पुस्तक नपढ्नेहरुको लागि : स्वस्थ जिन्दगीको सान

SHARE:

हाम्रा नेताहरु राजनीतिक क्रान्तिका भाषण ठोक्छन् । कोही आर्थिक क्रान्तिको ललिपप बाँड्छन् ।मानव सभ्यताको इतिहासमा धार्मिक, गौरवपूर्ण, कृषि, औद्योगिक, सांस्कृतिक, आर्थिक सामाजिक अनेकौं क्रान्तिहरु सम्पन्न भए । यस्ता क्रान्तिले मानिसलाई खान, लाउन, मोजमजामा रमाउने संस्कारमा समाज रुपान्तरित गर्‍यो । स्थापित पुराना परम्परा र मूल्य मान्यताहरु भत्किँदै गए । चरम वातावरण विनासले यो पृथ्वीको अस्तित्वमा नै प्रश्नहरु उठेका छन् । मानव इतिहासको चिरफार गर्ने लेखक युवाल नोआ हरारीले आफ्नो पुस्तक ‘होमो दिअस अ ब्रिफ हिस्टरी अफ टुमरो’ मा अब दुनियाँमा खान नपाएर नभई धेरै खाएर धेरै मान्छेको
मृत्यु हुने लेखेका छन् ।

मानव सभ्यताको इतिहासमा मान्छेको धेरै मृत्यु भोकमारीले भएको छ । युरोपको कृषि क्रान्ति मानव इतिहासकै ट्रनिङ प्वइन्ट मानिन्छ । कृषिजन्य वस्तुहरुको उत्पादन अत्यधिक वृद्धि हुन थाल्यो । विज्ञान र प्रविधिको विकासले कृषि, कल कारखाना, माल ओसारपसार, कार्यालयको सेवाजन्य कार्यहरु सबै सबै यन्त्रहरुले लियो । दिमाग, कम्प्युटरजस्ता औजर, यन्त्रहरु चलाएर भुँडी फुटिन्जेल भात खाने जमाना हो यो । मान्छेको
शरीरमा आवश्यकताभन्दा धेरै उर्जा चार्ज भइरहेको छ । तर डिस्चार्ज गर्ने विकल्प कम हुँदै गएको अवस्था आएको छ । आधुनिक मान्छेको पेटमा पसेका अधिक खाने खानेकुरा डिस्चार्चको व्यवस्थापन एकमात्र उपाय
मनोक्रान्ति । मनोक्रान्तिका प्रशिक्षक नगेन्द्रराज नेम्बाङ (नेम्बाङ मामा) ले ‘स्वस्थ जिन्दगीको सान’ नामक पुस्तक प्रकाशन गरेका छन् ।

वातावरणीय प्रभाव असुन्तलित खानपानले मान्छेहरुको स्वास्थ्यमा समस्या थपिँदै जाँदा डाक्टरहरु हैरान परिसान भएको अवस्थामा मनोक्रान्ति अभियन्ता नगेन्द्रराज नेम्बाङले ‘स्वस्थ जिन्दगीको सान’ शीर्षकको पुस्तक सबैको लागि बरदान भएको छ । संसार बदल्नु छ भने पहिला आफैलाई बदल भन्ने मूल नारासहितको झन्डा बोकेर बेलायतमा लामो समय योग प्रशिक्षण गरी दुनियाँलाई स्वस्थ र सुखी जीवन बिताउन आफ्ना थुप्रै समय र परिश्रम खचेर लामो समय ज्ञानको ज्योति छर्दै हिँड्दा प्राप्त अनुभवको संगालो हो यो कृति ।

आँखाको समस्या, कपाल झर्नु, कब्जियतको उपचार, मिर्गौला पथरी, थकान, अनिन्द्रा, कपाल झर्नु, माइग्रेन (आधा टाउको दुख्ने), कम्मर दुखाई, अपच, आँखाका समस्या, किन दुख्छ ढाड, बाथजस्ता दर्जनौं रोग जो
डाक्टरमा नगई आफै सहज तरिकाले समाधान गर्न सकिने सरल ज्ञानको भण्डार यही पुस्तकमा पढ्न पाइन्छन् ।

प्रकृतिमा आनन्द, अपच, जीवन एक सपना, शरीर एउटा देश, आत्म शरीर, स्मरण शक्ति र एकाग्रता, सकारात्मक प्रवृत्ति, कुलतबाट बचौं, जति हाँसिन्छ उति बाँचिन्छ, दृष्टिकोण बदलौं स्वस्थ बनौं, सम्पत्ति साधन
हो, दुःखका कारण विचार, स्वस्थ रहन मनोक्रान्ति, बदले दृष्टिकोण बदलिन्छ जीवन, रोग किन लाग्छ, बलियो मनस्थिति, सेतो चामल मन्द विष, सुर्तीको लत छाड्ने उपाय, डिप्रेशन, तनाव व्यवस्थापन, डायरीमा लेखौंजस्ता झण्डै एक सयजति शीर्षकमा मनोविज्ञानका उपचारका जीवनोपयोगी महत्वका खुराकहरु छन् ।

दैनिक खानपान, कामको प्रकृतिले गर्दा नचाहेर पनि उहिले खानदानीहरुको रोग भनिएका उच्च रक्तचाप, मधुमेह, बाथ, कोलेस्ट्रोल सबैको साझा रोगको रुपमा स्थापित भइसकेको अवस्था हो । यस्ता रोगलाई आधुनिक एलोपेथीले रोकथाम वा दुखाइ कम गर्ने मात्र हो । रोगलाई पूरै अन्त योग, ध्यान, व्यायाम र प्रणायम नै एकमात्र उचित विकल्प मनोक्रान्ति दर्शनलाई पुष्टि गर्न नगेन्द्रले ठूलै मिहिनत गरेका छन् । मनोक्रान्तिको सरल अर्थ र सार भनेकै विचारलाई विद्रोह गर्नु हो । यसमा लेखकले सरल भाषामा अनेक तर्क र तरिका पेस गरेका छन् । एकगाँस भातलाई ३२ पटक चपाउनु पर्छ । नगेन्द्रले योगशास्त्रको एउटा प्रमुख मन्त्र हास्नु भनेका छन् । हाँसोसँग रोग प्रतिरोधात्मक प्रणाली जोडिएकाले जति हाँसिन्छ, उति बाँचिन्छ ।

दिनको एकदिन रेडवाइन पिउनाले मस्तिष्क शक्तिशाली हुने रक्याहरुहरुलाई राम्रै सन्देश लिन्छ । योग र व्यायामलाई एकै ठाउँमा राखेर हेर्न नहुने पुस्तकमा अर्को सन्देश हो । योगाले मान्छेको जीवनलाई प्रकृतिसँग जोडिदिन्छ । अरु व्यायाम निश्चित उमेरकाले मात्र गर्न सकिने भए पनि मनोक्रान्तिले विकास गरेको योगासन ९/१० देखि ८०/८५ वर्षकाले सहज तरिकाले गर्न सकिने छ । जति उमेर ढल्कँदै गयो जीवन जगत, सुख
र शान्तिसँग बाँच्ने समग्र जीवन दर्शनको उति नै बढी साधनामा रमाउने सरल र सहज कला हो योगा ।

स्वस्थ जीवन बिताउने रहर कसलाई नहोला । यसका लागि अद्भूत कला चाहिन्छ । बाँच्न र स्वस्थ रहने कला उपवास, माटोमा आधा घण्टा हिँड्ने, स्वस्थ र सन्तुलित खाना, सकारात्मक सोच, चिन्तामुक्त, प्राकृतिक चिकित्सा उपचार व्यक्तित्व विकास, ठूलो मन, घरीघरी लामो सास लिने, योग, साधना, आराम, व्यायाम, तनावमुक्त, दिनमा एकचोटी पानीले शरीर भिजाउने, हाँस्ने, नयाँ जीवनशैली, प्रत्येक दिन २०–९० मिनेट व्यायाम, दुईपटक दाँत माझ्ने, एकपटक नुहाउने, प्रत्येक दिन अरुका लागि केही काम गर्ने, हप्तामा एकजना साथी बनाउने अनेकौं सन्देशमूलक र जीवनपोयोगी शब्दहरुमा पुस्तकको सुरुदेखि अन्तसम्म नगेन्द्र इमान्दारीपूर्वक प्रस्तुत भएका छन् ।

प्रत्येक सेकेण्ड सकारात्मक विचार गर्ने, प्रत्येक मिनेट गहिरो सास लिने, प्रत्येक घण्टा पानी पिउने र हाँस्नु पर्ने स्वस्थ जीवनका टिप्सहरु पुस्तकका आकर्षणका पक्षहरु हुन् । ‘दुई घण्टा समय आफ्नै लागि’ शीर्षकमा उनले सफल मान्छेहरु आफ्ना लागि दुई घण्टा छुट्याउँछन् भन्दैः फेसबुक, टेलिभिजन, इमेल, टेलिफोनबाट अलग रहँदै मर्निङवाक निस्कन्छन्, व्यायाम, योग, ध्यान गर्छन् । डायरी कोर्छन्, साहित्य सिर्जना गर्छन् । भनेपछि योगा अर्थात् मनोक्रान्ति कसका लागि भनेर यहाँनिर गम्भीर प्रश्न गर्न सकिन्छ ? त्यसो हो भने योगा सफल हुनेखाने सम्भ्रान्तहरुको लागिमात्र हो ।

स्वस्थ र सन्तुलित खानाका सूचीमा लसुन, ओखर, मह, कागती, काँचो टमाटर, सागसब्जी, फलफूल, सलाद, दिनमा तीन लिटर पानी सबैको स्वास्थ्य र सन्तुलित दैनिक सेवन गर्नुपर्ने ढिकीमा कुटेको चामल, ओलिभ तेल, फलफूलमा स्याउ, चिनीको सट्टामा मह वा सख्खर, माछा, काँचो सलाद टमाटर, गाँजर, केराउ, भटमास, हरियो खुर्सानी, सुन्तलाको जुस, हरियो तरकारीको रस, सिमिजस्ता लामा सूची छन् ।

आममान्छेहरुका लागि यस्ता धेरै चिजहरु दुर्लभमात्र नभई असम्भव लाग्छन् । प्रत्येक तीन महिनामा सामूहिक यात्रा, वर्षमा एक हप्ता पर्यटन भ्रमण र १० वर्षमा घर वा डेरा परिवर्तन गर्नुपर्ने मनोक्रान्ति दर्शन सामान्य नेपाली
जनजीवनसँग मेल खाँदैन ।

पुस्तक पढ्दै जाँदा कतै योगा सहरिया हुने खानेको लागि मात्र हो किजस्तो छ । ग्रामीण जीवन बिताउने गरिब दुखीहरुका लागि मिठो र सन्तुलित खानपान, गीत, टिभी, भ्रमण, पार्टी, भोज, बैठक, गाडी फूर्सद, मोबाइल, फेसबुक, वाकिङ, अपच, मिठो, चिल्लो अफै पहुँच बाहिर पर्ने भयो । उनले स्वस्थ रहन मानिसले दैनिक तीन लिटर अनिवार्य पानी पिउनुपर्ने तर्क पनि सान्दर्भिक देखिँदैन । विज्ञहरुको अनुसार पुरुष, महिला शरीरको ओजन, दैनिक गतिविधि, धेरै वा कम तापक्रमअनुसार र मान्छेले कति क्यालोरी खाना खान्छ सोहीअनुसार कति पानी पिउने व्यक्तिअनुसार फरक हुनुपर्छ ।

यो पुस्तकलाई रोग, व्यायाम, उपचार विधि विषयगत खण्डीकरण गरेको भए राम्रो हुने थियो । ठाउँठाउँमा योगी विकाशानन्द र आफ्ना निजी विचारलाई महत्वपूर्ण स्थान दिन खोजिएका छन् । भूकम्पको सम्झना र उर्जावान जीवन, ९ दिन, ९ रात भू–तपस्या, इम्बुङदेखि बेलायतसम्मजस्ता केही चाहिँ लेखकका निजी जीवनका अनुभवलाई स्थान दिइएका छन् । पुस्तक मानिसको यौन जीवनबारै मौन रहेको पाइन्छ । तर पनि कहिल्यै पुस्तक नपढ्ने वा कम पढ्नेहरुले स्वस्थ जिन्दगीको सान रु. ३०० मा किनेर पढ्दा पाठकलाई खासै नोक्सान हुनेवाला छैन । सामान्य लापरबाहीबाट आइपर्ने समस्याबाट जोगिनु वा अस्पताल धाउने बाटो बन्द गर्न मनोक्रान्तिले उचित र सजिलो सुझाव दिएका छन् । हामी आफैले के गल्ती गरिरहेका छौं, आफैलाई थाहा नहुन सक्छ । मान्छेलाई धेरैजसो रोग उसको मनबाट पैदा हुने र कति चाहिँ आफैले जानीजानी गरेको गल्तीका परिणाम हुन्छन् । आफू बाँच्न चाहना छ भने बाँच्नको औचित्य आफै पुष्टि गर्नु पर्छ ।

जीवनशैली र दृष्टिकोण बदल्नु नै मनोक्रान्तिको प्रमुख सन्देश हो । योग सामान्य शारीरिक व्यायाममात्र नभई मानसिक शान्ति, सिद्धि, मुक्ति, शरीरशुद्धि र मनशद्धि प्राप्त गर्ने माध्यम हो । सफलताको लागि चाहिने शान्ति, स्वास्थ्य, आनन्द, आत्मसम्मान, आत्मबल र सहास योगबाटै प्राप्त गर्ने हो । शरीर मनको जोड नै योग हो । विचार आफैंमा शक्ति हो र यसलाई समयानुसार बदल्नु सक्नु पर्छ । रोग लाग्नका प्रमुख कारण मन हो भन्ने मनोक्रान्ति दर्शन बुद्धको भौतिकवादी दर्शनजस्तै वैज्ञानिक लाग्छन् । शरीर, मन र आत्मालाई जोडेर सन्तुलन राख्नु नै योग हो भन्ने मनोक्रान्ति प्रतिपादन गरेको दर्शनले विज्ञानलाई समेत चुनौती दिएको छ ।

मानव जातिले जति धेरै आर्थिक विकास गरे पनि हरेक मान्छे आफैचाहिँ कहिल्यै सुखी र सन्तुष्ट हुन सकेका छैनौं । युवाल नोआ हरारी भन्छन्- ‘एकासौं शताब्दीमा अब मान्छेको काम कहिल्यै नमर्ने जीवनको जोखिमा छन्’ । तर मनोक्रान्तिको सन्देशचाहिँ बाँचुन्जेल सुखी र आनन्द भएर जीवन बिताउनका लागि सन्देश दिन खोजेका छन् ।

लेखक नगेन्द्र नेम्बाङ पाँचथर याम्बोङका अवकाश प्राप्त गोर्खा सेना हुन् । उनले सन् २०१० मा पूर्व धरानमा ९ फिट खाल्टोमा ९ दिन ९ रात भूतपस्या गरेर तहल्का मचाएका थिए । याक्थुङ चुम्लुङ, पाँचथर समाज सेवा, नेपाल पत्रकार महासंघ, गैर आवसीय नेपाली संघजस्ता थुप्रै बेलायतका सामाजिक संघ संस्थामा नेतृत्वदायी पदमा रहेर निरन्तर काम गरेका नरेन्द्र मनोक्रान्ति युकेका टिम लिडर स्वस्थ जिन्दगीको सानसँगै एक कुशल सर्जकको रुपमा नाम जोडेका छन् ।

पुस्तक पढ्न दिक्क लाग्दैन । १४० वटा प्रेणादायी सन्देशका खुराकहरु संलग्न छन् । १२ वटा विषय बाहेक अन्य १३८ सबै दुई पृष्ठा छोटा छोटा छन् ।
प्रस्तुति : कृष्णकुमार हेम्ब्या ‘कुवाकुजा’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!