लन्डन १२ अगस्ट २०२३ । नेपाली हास्य क्षेत्रका दुई लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ बेलायत आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा ‘कमेडी धमाका’ गर्न उनीहरु शुक्रबार लन्डन आइपुगेका हुन् । इनास यूके अध्यक्ष विनोद चिपालु र निर्देशक एवम् कलाकार सनम वैरागले लन्डन हिथ्रो विमानस्थल पुगेर कलाकारद्वयलाई स्वागत गरेका थिए।
नेपाल फुड्सको प्रस्तुति रहने कमेडी धमाकाको पहिलो शो यही अगस्ट २० तारिख आइतबार साँझ उलवीचको ट्रामसेड थिएटरमा हुँदैछ। सो अवसरमा दमन र चम्सुरीको हास्यव्यंग्यका साथै कयौं स्थानीय कलाकारका मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहने आयोजकले जनाएका छन्। दीपक थापा, सुगम थापा, नील पुन, अमृता पाण्डे, भावना बुढाथोकी क्षेत्री र खगेन्द्र जंग ठकुरीलगायतले गायन तथा नृत्य प्रस्तुत गर्नेछन्।
कमेडी धमाकाका मुख्य प्रस्तुतकर्ता कलाकारद्वय दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ ले बेलायतवासी सबै दर्शकलाई आफ्नो कार्यक्रममा निमन्त्रणा गरेका छन्। कमेडी धमाकाका थप शोहरु बेलायतका विभिन्न क्षेत्रमा पनि आयोजना गर्ने तयारी रहेको आयोजक समूहमा संलग्न इनास यूके अध्यक्ष विनोद चिपालुले जानकारी दिए। कार्यक्रममा मिल्सा स्टोर्स, गोर्खा क्लब र भिजनसंसार मिडियाले सहआयोजकका रुपमा सहयोग गर्दैछन्।






