लण्डन २९ नोभेम्बर २०२३ ।

नेपालका वरिष्ठ तथा लोकप्रिय हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी प्रहसन कार्यक्रमका लागि बेलायत आउने भएको छ ।
बेलायतस्थित गोर्खा भेट्रान र तिनका परिवारहरुको कल्याण एवं हकहितका लागि समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरले मह जोडीलाई बेलायत निम्त्याएको हो । सदावहार कलाकार मदनकृष्ण र हरिवंश झण्डै ९ वर्षपछि कार्यक्रम प्रस्तुत गर्न बेलायत आउने भएका हुन् ।

सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको भिजा लागिसकेको र उनीहरु २० डिसेम्बरमा लन्डन आउने योजना बनाइरहेको जानकारी दिए । ‘मह जोडी यूके टुर’ लन्डन ह्यारोबाट शुरु हुनेछ । ह्यारो लिजर सेन्टर बाइरन हलमा आउंदो २३ डिसेम्बर, २०२३ दिउसो ४ देखि ११:३० बजेसम्म हुने कार्यक्रमको प्रवेश शुल्क ३०पाउण्ड छ ।
यस कार्यक्रममा चर्चित गायक प्रकाश सपुतलाई समेत सहभागी गराउन छलफल भइरहेको तामाङले बताए । दोश्रो कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा आउंदो २४ डिसेम्बर आइतबार हुने तय भएको छ । समय ४ बजे बाट र टिकट मुल्य २५ राखिएको छ ।

च्यारिटी उद्देश्यले गर्न लागिएको मह कार्यक्रममा सहभागी भएर मनोरन्जनसंगै गोर्खा भेट्रान समुदायलाई सहयोग गरिदिन आयोजक द गोर्खा सेन्टरका सिइओ भीम तामाङले सबैमा अपिल गरेका छन् । सेन्टरले स्पोन्सर गर्न इच्छुकलाई सम्पर्कका लागि आव्हान पनि गरेको छ ।






