
लन्डन ८ अप्रिल २०२४ । प्रवासी नेपालीहरुको संगठन मोना युकेको आयोजनामा यही अप्रिल १३ तारिख शनिबार ‘मोना शुभकामना साँझ’ हुँदैछ ।
नेपाली नयाँ वर्ष २०८१ को अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित शुभकामना साँझ हुन लागेको हो । कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरुले प्रस्तुति दिनेछन् ।
कार्यक्रमका लागि नेपालका ख्याति प्राप्त (म्याग्देली) कलाकारहरु दिपा गुरुङ, ललिता पहरे पुन र नेसान पुन आइतबार यूके आइसकेको म्याग्दी संगठन (मोना) युकेको सांस्कृतिक सचिव नुनु पाइजा मगरले जानकारी दिइन् । कलाकारहरुलाई हिथ्रो एयरपोर्टमा मोना अर्गनाइजेसनका वरिष्ठ उपाध्यक्ष लालु पुनलगायत पदाधिकारी, सदस्यहरुले खादासहित स्वागत, सम्मान गरेका थिए ।
शुभकामना साँझ फानबोरोस्थित साम्युयल कोडी स्कुलमा हुनेछ । उक्त कार्यक्रममा भेटघाट र रमाइलोका लागि सहभागी भइदिन सांस्कृतिक सचिव नुनु पाइजाले अनुरोध गरेकी छन् ।
कार्यक्रममा कलाकारहरुको दमदार प्रस्तुति, म्याग्दीमा प्रचलित नौमती बाजा, सोरठीलगायत प्रस्तुति हुने छन् । मोना युकेले नेपाली नयाँ वर्ष हरेक साल विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।







