काठमाडौं ९ डिसेम्बर २०२३ ।

चर्चित गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ ।
समाजमा रहेका कुचलनबिरुद्ध कलार्फत् सचेतना जगाउँदै आएका गायक तथा कलाकार प्रकाशले महिनावारीको समयमा हुने विभेदलाई लिएर नयाँ गीत ल्याएका हुन् ।
शु्क्रबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको ‘पर–पर छु २: खुलेर कुरा गरौं’ बोलको यो गीत देशका विभिन्न भु-भागमा रहेको महिनावारीबारे भ्रम र सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथाबिरूद्ध चेतना जगाउन तयार पारिएको हो । सपुतले गीत सिर्जनामा पत्रकार डिबी खड्कासँग सहकार्य गरेका छन् ।
सपुत र खड्काले संयुक्त रुपमा लेखेको गीतमा प्रकाशसँगै तुलसी बोहरा, रेखा जोशी र सुनिता बुढा क्षेत्रीले स्वर भरेका छन् । सुनिल विकले निर्देशन गरेको भिडियोको अवधारणा प्रकाशकै रहेको छ। भिडियोमा अभिनेत्री केकी अधिकारी, सविता अधिकारी, रेखा जोशी र प्रकाश आफैंले अभिनय गरेका छन् ।






