
२४ डिसेम्बर २०२३ बेलायत। गोर्खा सेन्टरले आयोजना गरेको कार्यक्रममा नेपालका चर्चित तथा प्रतिष्ठित हाँस्यव्यंग कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीले गरेको प्रस्तुति भब्यताकोसाथ सपन्न भएको छ। सो प्रस्तुति बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा झन्डै ६ सय जना दर्शकको माझ सम्पन्न भएको छ ।
कार्यक्रममा मह जोडीले व्यंग्यात्मक कमेडी तथा प्रहसन प्रस्तुत गरेका थिए भने दुवै जनाले आ-आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए। त्यस्तै अन्य चर्चित कलाकारहरु शर्मिला बर्देवा, यमन श्रेष्ठ, सराना श्रेष्ठ र द भ्वाइस अफ नेपाल बिजेता करण राईले आ- आफ्नो चर्चित गीतहरु बेजोड तरिकाले पस्केका थिए। मनोरंजन कार्यक्रमलाई कलाकार दिपक थापा (माईथाने) मगर र आस्था जोशीले उत्घोषण गरेका थिए।

कार्यक्रमको अध्यक्षता गोर्खा सेन्टरको Chief Executive Officer (CEO) तथा संस्थापक भिम तामाङले गरेका थिए भने औपोचारिक कार्यक्रम संचारकर्मी बिमला सेनेले संचालन गरेका थिए। प्रमुख अतिथिमा नेपाली राजदुतावास लण्डनका उपनियोग प्रमुख रोशन खनाल र उनका श्रिमान करण अर्याललाई नित्याईएको थियो भने बिशेष अतिथिमा मिडवे काउन्सिलका मेयर निना गुरुङ र उनका श्रीमान ताइकाजी गुरुङलाई आमन्त्रण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि खनाल र बिशेष अतिथि गुरुङले गोर्खा सेन्टरका आयोजक टिमलाई कार्यक्रम सफलताको शुभकामना तथा हार्दिक बधाई ज्ञापन गरेका थिए भने अध्यक्ष तामाङले प्रमुख अतिथि, बिशेष अतिथि, उपस्थित सम्पूर्ण दर्शकहरु र गोर्खा सेन्टरका सहकर्मीहरुलाई धन्यवाद दिएका थिए। अध्यक्षले गोर्खा सेन्टरका सदस्यहरु मधु गुरुङ र प्रमिता जोशीलाई बिशेष रुपमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।










































