सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।
आइतबार बिहान करिब २:३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा तीन महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा जिप चालक ओखलढुंगाका करिब २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन् ।
उनीहरूलाई प्रारम्भिक उद्धारपछि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि चारै जनालाई एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको छ ।
प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ । दुर्घटनाको कारण तथा मृतक र बेपत्ता व्यक्तिहरूको थप विवरण आउन बाँकी छ ।






