काठमाडौं ४ अक्टुबर २०२३ ।

नेपाली फिल्म ‘परदेशी–२’ को नयाँ गीत ‘कुरा सिधा छ’ सार्वजनिक भएको छ ।
डान्सिङ शैलीको गीत बुधवार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतमा फिल्मका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटीलाई प्रस्तुत गरिएको छ ।
यो गीतमा गायक प्रताप दास तथा गायिका मिना निरौलाको स्वर सुन्न सकिन्छ । यो गीतमा बिबि अनुरागीको शब्द तथा संगीत छ । गोविन्द राईले भिडियोको कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोलाई सम्पादन भने मिराज अर्यालले गरेका छन् ।
घटस्थापनाको दुई दिनअघि अर्थात असोज २६ गतेदेखि प्रदर्शनमा आउने ‘परदेशी–२’ लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । यो फिल्ममा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको यो फिल्मलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रुपमा निर्माण गरेका हुन् । यो फिल्ममा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ ।






