मगर महाधिबेशन, बिगतदेखि बर्तमानसम्म

SHARE:

संजय सिङजाली मगर – नेपाल मगर संघको इतिहास हेर्दा बि. सं. १९९७ सालमा प्रवासी भूमि दार्जिलिबबाट सांगठनिक रुपमा सुरु भएको देखिन्छ भने नेपालमा वि. सं. २०१२ मा गुल्मी जिल्लाको भार्सेमा पदमबहादुर घर्तीमगरको अध्यक्षतामा बृहत मगर भेला गरेको देखिन्छ ।

वि. सं. २०१३ सालमा म्याग्दीको हिस्तान औलामा धौलागिरि अंचलका केही मगर अगुवाहरु भेलाभई श्री हर्कजित पुनमगरको अध्यक्षतामा मगरहरुको हकहित र अधिकारका लागि ५ ओटा सदस्य रहेको समिति गठन भएको थियो । बि. सं. २०६३ सालमा म्याग्दीको हिस्तान औला गाउँमै बृहत सम्मेलन गरी ५० बर्षको बर्षगांठ मनाएको थियो।

वि. सं. २०१४ सालमा तनहूँमा जिने आले मगरको नेतृत्वमा बृहत कार्यक्रम गरेको देखिन्छ भने वि. सं. २०२१ सालमा मुस्ताङ जिल्लाको बेग गाउँ पंचायतमा चिम्खोला निवासी सुवेदार नरजङ पुनको अध्यक्षतामा तत्कालीन मुस्ताङ जिल्लामा रहेका गाउँ पंचायतहरु: चिमखोला, दर्मिजा-दग्नाम, बेग, बांदुक, दोवा, भुरुङ र दाना गरेर सात गाउँ पञ्चायतका मगरहरुले आफ्नो हकहित र अधिकारका सुरक्षित गर्नका लागि सम्मेलन गरेको थियो ।

वि. सं. २०२८ सालमा काठमाडौमा अध्ययन गर्न आएका मगर विद्यार्थीहरुलाई एकजुट गराउँदै खिलध्वज श्रीसमगरको अध्यक्षतामा लांघाली परिवार संघ स्थापना देखिन्छ भने डा. हर्षबहादुर बुढामगरको अध्यक्षतामा वि. सं. २०३६ सालमा लांघाली परिवार संघ खोलिएको देखिन्छ ।

वि. सं. २०३८ सालमा हेमबहादुर पुनको अध्यक्षमा नेपालका धेरै अञ्चल र जिल्लाका मगरहरुलाई सहभागिता गराएर लुम्बिनी अञ्चल, रुपन्देही जिल्लाको बुटवलमा लांघाली परिवार संघको बृहत् भेला सम्पन्न गरिएको थियो भने वि. सं. २०३९ फागुन १५ गते तनहूँ जिल्लाको दमौलीमा इ. हेमबहादुर पुनकै अध्यक्षतामा प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न भएको थियो । सो प्रथम महाधिवेशनले इ. हेमबहादुर पुनमगरलाई नेपाल लांघाली परिवार संघको अध्यक्षमा चयन गरेको थियो । उक्त अधिवेशनले इ. हेमबहादुर पुनलाई संस्थापक अध्यक्षको सम्मान प्रदान गरेको थियो किनभने पञ्चायतकालीन शासनमा यस्तो जोखिम मोल्ने र शाहसी कामगर्ने तथा दुरदर्शी नेता इ. हेमबहादुर पुन मात्र थिए । जोकोही मगरले आँट गर्ने अवस्था थिएन । वि. सं. २०४८ सालमा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी मगरको अध्यक्षमा नेपाल लांघाली परिवार संघको नाम परिवर्तन गरी नेपाल मगर संघ नामाकरण गरेको हो । (साभार चिम्खोले काईलाद्वारा लिखित पुस्तक मगर संघ युके, “इतिहाँसदेखि वर्तमानसम्म”)

नेपाल मगर संघको स्थापना २००७ को क्रान्तिपछि ०१२ सालमा काठमाडौंमा भीमप्रसाद बुढाथोकी मगरको अध्यक्षतामा मगर समाज सुधार संघ गठन भयो । प्रमुख सचिवमा काठमाडौंका ढलक प्रताप राना मगर, सचिव पदमा पद्म सिंह थापा मगर, सदस्यमा देवान सिंह थापा मगर र अन्य सदस्यहरु चयन भएका थिए ।

गुल्मी जिल्लाको भार्सेमा २०१४ साल फागुन २७, २८ र २९ गतेमा मगरहरुको पहिलो पश्चिमाञ्चल महासम्मेलन सम्पन्न भयो । सो सम्मेलनका सभापतित्व पूर्व बडाहाकिम कप्तान गिरी प्रसाद बुढाथोकी मगरले गर्नु भएको थियो । सो सम्मेलनमा “मगर समाज सुधार संघ’’ केन्द्रीय कार्यालय काठमाडौंबाट पठाइएको “शुभकामना’’ पत्र पढेर सुनाइएको थियो । शोधमाला २०६८, पृष्ठ १२, “मगर अनुसन्धान केन्द्र, काठमाण्डौ ।

“प्रथम राष्ट्रिय महाधिवेशन” २०३९ नेपाल अधिराज्यका विभिन्न मगर संघ जिल्लाहरुका प्रतिनिधि एवं संस्थागत मगर अगुवाहरुको संलग्नता र सहभागितामा फागुण १५ र १६ गतेमा “नेपाल लाङघाली परिवार संघ” अर्थात “नेपाल मगर संघ” को प्रथम राष्ट्रिय महाधिवेशन तथा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । प्रथम एवं संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर सम्मेलन र महाधिवेशनका अध्यक्ष थिए ।

२०४८ मा नेपाल लाङघाली परिवार संघ ” को चौथो अधिवेशन आदिवासी जनजाती तथा मगर समुदायका जनप्रिय एवं जुझारु नेता गोरेबहादुर खपाङ्गी मगरको सक्षम नेतृत्वमा सम्पन्न भयो । सो महाधिवेशनले सर्वसम्मतिबाट “ नेपाल लाङघाली परिवार संघ ” को नाम परिवर्तन गरेर “ नेपाल मगर संघ ” राख्ने निर्णय भयो । पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गीको कार्यकालमा सम्पूर्ण आदिवासी जनजाति को पहिचान एवं मौलिक हक अधिकारको आन्दोलन शिखरमा पुगेको थियो ।

“आठौं अधिवेशन” २०६० “नेपाल मगर संघ” का पूर्व अध्यक्ष क्या यम बहादुर बुढाथोकी मगरले संघको भौत्तिक पूर्वाधार एवं अन्तराष्ट्रिय सम्पर्क र समन्वयमा पुर्याएको योगदान उल्लेखनीय देखिन्छ । पूर्व अध्यक्ष झक बहादुर थापा मगरले २०६४ मा “मगरात राज्य” को स्थापनाको आन्दोलन शुरुवात पाल्पा तानसेनबाट गरेका थिए । नेपाल मगर संघको इतिहासमा पहिलो पटक २०६७, मंसिर २५ गते तत्कालिन रुकुम, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग, म्याग्दी, जिल्लाहरूको पुरै भू–भाग र नवलपरासी, तनहुँ, गोरखा, स्याङ्जा, लमजुङ्ग, पर्वत, दाङ, सल्यान, डोल्पा जिल्लाहरूको आशिंक भू–भागलाई समेटेर ऐतिहासिक मगरात प्रदेश घोषणा भएको थियो । सो आन्दोलनलाई पूर्व अध्यक्ष महेन्द्र थापा मगरले वि सं २०६८ मा प्रचारात्मक आन्दोलन को सुरुवात चाहिँ गर्न भ्याए । यसरी मगर संघका पछिल्ला अध्यक्षहरु मा थप उर्जा स्व गोरेबहादुर खपाङ्गी मगर बाट अझ प्रभावकारी रुपमा अघि बढाउन हौसला थपिएको थियो ।

त्यस्तै ११औँ महाधिवेशन २०७७ सालसम्म आईपुग्दा “नेपाल मगर संघ” का अध्यक्ष नवीन रोका मगर सक्रियतामा विविध कार्यक्रम संचालन भएको पाउँछौं । विशेष गरी राहत, सामाजिक सुधार, मगरहरुको मौलिक हकअधिकार तथा “मगरात राज्य” प्राप्तीका लागि संघर्ष एवं प्रचारात्मक आन्दोलनको कार्यक्रमहरु केहि आशिंक रुपमा सुरुवात भने भएका थिए ।

मगर संघको इतिहासदेखि बर्तामनसम्म आईपुग्दा मगर संघको अस्तित्व र औचित्य के हो भन्ने कुरा भनि रहनु परेन । चौथो अधिवेशनबाट ४ कार्यकाल लगातार आदिवासी जनजाती तथा मगर समुदायका जनप्रिय एवं जुझारु नेता गोरे बहादुर खपाङ्गी मगरको परिकल्पनाबाट मगर समुदायको स्वाभिमान नेतृत्व चेतना स्तर आकशिएको थियो । गोरेबहादुर खपाङ्गी मगर समुदायलाई निद्राबाट जगाउन आफ्नो परिवारलाई त्याग्न खासै गाह्रो परेन । यसरी मगरको चेतना स्तर त बढ्यो, तर त्यसको फाईदा केहि टाठाबाठाहरुले भरपुर प्रयोग गर्न सम्म जाने । हकहितकालागि स्थापित भएको नेपाल मगर संघ केन्द्र गोरेबहादुर खपाङ्गी मगरको ठुलो योगदान आजसम्मकै विरासत कायम छ । हामीले गोरेबहादुर खपाङ्गी मगर बारेमा लामो चर्चा गरिरहनु परेन ।

त्यसपछिको संघको नेतृत्वकर्ताले खपाङ्गी को जति राम्रो नेतृत्व दिन नसकेको यर्थाथ हो । तरपनि बिवादमा पर्ने काम चाँहि भएको थिएन । तर नेपाल मगर संघको दाङमा भएको १२औ महाधिबेशन भने अत्यन्त बिवादास्पद बन्न पुग्यो । किनभने त्यो महाधिबेशन संघको बिधान २०४९ अनुरुप गरिएको थिएन । पालिका तहका प्रतिनिधिहरु लाई महाधिबेशनमा प्रतिनिधि नदिनु र बिधानकै नभएको पदहरु बन्दसत्रमा भटाभट सिर्जना गरि पार्टीगत रुपमा भागबण्डा गर्ने जस्तो कार्यसमेत महाधिबेशनको नाममा गरियो ।

बिधान बिपरीत महाधिबेशन गरिएको भनि त्यसको बिरुद्ध असन्तुष्ट पक्षहरु भने सिडिओ कार्यालय र उच्च अदालत सम्म पुगेका छन् भने सर्वोच्चमा समेत जाने कुरा सुनिएको छ । मगर संघलाई मगरहरुको साझा संगठनको रुपमा अगाडि बढाउन अहिलेको नेतृत्वकर्ताहरुले नसकेको अथवा नचाहेको स्पष्ट देखिएको छ । संघको नेतृत्वकर्ताले यसतर्फ उदासिनता देखाउनु प्रतिउत्पादक हुनसक्छ । बेलैमा ध्यान पुगोस अबका दिन संघको नेतृत्वकर्ताहरुले मगरहरु लाई एकजुट बनाएर लैजाने, मगर संघलाई सकेसम्म संगठिनको रुपमा बनाएर अघि बढ्ने तर्फ ध्यान पुर्याएर कामकार्य गर्न पर्ने देखिन्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!