
नगेन्द्र नेम्वाङ
लन्डन २ अगस्ट २०२२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको आयोजनामा जुलाई ३१ तारिखमा पाँचौं लोकदोहोरी स्वर्णिम साँझ सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि रसमोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसी, विशेष अतिथि गण्डकी प्रदेश समिति सचिव राजन कार्की र प्रतिष्ठान यूके शाखाका अध्यक्ष टंक शेरचनले संयुक्तरुपमा पानसमा दीप प्रज्ज्वलन गरी स्वर्णिम साँझको उद्घाटन गरेका थिए । त्यसलगत्तै नेपालको राष्ट्रिय गान बजाएर आफ्नो मातृभूमिलाई सम्झिएको थियो । र, विगत ३ वर्ष कोरोनाकालमा ज्यान गुमाउने प्रतिष्ठानका कलाकार सदस्यहरुको आत्माको चीरशान्तिको लागि मौनधारण पनि गरेका थिए ।
अध्यक्ष, प्रमुख अतिथिद्वारा कलाकारहरुलाई खादा ओढाइ स्वागत, सम्मान गरे । प्रमुख अतिथि प्रवेश केसीले कार्यक्रम सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए भने अध्यक्ष शेरचनले कार्यक्रममा उपस्थित अतिथि, कलाकारलगायत कार्यक्रम सफल पार्नका लागि आर्थिक, भौतिक सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा उपाध्यक्ष मनसुधन थापामगर र महिला सचिव कल्पना श्रीपालले सम्पूर्ण अतिथि कलाकार, स्थानीय कलाकारहरुको परिचय गराउँदै गीतसंगीत, नृत्य कार्यक्रम सुरु गरेका थिए ।
लाइभ म्युजिक मिरमिरे आँखा, बेली र चमेली भाकामा प्रस्तुत गर्ने म्युजिसियनहरु मादलमा मिन गुरुङ, सारङ्गीमा गिरीबहादुर बाहिक, मुरलीमा हिराजंग गुरुङ, ढोलकमा रेशम पचे, अटोप्याडमा विलन थापा, हार्मोनियममा कुमार गुरुङ थिए ।
लोक दोहोरी गीत विलन थापामगर, धन गुरुङ, निर आले, शान्ता रानी परियार, अस्मिता डल्लाकोटी, भूमिका शाह, विशाल रायमाझी, राजन कार्की, खीमानन्दले गाएर आमन्त्रितत सम्पूर्ण अतिथिहरुलाई मन्त्रमुग्द पारेका थिए भने मोडल तथा डान्सर रीना थापामगरले नाचेर भरपुर मनोरन्जन दिलाएकी थिइन् ।
टंक शेरचनको अध्यक्षतामा भएको स्वर्णिम साँझ औपचारिक कार्यक्रम महासचिव रत्न शाहीले सञ्चालन गरेका थिए । कार्यक्रममामा बेलायतवासी संगीत पारखीहरुको बाक्लो उपस्थिति थियो ।








