डा. महाबिर सरको “नाम पनि महाबिर, काम पनि महाबिर”

SHARE:

प्रस्तुति – चिम्खोले काईला – बेलायत

बास्तबमा डा. महाबिर पुन सरको नामै काफी छ। पण्डितले जुराएको नाम होकि ? जैसीले जुराएको होकि ? आमा बाबा, बाज्ये बज्यै तथा इष्ट मित्रले जुराएको नाम हो । डा. महाबिर सरको “नाम पनि महाबिर, काम पनि महाबिर”। पुन सरको चालचलन, बानी व्यहोरा र कार्यसैली कसैसंग मिल्दैन। उनलाई जसले फुर्काए पनि, तर्साएपनि, थर्काएपनि, गालिगलोज गरेपनि कसैलाई टेर्ने खालको व्यक्ति होइनन्। उनि एक धितको व्यक्ति हुन्। जसलाई अर्कै प्लानेटबाट आएको व्यक्ति हो भन्दा फरक पर्दैन। जुन व्यक्ति व्यक्तिगत स्वार्थलाई पर राखेर हाम्रो देश नेपाललाई कसरी सम्बृद्ध बनाउन सकिन्छ भन्ने हेतुले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर रातदिन खतिराखेका छन।

डा. पुन सर र म म्याग्दी जिल्लाको निवासी भएको नाताले तथा व्यक्तिगत हिसाबमा पनि नजिक भएको नाताले मैले उनलाई राम्रैसंग चिन्दछु। उनको र मेरो पहिलो भेट सन् २००८ तिर बेलायतमा भएको थियो। पहिलो भेटमा पुन सर म र मेरो परिवार बीच हाम्रो निवासमा एक रात भालाकुसरी गर्ने अबसर जुरेको थियो । भलाकुसारीको क्रममा हामीले एकापसमा साइनो लगाउने कुरा भयो। किनभने म्याग्दीतिरका व्यक्तिहरुले साइनो लगाएर बोलाउने चलन छ। साइनो लगाउने क्रममा म गर्बुजा पुन मगर परेछु उहाँ फगामी पुन मगर पर्नुभएछ। तर हामी दुवै जनाले पुर्जा पुन मगर थरका छोरीहरु विबहा गरेका रहेछौं। त्यसैले मैले उहाँलाई सरुदाई र उहाँले मलाई सारुभाई भनेर साइनो लगाउने निश्कर्षमा पुगेका थियौं। सोहि समयदेखि हाम्रो व्यक्तिगत रुपमा चिनजान भएको हो। डा. महाबिर सरसंगको चिनजानकै कारणले गर्दा सन् २०१० तिर मेरो गाउँ चिमखोलाको अमर माध्यामिक बिद्यालयमा वायरलेस इन्टरनेट जोडिदिने कार्यमा ठुलो सहयोग गर्नुभएको थियो। डा. पुन सरका परिवारलाई भेट्न सन् २०१२ तिर तत्कालिन मोना युकेका अध्यक्ष योग कुमार फगामी भाइसंग पोखरा नदीपुर उनको डेरामा गएका थियौं।

डा. महाबिर सरको जिवनकथाको बारेमा प्राय: नेपालीहरुलाई अबगत नै होला। किनकि उनले गरेका कार्यहरुको बारेमा बिभिन्न पत्रपत्रिका, टेलिभिजन, रेडियो अन्तर्वार्ताबाट अबगत भएकै कुरा हो। मलाई पनि उनको जीवनकथा राम्रैसंग थाह छ। उनको जीवनकथा प्रकाशित हुने भन्ने सम्बन्धमा सामाजिक संजाल तथा संचार माध्यमहरुबाट निकै चर्चा चल्यो। जीवनकथा कथा प्रकाशित गर्नको मुख्य कारण नेपाल सरकारको स्वामित्वमा रहेको बिरगंजको जिर्ण कृषिऔजार कारखानालाई बिउँताउन खर्च थपथाप गर्नको लागि रहेछ। पुस्तक प्रकाशित भयो। झन्डै एकसय कपिजती बेलायत मगाउन पर्छ कि क्या हो ? यस्तो सुन्दर कार्यको लागि भनेर मनमनै सोचे। तर मैले मेरो कृतिहरु किन्न लगाएर वाक्क दिक्क बनाएको छु बेलायती सुभचिन्तकहरुलाई। त्यसैले म अलि हच्किए। तैपनि डा. महाबिर सर र मेजन पुन सरको पुस्तक नेपालबाट मगाएको थिए। तर नेपालबाट उहाँहरुको पुस्तक मेरो हातमा फेला नपर्दै एनआरएन युकेका निबर्तमान अध्यक्ष योग कुमार फगामी भाइले हुलाकबाट दुवै पुस्तक पठाइदिनु भएको रहेछ।

मेजन सरको पुस्तक थाती राखेर डा. महाबिर सरको पुस्तक पढ्न बस्छु टुप्पी तानेर धोती कसेर। पुन सरको बाल्यकाल र मेरो बाल्यकाल ठ्याक्कै मिल्छ। बाजेसंग गोठमा बसेको, भात खान दशैं पर्खन पर्ने, बर्षभरी लगाएको बाली ६ महिना ढिडो खान पनि नपुग्ने, खाली खुट्टा हिड्न पर्ने, हिउँ पर्ने, बर्षामा जुका लाग्ने, स्कुलमा बस्ने बेञ्च थिएन। चोयाको चित्रोमा बसेर पढ्न पर्ने, कापी कलम थिएन। दाउराको कोइलाले पाटी मसाएर खरिले लेख्ने, शिक्षकहरु प्रया: इन्डियन तथा बृटिश आर्मीका रिटायर्ड लाहुरे हुन्थे आदि इत्यादि सबै कुरा मेल्खान्छ।

मलाई अझ अगाडी अध्यायन गर्ने उत्सुकता हुन्छ। पुस्तक अध्ययन गर्दै जान्छु। अन्य कुराहरु पनि मेल्खान्छ जस्तै। उनले १२ बर्षमा ७ कक्षा उतिर्ण गरेका रहेछन भने मैले पनि १२ बर्षमा ७ कक्षा उतिर्ण गरेको हो। ७ कक्षा उतिर्ण गरेपछि उनलाई नेपाल सरकारले कलिलो छ भनेर शिक्षक हुनबाट बन्चित गरेको रहेछ। यदि उनिलाई कलिलो छ नभनेकोभए पृथिवी नारायण क्याम्पस पोखरामा ननक्रेडिट तालिम गर्न आउथे होला। उनि एसएलसी सरहको शिक्षक हुन्थे होला। मपनि ८ कक्षा उतिर्ण गरेपछि गाउँ पंचायतको सचिब बन्नको लागि म्याग्दीको सदरमुकाम बेनीमा आएको थिए। लिखित परिक्षा १३० जनामा म १८ रोल नम्बरमा उतिर्ण गरेको थिए तर अन्त्यमा मौखिक अन्तर्वार्तामा तिमी कलिलो छौं। मगरका छोरा हौँ जागिर छोडेर लाहुरे हुन जान्छौं भनेर सचिब हुनबाट बन्चित भएको थिए। यदि मलाई मौखिक अन्तर्वार्तामा अनुतिर्ण नगरेकोभए म पनि पंचायत प्रशिक्षण केन्द्र पोखरामा तालिम गरेर गाउँ पंचायतको सचिब बन्थे होला। डा. महाबिर सर ८ कक्षा अध्ययन गर्नको लागि ५ घण्टा खुट्टाले हिडेर छिमेकी गाउँ मल्लाज झर्नुभएको रहेछ मा पनि ७ घण्टा ८ कक्षाको अध्ययन गर्न छिमेकी गाऊ राखु झरेको थिए। उमेर जम्मा १३ बर्षको थियो। बाल्यकालको भोगाइ उहाँसंग मेरो धेरै कुराहरु मिल्दोजुल्दो रहेछ।

हाम्रो बैबाहिक जीवन पनि मिल्दो जुल्दो नै पाउछु । पुन सरको दुइवटी सुन्दरी छोरीहरु छन। मेरो पनि दुइवटी छोरीहरु छिन्। डा. महाबिर सरलाई छोरा बनाउन पर्छ भनेर इष्ट मित्र र समाजबाट दवाब आयो कि आएन थाह भएन। तर मलाई त एउटा छोरा बनाउन पर्छ भनेर घरबाट तथा ससुरालीबाट निकै दवाब आएको थियो। तर मैले छोरीहरु पनि छोरा सरह हुन् भनेर आफ्नो अड्डी कसे। डा. महाबिर सरको ठुली छोरी नर्सिङ पेशामा आबद्ध रहिछिन्। कान्छी छोरी हुनेवाला मेडिकल डाक्टर। मेरो पनि ठुली छोरी नर्सिङ पेशामा आबद्ध छिन् भने कान्छी छोरी मेडिकल डाक्टर पेशामा आबद्ध छिन्। दुवैजनाको श्रीमतीहरु एकै थरका तथा पुर्जा पुन मगरहरु हुन् । उनीहरु हामीभन्दा उमेरले धेरै कान्छी तथा सुन्दरीहरु छिन् ।

वास्तबमा भन्ने हो भने हामीहरु दुवैजना झट्ट हेर्दा कुनै पनि महिलाहरु आकर्षित नहुने खालको व्यक्तिहरु हौँ। हामी हेर्दै रिस उठ्ने खालका छौं। मान्छे पनि बुढो, ग्वाजे ग्वाजे, ठ्याक्कै गोठला तथा भारी बोकुवा जस्तो छौं। हाम्रो अनुहार, हाइट, साइज, शरीरको बनावट पनि दुवैको उस्तै छ। तर बाल्यकालको जीवन र बैबाहिक जीवन मिल्दो जुल्दो छ।

डा. महाबिर सरको बाल्यकाल र बैबाहिक जीवनसँग मेरो जीवन पनि केहि अंश मिले जस्तो भएपनि उहाँ र मेरो जीवनबीच आकाश र धर्ति जस्तै फरक छ। उहाँको जीवन सैली अंग्रेजीमा “Simple living high thinking” भने झैँ डा. महाबिर सरलाई यो संज्ञा दिदा केहि फरक पर्दैन। उहाँको जस्तो उच्च विचार, त्याग, तपस्या तथा धैर्यवान शक्ति मेरोमा छैन। उहाँबाट मैले तथा हामी नेपालीहरुले धेरै कुरा सिक्नुपर्ने छ। उहाँको निष्ठाको जीवन सैली, इमान्दार, बफादार, अनुसाशन र कर्तव्यनिष्टबाट मैले धेरै पाठ सिकेको छु। पुस्तकभित्र डा. महाबिर सरको बिभिन्न संघर्षको कथाहरु भित्रै पसेर अध्ययन गर्न सकिन्छ। मैले याहाँ बर्णन गर्नुभन्दा पाठक बर्गले पुस्तक किनेर पढ्नु भयो भने प्रेरेणाको श्रोत बन्ने छ असल कार्यको लागि सहयोग पुग्ने छ। हामी ३ करोड नेपाली मध्ये १ लाख नेपालीले मात्र यो पुस्तक खरिद गरिदिएमा बिरगंज जिर्ण अवस्थामा रहेको कृषिऔजार कारखाना सुचारु रुपले संचालनमा आउने छ।

जे गर्नु भएको छ सही कार्य गर्नु भएको छ। प्राय: उहाँले चलाउनु भएको अभियानमा मैले व्यक्तिगत तथा संस्थागत सहकार्य गर्ने अवसर मिलेको छ । चाहे त्यो रेस्टुरेण्ट ब्यबसाय शुरु गर्दा होस्, भुकम्पको समय वायरलेस इन्टरनेट मर्मत कार्यमा होस्, राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नको लागि मगर संघ युकेले च्यारिटी कार्यक्रम गरेर आर्थिक सहायोग गर्दा होस्। डा. महाबिर सरले चलायको अभियान पूर्णरुपले सफल रहोस। सधै हाम्रो साथ रहने छ। शुभकामना।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!