
आरके त्रिपाठी – लन्डन
कुनै पनि घटनाक्रम बारे सिधै प्रतिक्रिया जनाउनु भन्दा पहिले त्यो स्थानमा म भएको भए के गर्दथे? भन्ने प्रश्न बाट धारणा बनाउन उपयुक्त ठान्दछु । ३ दिन अघि सम्माननीय शेर बहादुर देउवाले भरतपुर भ्रमण बर्षको कार्यक्रममा संवोधन गर्दै प्रचण्ड हामी सबैको नेता,इतिहाँस रच्ने नेता,बडो शालीन नेता भन्दै गुणगान गाए।
प्रचण्डको गुणगान गाए लगत्तै ३ मिनेट जति रेणु दाहालको गुणगान गाउँदै सम्माननीय देउवाले प्रचण्ड पुत्री रेणु दाहाललाई प्रसंसा गर्दै सीता र भृकुटी तारा संग दाँजे।गठवन्धन सुमधुर छ।यो गठवन्धन पूरै अवधी चल्छ।समझधारी अन्तर्गत नै आलो पालो हामी सरकारको नेतृत्व गर्न प्रतिवद्ध छौं।
यति मात्र होइन,सम्माननीय देउवाले प्रचण्ड बाट मैले धेरै सिके र प्रचण्ड मेरो पनि नेता हुनुहुन्छ।सम्माननीय देउवा अझै भन्दै थिय – प्रचण्डको कारण गणतन्त्र आएको हो। प्रचण्डको कारण समावेशिता आएको हो। प्रचण्डको कारण नै देशमा यति ठूलो परिवर्तन भएको हो।हाम्रो संबन्ध सुमधुर छ। यि कुरा वा प्रसंशा गरेको ठिक ३ दिन पछि आज वहाँ सम्माननीय देउवा प्रचण्ड धोकेवाज हुन् भनि रहेछन्। अघिल्लो बर्ष हामीले कांग्रेस भनेको माओवादी हो,माओवादी भनेको कांग्रेस हो भन्यौँ र भोट माग्यौं ।
यो बर्ष हामी कांग्रेस एक्लै बहुमत ल्याउने रणनीतिका साथ लाग्छ तर वर्तमान गठबन्धन छाड्दैन बरु अझ बलियो बनाउँछ भन्दैछौ। राष्ट्रियसभा निर्वाचनको बेला ओखलढुंगा पुगेर नेता कृष्णप्रसाद सिटौलाले अहिलेको गठबन्धन अझै ५० वर्ष सँगै अघि बढ्ने घोषणा गरेका थिए। कांग्रेसका अधिकांश नेता केपी ओली साइजमा नआए सम्म यो गठवन्धन निरन्तर अरु २० बर्ष जान्छ भन्दै थिए। प्रचण्डले गठवन्धन फेरे। केहि कांग्रेसको रुवाबासी देखिरहेछु।
मन्त्री र प्रधानमन्त्री खान ढुकेर बसेकाहरुलाई प्रचण्डको धोकाले मर्का पऱ्यो भन्दै ठूलै रुवाबासी चलेछ।दुर्घन्धित राजनितीमा रुवाबासीको कुनै अर्थ छैन।प्रचण्डले किन कांग्रेसलाई धोका दिए भन्दा पनि हामी कांग्रेसले प्रचण्ड बोकेर,हरेक दिन प्रचण्ड लाई पूजा गरेर नेपाली कांग्रेसको संगठन लाई कहाँ पुऱ्यायौं?भनि चर्चा गर्न जरूरी छ। के हामीले प्रचण्ड बोकेर प्रतिगमन सच्चाएका हौं त ? हिजो के पी वलीले प्रतिगमन गरे भन्दै गाली गऱ्यौँ।आज प्रचण्डले धोका दिए भन्दैछौं। के कांग्रेसको राजनिती यसले धोका दियो,उसले धोका दियो भन्दै दिन बिताउने मात्रै हो ?
यदि नेपालममा भोली महानिर्वाचन भयो भने नेपाली कांग्रेस पार्टी एक्लै चुनाबमा उठेर बहुमत ल्याउन सक्छ त?सक्दैन। यदि नेपाली कांग्रेस एक्लै उठी बहुमत ल्याउन सक्दैन भने नेपाली कांग्रेस पार्टीलाई यो अवस्था सम्म पुऱ्याउन को को दोषि छन् त ? अब स्वीकार गरौं कि नेपालका कम्युनिष्ठहरु लाई चुनाब अघि बोकेर कहिल्यै नहिंडौं। नेपाली कांग्रेसले विचार,सिद्धान्त र मौलिकता गुमाई रहेको थियो।यो सबैलाई थाहा थियो।कांगेस भित्र सत्तामुखी, अतिवादी सोच भएका प्रवृत्ति र जमात थियो।यो जमातको कारण नेपाली कांग्रेसको उर्जा खिईदै गएको थियो।
अब यो सत्तामुखी,अतिवादी सोच भएका प्रवृत्ति र जमात लाई परास्त पार्दै, निस्तेज पार्दै नेपाली कांग्रेस पार्टीको नेतृत्व परिवर्तन तिर लागौं।पार्टिलाई रूपान्तर गर्न तिर लागौं। विचार,सिद्धान्त र मौलिकतामा स्पष्टता खोजौं। भातृ संस्था भगिनी संस्थाहरुलाई समयमै अधिवेशन गरि चुस्त दुरुस्त बनाऔं।जन सरोकारको विषयमा सहयोग गरौं।आवाज उठाऔं।जनतामाझ जाऔं।कांग्रेसबाट आशा भरोसा जगाउने काम तिर लागौं। हिजो गठवन्धन हुँदा केहि थान मन्त्री प्राप्त हुनु बाहेक जनताको पक्षमा केहि भएको थिएन । आज प्रचण्ड भाग्दा केहि थान मन्त्री गुम्ने मात्र हो। फेरी महानिर्वाचन आउने नै छ।त्यो बेला प्रचण्ड, के पी वली मिलेरै चुनाब लड्नेछन्।
त्यस्तो अवस्था आएमा नेपाली कांग्रेस पार्टी एक्लै उठ्ने र बहुमत ल्याउने गरि पार्टीलाई क्रियशिल बनाऔं। जे होस,प्रचण्डले नेपाली कांग्रेस पार्टीलाई राम्रै झापड दिएर नयाँ गठवन्धन गरेका छ। राजनितीमा यस्ता कार्य हुन्छन् नै। यसलाई स्वभाविक मान्नु पर्दछ। यहाँ गाईको दुधले मात्र न्वाएको कोही नेता,नेतृत्व र पार्टी छैन। यसले नेपाली कांग्रेस पार्टीलाई पाठ सिकाएको छ। अब हामी रुनु, कराउनु, प्रचण्डले धोका दिए भनिरहनु भन्दा प्रतिपक्षमा बसौं । सरकारको राम्रो कामलाई सहयोग गरौं। अलोकप्रिय कामको विरोध गरौं।
संविधान पूर्ण कार्यन्वयन गराउन कानुन बनाउने कार्यमा सहयोग गरौ। कांग्रेसको करिब करिब बिगत ४ बर्ष माओवादी वा प्रचण्डको गुणगान गाउँदैमा सकियो।अब भविष्यको अरु ४ बर्ष प्रचण्ड धोकेवाज हुन् भन्दै वित्ने र कांग्रेस झन कमजोर हुने अवस्था नबनोस।






