई नै भव्यतापूर्वक एउटा पर्वको रुपमा भने मगर समुदायले मात्रै मान्ने गर्दछन् भन्दा सायद यहाँ गलत नहोला । अपवादबाहेक असार संक्रान्तिमा मनाइने यस भूमे पर्वको किम्बदन्ती गाउँ र ठाउँअनुसार केही फरक भए तापनि समग्रमा यसको सार भने एउटै पाइन्छ जुन भूमि अर्थात् जमिनसँग सम्बन्धित देवताको पूजा हो ।
१८ मगराततिर जल वा सिमसारसँग सम्बन्धित देवतालाई सिमे र जमिन अर्थात् भूमिसँग सम्बन्धित देवतालाई भूमे भन्ने गरिन्छ, त्यसैबाट नै सिमे-भूमेजस्ता प्रकृतिसँग जोडिएका देवीदेवताहरूका नामहरू सिर्जना भएका हुन् । त्यही भूमे देवताको पूजा गरेर मनाइने पर्व भएकोले यस पर्वलाई भूमे पर्व भनेर भन्ने गरिएको हो । वर्षायाम सुरु भएसँगै बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपहरुबाट जोगिन र लगाएका अन्नबालीहरु राम्रो होस् भनेर असार संक्रान्तिका दिन भूमे देवताको पूजा गरी करिब हप्ता दिनसम्म नाचगान गर्दै हर्सोल्लासका साथमा खुशियालीसाथ यस पर्वलाई मनाइन्छ ।
पहिले पहिले यसै दिनलाई नयाँ वर्षको सुरुवात मानेर गाउँको नयाँ मुखियादेखि लिएर कटुवालसम्म चुन्ने काम यसै पर्वमा गरिन्थ्यो भने यसै समयमा गाउँको घरकुरिको जनगणना पनि हुने गर्दथ्यो । मुखिया चुन्ने र घरकुरी गणना गर्ने चलन अहिले हराएर गए तापनि गाउँको नयाँ कटुवाल चुन्ने चलन भने अझैसम्म कायमै छ । वर्ष दिनको यस पर्वमा सबैले रमाइलो गरेर खुशियाली मनाउन पाउन भन्ने खातिरले वनजङ्गलका गोठहरुमा भएका गोठालाहरुलाई समेत पर्व मनाउनका लागि १-२ दिन पालो दिएर भए पनि पर्व मनाउन दिइन्छ । भूमे पर्वलाई करिब हप्ता दिनसम्म मनाउनु एउटा मुख्य कारण नै वर्ष दिनको पर्वलाई सबैले मनाएर रमाइलो गर्न पाउन भन्ने हो । त्यसैले त भूमे नाच नाच्दाखेरि “पारि पाखा पखेरीमा स्यालै करायो, बाँच्यौं भने अर्को साल मरे हरायो” जस्ता भावुक गीतका टुक्काहरु भनेर नाच्ने गरिन्छ । यस भूमे पर्वका आफ्नै मौलिक विशेषताहरु छन् जुन यसप्रकार छन् :
बाजा फुकाउने:
भूमे पर्व असार संक्रान्तिको दिनमा भूमे देवताको पूजा गरेर मनाइने भए तापनि जेठ १ गते बाजा फुकाएर भूमे नाचको सुरुवात भएदेखि नै यस पर्वको तयारी सुरु हुन्छ । किनभने जेठ १ गते बेलुकी गाउँका युवायुवतीहरु गाउँको चौतारामा भेला भइ बाजा फुकाएर भूमे नाचको उद्घाटन गर्दछन् जसलाई बाजा फुकाउने भनिन्छ र जेठ १५ गतेसम्म एक दिन बिराएर हरेक रात चौतारामा भेला भएर मध्यरातसम्म नाच्ने गर्दछन् । जेठ १५ गतेबाट भने बुकी फूल टिप्न नजाँदासम्म गाउँका युवायुवतीहरु हरेक रात चौतारामा भेला भएर नाच्ने गर्दछन् । राति अँध्यारोमा भाङ बालेर नाचिने भएकोले भूमे नाच्न नजान्ने र नाच्न धक वा लाज मान्ने युवायुवतीहरुको लागि नाच सिक्ने र धक पचाउने यो एउटा राम्रो अवसर हो, जसलाई यस पर्वको एउटा विशेषताको रुपमा मान्न सकिन्छ।
नोगोबाङ्गे:
भूमे देवताको पूजाको लागि बुकिको स्वच्छ जल र चोखो बुकी फूल लिएर आउनु पर्ने हुन्छ, जसको लागि गाउँका युवायुवतीहरु मिलेर बुकी फूल टिप्न जाने चलन छ जसलाई नोगोबाङ्गे टोली भनेर भनिन्छ । जसको संख्या ३०/४० देखि लिएर सय-डेढ सयसम्म पनि हुने गर्दछ । यिनै नोगोबाङ्गेलाई ठाउँअनुसार कसैले नोकोबाङ्गे त कसैले लोकोबाङ्गे र कसैले लोगोबाङ्गे भनेर पनि भन्ने गर्दछन् । जुन नोगोबाङ्गे शब्दबाट अपभ्रम्स हुन गएको हो । किनभने बुकी फूल टिप्न जाने टोलीलाई नोगोबाङ्गे भन्नुको पनि एउटा कारण छ, जसको शाब्दिक सम्बन्धलाई खोज्दै जाने हो भने यसको मूल जरो (origin) पूर्वी रुकुमको “नोगो पो” बुकीमा भेटिन्छ, जुन भूमे गाउँ पालिकाको लुगुममा पर्दछ । भूमे पर्वमा लुगुम गाउँका युवायुवतीहरु “नोगो पो” बुकीमा गएर फूल टिपेर ल्याउने भएको कारणले त्यस ठाउँमा फूल टिप्न जाँदा खेरि ती युवायुवतीहरूले खाम भाषामा “नोगो दा बाने” (नोगो मा जाने) भनेर भन्छन् भने त्यहाँ फूल टिप्न जाने टोलीलाई गाँउलेहरूले “नोगोबाङ्गे” भनेर भन्दछन् । यही “नोगो पो” भन्ने बुकिमा हरेक थरको थरअनुसार आ-आफ्नो बेग्लाबेग्लै चौपारीका अवशेषहरु अझै पनि छन् जुन कुनै समयमा ती थरका पुर्खाहरुले भूमे पर्वको लागि बुकी फूल टिप्न जाँदा खेरि बनाएका थिए । यिनै चौपारीहरुमा हरेक थरका केटाहरुले जंगलबाट मुर्ला (रुखको ठूलो हाँगा) ल्याएर चौपारीको बिचमा गाड्छन् भने चेलीहरुले त्यस मुर्लामा धजा बाँधेर धुप, फूलपाती र लिसक (चोखो रक्सी) चढाएर आफ्ना पुर्खाहरुलाई पुज्छन् अनि त्यस थरका युवायुवतीहरु चौपारीलाई घुमाएर नाच्ने गर्दछन् र त्यस पछि मात्रै ठूलो चौपारीमा गएर सबै मिलेर नाच्दछन् । खाम क्षेत्रमा अन्य कतै “नोगो पो” भन्ने ठाउँ र यस्ता प्राचीन चौपारीका अवशेष भएको पाइँदैन । यसै कुराबाट नोगोबाङ्गे शब्दको सम्बन्ध “नोगो पो” भन्ने यस ठाउँसँग रहेको बलियो आधार देखिन्छ र यसै तथ्यबाट नोगोबाङ्गेको एउटा शाब्दिक अर्थ पनि लाग्न आउँछ भने लोकोबाङ्गे, लोगोबाङ्गे, नोकोबाङ्गेजस्ता अन्य शब्दको कुनै शाब्दिक सम्बन्ध र अर्थ लागेको देखिँदैन। त्यसैले “नोगोबाङ्गे” बाट अपभ्रंश भएर नै नोकोबाङ्गे, लोगोबाङ्गे, लोकोबाङ्गे जस्ता अन्य शब्दहरुको सिर्जना हुन गएको हो भन्ने मेरो बुझाई हो ।
नोगोबाङ्गेहरु जेठ मसान्तको अघिल्लो दिन जम्मा भएर भूमे बाजा बजाउदै नाच्दै बुकी तिर जान्छन भने भोली पल्ट मसान्तको दिन बुकिको जल र फूल लिएर नाच्दै गाउँदै गाउँ फर्कन्छन । नोगोबाङ्गे टोली गाउँमा आइपुग्दा गाउँका पन्चभलादमीहरुले मिलेर रक्सी र खाजा सहित तिनको स्वागत गर्दछन। तिनैले ल्याएको फूलपातीबाट असार संक्रान्तिका दिन भूमे देवताको पूजा गरिन्छ।
भूमे पर्वको समापन नभएसम्म यी नोगोबाङ्गेहरु मिलेर एउटा घरमा भान्सा बनाएर खाने र त्यतै नाचगान गरी रमाइलो गरेर बस्ने चलन छ, जसमा भोजमा मासुको लागि केटाहरुले भेडा वा सुँगुरहरु किनेर काट्छन भने केटीहरुले चामल र अन्य खाजाहरुको बन्दोबस्त गर्दछन्, यसका साथै भोजका लागि पन्च (गाउँ) बाट पनि नोगोबाङ्गे टोलीलाई एउटा भेडा उपहार दिने चलन छ ।
भूमे पूजा:
भूमे पूजाको लागि गाउँको मगर जैसीले पात्रो र राशिफल हेरेर एक जना मार (भेडा) तान्ने, एकजना मार लखेट्ने र एकजना मार काट्ने गरेर जम्मा तीन जनालाई पूजाको लागि खटाउने गर्छन्, जसमा मार काट्ने व्यक्ति मुख्य पुजारी हुन्छ । पूजामा ठाउँअनुसार कतै साँढे भेँडा त कतै बोका, राँगो, सुँगुर वा भाले पनि पूजा गरिन्छ तर अधिकांश ठाउँमा भेडा नै पूजा गरिन्छ जुन पन्चले (गाउँ) उपलब्ध गराउने गर्दछन् । पूजाको अघिल्लो दिन बेलुकीदेखि पूजा नसकिएसम्म पूजामा खटिएका तिनै जनाले केही नखाएर उपासना गर्नु पर्ने हुन्छ, यदि त्यसो गरिएन भने भूमे देवता रिसाएर हानी पुराउने बिश्वास गरिन्छ । पूजा गर्ने समयमा मार तान्ने र लखेट्ने व्यक्तिले भेडालाई खोलामा लगेर धोएर चोखो बनाउँछन् भने पूजारी चाँहि पूजा गर्ने ठाउँमा गएर बस्छन् । भेडालाई खोलामा लगेर चोखो पारिसकेपछि धुप बत्ति र फूलपाती चडाएर मन्छाउने काम गरिन्छ र भेडा मन्छिना साथ दमाहासहित गाजाबाजा बजाउँदै भेडालाई गाउँ कटाएर पूजा गर्ने ठाउँमा लगेर पूजा गरिन्छ । भेडालाई गाउँको बिचबाट दौडाएर लग्ने क्रममा गाउँका महिलाहरुले घरको धूलो ध्वाँसो भेडाको जिउमा फाल्ने गर्दछन्, यसो गर्दा घरको ग्रहदसा भूमे देवताले बोकेर जाने बिश्वास गरिन्छ ।
भूमे नाच:
भूमे पर्वजस्तो भव्यता र रौनकता भएको मगर पर्व सायद अर्को छैन भन्दा यहाँ अन्यथा नहोला । किनकि सहनाई, दमाहा र झ्यालीको तालमा नाचिने बिभिन्न तालको नाचले यस पर्वलाई जति भव्य र रमाइलो बनाउँदछ त्यो अन्य पर्वहरूमा पाइँदैन । भूमे पर्वको अवसरमा नाचिने यिनै नाचलाई भूमे नाच भनेर भनिन्छ । यो एउटा समूहमा नाचिने नाच हो जसमा महिला र पुरुष बेग्लाबेग्लै लाईनमा लामबद्ध भएर नाच्ने गर्दछन् । लामबद्ध भएर नाचिने नाच भएकोले यस नाचमा एकैपटक धेरै जनाले नाचेर यसबाट सामूहिक मनोरन्जन लिन सकिन्छ जसमा बुढाबुढीदेखि केटाकेटीसम्म सामूहिक रूपमा एकैपटक नाच्ने गर्दछन् र यहि नै यस नाचको प्रमुख बिशेषता हो। किनभने अन्य नाचहरुमा जस्तो सिमित संख्याले मात्रै नाचेर सिमितले मात्रै मनोरंजन लिने नाच यो होइन। यसका साथै नाच्ने कला नभएकाहरुले पनि यो नाच सहजै नाच्न सक्ने भएकोले जो कोहिले पनि नाचेर यसको भरपुर आनन्द लिन सक्छन र यो पनि यस नाचको अर्को बिशेषता हो। यस नाचमा बिच बिचमा “पारि पाखा पखेरीमा स्यालै करायो, बाँच्यौं भने अर्को साल मरे हरायो” जस्ता गीतका टुक्काजस्तो खुट्का हालेर पनि नाचिन्छ भने बिना खुट्का बाजाको तालमा मात्रै पनि नाचिन्छ। पहिले पहिले यस नाचको २२ वटा चाला (ताल) हुन्थ्यो भनिन्छ तर आज भोलि १२-१५ वटा चाला मात्रै नाच्ने गरेको पाइन्छ जुन यस प्रकार छन् :
१. नोगोबाङ्गे वा भूमे चाला (यस चालाबाट भूमे नाचको उद्घाटन गरिन्छ)
२. एकोहोरे (एउटा हातलाइ मात्रै हल्लाएर नाचिने नाच)
३. दोहोरे (दुवै हातलाई पालैपालो हल्लाएर नाचिने नाच)
४. एकोहोरे दोहोरे (एकोहोरे र दोहोरे दुवैलाई मिलाएर नाचिने नाच)
५. तीन पाईले (तिन पटक अगाडी पछाडी पाइला सार्दै नाचिने नाच)
६. गाई दुने (गाई दुहेको जस्तो गरेर नाचिने नाच)
७. चौभाने (चारै दिशा तिर घुम्दै नाचिने नाच)
८. रिकुई झ्याईगुम (हर्सोल्लासका साथ नाचिने नाच)
९. ढल्कनी (ढल्की ढल्की नाचिने नाच)
१०. पछ्यौरा फाल्ने (महिलाहरुले पछ्यौरी हल्लाएर नाचिने नाच)
११. कम्मर बिसाउने (महिलाहरुले भुइँमा कम्मर बसाउदै नाचिने नाच)
१२. कोखा काट्ने (हातलाई कोखामा काटेको जस्तो गरेर नाचिने नाच)
१३. फूल टिप्ने (भुँइको फूल टिपेर शीरमा लगाएको जस्तो गरेर नाचिने नाच)
१४. साङ्ग्ला बाट्ने (साङ्ग्लो बाटेको जस्तो गरेर नाचिने नाच)
भूमे पर्वको बिसर्जनः
भूमे पर्वको अन्तिम दिन दान झार्ने गरिन्छ जसमा बाजा बजाउनेहरुको अगाडी एउटा रुमालमा फूलपाती राखिन्छ र मेलामा आउनेले स्वेच्छाले उक्त रुमालमा केहि दान दिने चलन छ। स्वेच्छाले दान गर्ने भएकोले यसमा दान दिनै पर्छ भन्ने कुनै करकाप भने हुँदैन र उक्त रुमालमा जम्मा भएको दान पैसा बाजा बजाउने टोलीले लग्ने गर्छन। भूमे पर्वको अन्तिम दिनको बेलुकि पख भूमे बिसर्जन बाजा बजाएर भूमे पर्वलाई अर्को वर्ष सम्मको लागि समापन गरिन्छ। बाजा बिसर्जन गरि सके पछि फेरी बाजा बजाएर नाच्न पाइदैन। यसरी रौनकताले भरिएको वर्ष दिनको रमाइलो भूमे पर्वको समापन हुन्छ।
मगर राष्ट्रिय पर्व:
माथिका तथ्यहरुले प्रमाणित गर्दछ कि भूमे पर्व कत्तिको भब्य र रौनकताले भरिपूर्ण छ भनेर, जुन मगर संस्कृति र परम्पराको एउटा सुन्दर पहिचान मात्रै नभएर एउटा सारंस्कृतिक शान पनि हो, जसमा सम्पूर्ण मगरहरूले गर्व गर्न सक्नु पर्दछ । यसका साथै भूमे पर्व मगरहरुले मात्रै मनाउने एउटा विशुद्ध मगर मौलिक पर्व भएकोले यस पर्वलाई मगरहरुको राष्ट्रिय पर्वको रुपमा स्थापित गरेमा यो पर्व मगरहरुको एउटा सांस्कृतिक शान र पहिचानको रुपमा स्थापित भएर रहने कुरामा कुनै आशंका छैन। त्यसैले भूमे पर्वलाई मगर राष्ट्रिय पर्वको रुपमा स्थापित गर्न सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो पहल गर्नु पर्ने देखिन्छ र यस पर्वलाइ प्रमोट गरेर सम्पूर्ण मगरहरू माझ पुराउनु सबै मगरहरूको कर्तब्य भित्र पर्न कुरा हो ।






