
लन्डन १ अप्रिल २०२४ । बुद्धिस्ट गुम्बा रेडिङ युकेको आयोजनामा अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी गजल साँझ सम्पन्न भएको छ ।
नेपालका ख्यातिप्राप्त गजल गायक राज सिग्देल र तिलकसिंह पेलाको उपस्थितिमा आइतबार साँझ एम्पायर हल खचाखच बनेको हो । कार्यक्रम सञ्चालन महासचिव कमल गुरुङ र सचिव युवराज गुरुङले गरेका थिए । प्रमुख अतिथि मेजर उदयबहादुर गुरुङ एमबीई, विशेष अतिथिमा युकेस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि रहेका थिए । बुद्धिस्ट गुम्बा रेडिङका शुभचिन्तक तथा भक्तजनको उपस्थितिले हल खचाखच भरिएको थियो ।
उपाध्यक्ष कृष्ण गुरुङले अतिथि तथा सहभागीलाई स्वागत गरे । अध्यक्ष इन्स्पेक्टर खेमबहादुर गुरुङ सबैलाई धन्यवाद ज्ञापन गरे । यस्तै, गुम्बामा प्रमुख गुरु खेन रिम्पोन्छे पाल्तेन गुरुङ १० मिनेट बुद्ध ज्ञानबारे प्रवचन दिएका थिए ।
आमा समूहबाट उषाकुमारी गुरुङ, मिनाकुमारी गुरुङ र भीमकुमारी गुरुङले पनि सहयोगीका रूपमा खटिएका थिए । सचिव युवराजले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराए । अन्त्यमा गजल गायन भएको थियो । गायकद्वय सिग्देल र पेलाले ‘के लत बस्यो मलाइ’, ‘उ जितेर गई या हारेर गई’लगायत नेपाली र हिन्दी गजल प्रस्तुत गरे ।
यसैगरी, कार्यक्रममा १५ जना गुम्बाको आजीवन सदस्य बनेका थिए भने विभिन्न दाताहरूले गुम्बालाई आर्थिक सहयोग गरेका थिए । कलाकारलाई गीत रिक्वेस्ट गरेर एक हजार ६०० पाउन्ड संकलन भएको थियो । गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल डिनरको आयोजना गरिएको हो । गजल साँझको परिकल्पना महासचिव कलम गुरुङले गरेका हुन् ।






