
लन्डन ११ जनवरी २०२४ । गायिका मुना थापा मगर बेलायत आइपुगेकी छिन् ।
मगर संघ युके युएचएसबी शाखाले शनिबार फानबोरोस्थित सामुअल कोडि स्पोर्ट्स कलेज (ओक्फार्म स्कुल) मा मगरहरुको परम्परा अनुसार मौलिक पितृ पुजाका साथ मनाउने माघे संक्रान्ति कार्यक्रमका निमित्त गायिका मुना बेलायत आएकी हुन् ।
विदेशी भूमिमा पनि मगरहरुको मौलिक परम्परा संस्कार, संस्कृति भाषा, भेष भुषा नेपाली कला गीत सङ्गीतलाई निरन्तरता दिन प्रोत्साहन र प्रवर्द्धन गर्न हरेक वर्ष माघे संक्रान्ति मनाइन्छ ।
उक्त दिन पौराणिक पितृपूजा पछि प्रसादको रुपमा दिदीबहिनीहरुबाट मीठा मीठा परिकार खिचडी, सेल रोटी, फिनि रोटी बारा (बटुक) खिर, हलुवा, तरुल सखरखण्ड तयार पारिन्छ । त्यसपछि सास्कृतिक कार्यक्रमको लागि चर्चित लोकदोहोरी गायिका मुनाले सबैलाई नचाउने छिन् । यसको साथमा भान्जा भान्जीहरुबाट मौलिक नाच कौडा सालैजो सोरठी आदि नाच तयार पारेको संयोजक उपाध्यक्ष बिर बलालले बताए ।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनुको साथै राफल ड्र पनि हुनेछ, जसमा पहिलो र दोस्रो राफल ड्र सुनको गहना त्यस्तै तेस्रोदेखि पाँचौ पुरस्कारमा नगदसहित अन्य आकर्षक पुरस्कारहरु हुनेछन् ।
कार्यक्रमको लागि टिकट शुल्क २० पाउन्ड रहेको छ । बालबालिकालाई १५ पाउन्ड मात्र लाग्नेछ। स्पोन्सर टिकटहरु १०० पाउन्ड (३ टिकट), ७५ पाउन्ड (२ टिकट) र ५० पाउन्ड (१ टिकट) पनि उपलब्ध गराइने छ।
समग्रमा कार्यक्रम अत्यन्तै भब्य बनाउनको लागि यूएचएसबी शाखाका अध्यक्ष ऋषिराम राना, संयोजक उपाध्यक्ष बिर बलाल, सचिव गणेश बुढाथोकी र कोषाध्यक्ष गोप सिंजालीले सबैलाई आइदिन आह्वान गरेका छन् ।






