अल्डरसट, बेलायत। बेलायतस्थित ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) मार्फत नेपालको रसुवाका बाढीपीडितका लागि ६३२ पाउन्ड आर्थिक सहयोग प्राप्त भएको छ।
- अक्टोबर १६, २०२६ मा बेलायतको अल्डरसटस्थित जीआरएनसीको कार्यालयमा आयोजित कार्यक्रममा बिलायती समाजसेवीहरू स्टिभ गोटिङ र सोभरेन हस्पिटालर अर्डर अफ सेन्ट जोन अफ जेरुसेलमले बाढीपीडितको सहयोगार्थ उक्त रकम प्रदान गरेका हुन्।
जीआरएनसीका अध्यक्ष लीला सेलिङ माबोले सहयोगदाता स्टिभ गोटिङ तथा संस्थाप्रति आभार व्यक्त गर्दै विपद्को कठिन घडीमा नेपाल र बाढीबाट प्रभावित परिवारलाई सहयोग गरेकोमा धन्यवाद दिएकी छन्।
त्यसैगरी, कार्यक्रममा उपस्थित भई सहयोग पुर्याउने वीर बलाल, सुनील राना, सुशीला थापा र सञ्जय राईप्रति पनि जीआरएनसीले आभार व्यक्त गरेको छ। छोटो सूचनाका बाबजुद समय निकालेर कार्यक्रममा सहभागी भएकोमा उनीहरूको योगदानको प्रशंसा गरिएको छ।

जीआरएनसीले विपद्बाट प्रभावित नेपाली परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग र सद्भावका लागि सबै सहयोगदातालाई धन्यवाद दिएको छ।
अध्यक्ष माबोले जीआरएनसीको सम्पूर्ण टोलीका तर्फबाट सहयोगदाता तथा सहयोगमा साथ दिने सबैप्रति पुनः हार्दिक आभार व्यक्त गरेकी छन्।







