भगिरथ योगी।
लन्डन – गत आइतबार ७ जुन २०२६ का दिन आशफोर्डमा ‘गोर्खा वाक’ भव्य रूपमा सम्पन्न भएको छ।
गोर्खा पिस फाउन्डेसनद्वारा आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ फिल्ड्समा आयोजित १३ औं वार्षिक गोर्खा पदयात्रामा यस पटक झन्डै ३,००० जनाको उत्साहजनक सहभागिता रहेको फाउन्डेसनका संस्थापक अध्यक्ष भीमराज तुम्वाहाम्फेले जानकारी दिए।
ब्रिटिश सेनाको सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ (भीसी) प्राप्त १३ जना भूतपूर्व गोर्खा सैनिकहरूको सम्झनामा यो पदयात्रा प्रत्येक वर्ष आयोजना गरिँदै आएको हो। यस वर्षको गोर्खा वाकमा परम्परागत नौमती बाजाका साथै राई समुदायको साकेला र लिम्बू समुदायको च्याब्रुङ (के लाङ) नृत्य समेत प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप सांस्कृतिक र आकर्षक बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आशफोर्डका सांसद सोजन जोसेफले गोर्खा समुदायको जीवन्त सामाजिक एकीकरण र बृहत् ब्रिटिश समाजमा उनीहरूले पुर्याएको अमूल्य योगदानको उच्च प्रशंसा गरे। त्यसैगरी, गोर्खा जस्टिस क्याम्पेनका अभियन्ता पिटर क्यारोलले बेलायत र गोर्खाहरू बीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै निरन्तर सहयोग र पारस्परिक सम्मानको महत्त्वमा जोड दिए।
१३ जना गोर्खा भिसीहरूको स्मृतिमा आयोजित १३ किलोमिटर दौड प्रतियोगितामा यस वर्ष पुरुष तथा महिला दुवै विधामा नयाँ कीर्तिमान (रेकर्ड) कायम भएको छ। पुरुषतर्फ ४९ मिनेट ८ सेकेन्डमा दुरी पार गर्दै रोबर्ट लाटाला प्रथम, ५३ मिनेट १३ सेकेन्डका साथ फ्र्याङ्क रेग्निगियो द्वितीय र ५९ मिनेट ६ सेकेन्डका साथ सगीन राई तृतीय भए।
त्यस्तै, महिला विधातर्फ मन्दा गुरुङले ५७ मिनेट ४५ सेकेन्डको उत्कृष्ट समय निकाल्दै प्रथम स्थान हासिल गरिन्। यसैगरी, १ घण्टा ११ मिनेट १० सेकेन्डका साथ पुनम गुरुङ द्वितीय र १ घण्टा १३ मिनेट १० सेकेन्डका साथ जुन्तारा राई तृतीय स्थान हासिल गर्न सफल भए।
विजेताहरूलाई पुरस्कार वितरण गरिएलगत्तै भव्य सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो। महोत्सवमा नेपालबाट आएका आमन्त्रित राष्ट्रिय कलाकारहरू सोनी कुँवर, नीरा थापा मगर, पूनम गुरुङ र गोबिन पुनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई झुमाएका थिए भने शिवदास गुरुङ लगायतका स्थानीय कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। मौसम अनुकूल नभएका कारण पूर्व निर्धारित हट एयर बेलुन उडाउने कार्यक्रम भने स्थगित गरिएको आयोजकले जनाए। उक्त विशेष समारोहमा सहभागिता जनाउन स्कटल्याण्डदेखि ‘बिग मोटरबाइक राइडर्स’ को टोली समेत आशफोर्ड आइपुगेको थियो।
लन्डन र आशफोर्डमा कार्यालयहरू रहेको ए स्टार मोर्गेजेज लगायत विभिन्न स्थानीय व्यवसाय तथा कम्पनीहरूले यस पदयात्राको मुख्य प्रायोजन गरेका थिए।
फाउन्डेसनका अध्यक्ष तुम्वाहाम्फेले १३ औं गोर्खा पदयात्रालाई एक ऐतिहासिक र अविस्मरणीय कोसेढुङ्गा बनाउन अहोरात्र खट्ने सम्पूर्ण स्वयंसेवकहरू, प्रायोजकहरू, स्थानीय अधिकारीहरू, कलाकारहरू तथा देश-विदेशबाट पाल्नुभएका सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका छन्।






