गेस्ट हाउस जान अस्वीकार गरेपछि विवाद हुँदा आक्रमण भएको आफन्तको दाबी
काठमाडौं । काठमाडौंको माछापोखरी चोकमा भएको झगडामा कुटपिटबाट घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका ४ थप्रेकका २० वर्षीय सुवास तामाङको मृत्यु भएको छ । शुक्रबार राति भएको घटनामा घाइते तामाङको शनिबार अपराह्न साढे १ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो ।
थप्रेक खोलेका शुक्रबहादुर गोले तामाङ (चुँडा)का कान्छा छोरा सुवास मजदुरी गर्दै आएका थिए । काम सकेर ललितपुरको लुभुबाट साथीहरूसँग तारकेश्वर नगरपालिका–९, मनमैजु डेरा फर्किने क्रममा उनी माछापोखरीमा विवादमा परेका थिए ।
सुवासका काका रामकुमार तामाङका अनुसार लुभुमा काम सकेर सुवाससहित चार–पाँच जना शुक्रबार राति काठमाडौं फर्किंदै थिए । माछापोखरी चोकमा आइपुगेपछि गेस्ट हाउसमा ग्राहक बोलाउने काममा खटिएका युवाले उनीहरूलाई गेस्ट हाउस जान आग्रह गरेका थिए । सुवासले जान अस्वीकार गरेपछि विवाद भएको र त्यसक्रममा उनीमाथि आक्रमण भएको रामकुमारको दाबी छ ।
‘माछापोखरी आइपुग्दा गेस्ट हाउसबाट ग्राहक तान्न खटिएका युवाले विभिन्न प्रलोभन देखाएर गेस्ट हाउस जाऔँ भनेछन् । त्यही क्रममा सुवासले जान्न भनेपछि विवाद भएछ । मुक्का प्रहारबाट घाइते भएका सुवासको आज मृत्यु भयो,’ रामकुमारले भने ।
झगडाका क्रममा बेहोस भएका सुवासलाई तत्काल बालाजुस्थित सिल्भरलाइन अस्पताल (पहिले जनमैत्री) लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भयो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कञ्चनपुरका २० वर्षीय अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सुवासको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लैजाने तयारी गरिएको रामकुमारले बताए । घटनामा संलग्नमाथि निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न उनले माग गरेका छन् ।
‘हाम्रो परिवारको सदस्य गुमेको छ । घटनाको सत्यतथ्य छानबिन होस् र दोषीले कानुनअनुसार सजाय पाउनुपर्छ,’ आफन्तको भनाइ छ ।






