लन्डन ११ जनवरी २०२४ । नजिकिँदै गरेको तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा ‘जाउँ हिँड लन्डन’ तामाङ सेलो गीत सार्वजनिक हुँदैछ ।
गायक आस्मान लोप्चनको शब्द/संगीत र तामाङ सोसाइटी अफ युकेका महासचिव एवं बेलायतवासी व्यवसायी मनी तामाङको मुख्य अभिनय रहेको ‘जाउँ हिँड लन्डन’ म्युजिक भिडियो आउँदो माघ पहिलो साता रिलिज गर्न लागिएको हो । गायक लोप्चनले गीतको छायांकन सकिएसँगै सम्पादन कार्य जारी रहेकोले आउँदो माघ पहिलो साता सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए । उनका अनुसार गत वर्ष लन्डन ब्रिज घुम्न जाँदाको कल्पना गरिएको विषयलाई यस वर्ष गीतमा उतारिएको हो । गायक आस्मानका अनुसार यो गीत खान्दोके सेलोभित्र पर्दछ । जुन सिन्धुपाल्चोक जिल्लामा प्रचलित भाका हो ।
उक्त म्युजिक भिडियोको छायांकन यही जनवरी ७ तारिख (पुस २२ गते) काठमाडौंको जर्सिङपौवामा गरिएको हो । अभिनयमा रुची राख्ने महासचिव मनीको डेब्यू म्युजिक भिडियो पनि हो । ब्रिटिस लाहुरे परिवारका मनी बेलायतमा प्रोपर्टी व्यवसायमा संलग्न छन् । उनको नेपाल घर भने इटहरी हो ।
गीतमा गायक आसमान र रोश्ना लुङ्बाले स्वर दिएका छन् । संगीत संयोजन जोगलाल लामाको रहेको छ भने ध्वनी सम्पादन (मिक्सिङ)मा अर्पन थिङ तामाङले भूमिका निर्वाह गरेका छन् ।
अभिनयमा मनीसँगै उनकी श्रीमती कला तामाङ, नायिका सुस्मा मोक्तान, गायक आस्मान, सन्देश तामाङलगायत देख्न सकिन्छ । बुद्ध लामा तितुङको निर्देशनमा तयार हुन लागेको म्युजिक भिडियोमा बाबु सेन्चुरीले नृत्य निर्देशन गरेका छन् ।
आस्मानको अफिसियल युट्युब च्यानल ‘क्लिक नेपाल’बाट सार्वजनिक गरिने यो म्युजिक भिडियोमा त्रिलोक लामाले छायांकन सम्पादनको भूमिका निभाएका छन् ।






