
“अङ्कल ! यो वर्षको साकेला कहिले हुन्छ ?”
अचानक मोबाइलमा टिङलिङ्ग आवाजसहित त्यस्तो म्यासेज आउँदा म एकचोटी झसङ्गै झस्किन्छु । समय बेलुकीको ठीक १० बजिसकेको थियो र म सुत्ने तरखर गर्दै थिएँ । अब यति अबेलातिर कसले म्यासेज पठाएको होला भनेर एक झलक हेर्छु । त्यसपछि उनको प्रश्नको उत्तर दिनुभन्दा अगाडि उनी को रहेछिन् भनेर मुहार पुस्तिकामा रहेको उनको जीवनीलाई सरसर्ती जाँच गर्न थाल्छु ।
उनको जन्मघर पूर्वी पहाडको बुईपा, खोटाङ रहेछ । तर सन् २०१९ मा बेलायती सेनामा भर्ती भएको एकजना जवानसँग विवाह बन्धनमा बाँधिएपछि हजारौं माइल टाढा घरजम गर्न उनी बेलायत बसाइँ सरेकी रहेछिन् । हुन त, मेरो घर पनि उतैतिर हो । तर भौतिक रुपमा उनीसँग मेरो खासै चिनजान छैन । तैपनि अपरिचित गाउँले भतिजी परेछिन् भनेर मनमनै सोच्छु । त्यसपछि उनको प्रश्नको उत्तर दिन भनेर हातका औंलाहरु मोबाइलको स्क्रिनमा नचाउन थाल्छु ।
“छोरी ! यस वर्षको साकेला पनि सदाझैं दुई पटक नै हुन्छ भन्ने सुनेको छु अथवा मैले त्यस्तो जानकारी पाएको छु । पहिलो पटक यहीं मे महिनाको २५ तारिक र दोस्रो पटक जून महिनाको १ तारिखमा हुन्छ भन्ने सामाजिक सञ्जाल टिकटकमा पनि देखेको छु,” संक्षिप्तमा जवाफ फर्काउँछु ।
मेरो उत्तरको व्यग्र प्रतिक्षा गरिरहेकी भतिजीले, “उसो भए अङ्कल ! कुन दिनचाहिँ अलिक ठूलो हुन्छ होला ?”
अब मेरो सामु दोस्रो प्रश्न खडा हुन्छ । उता गाउँघरमा हुँदो हुँ त, “कि नेर्पा वा टेम्मा” उनलाई आँखा चिम्लेर जवाफ फर्काइ दिन्थे । तर यहाँ त्यसरी जवाफ फर्काउन मलाई त्यति सजिलो छैन । तैपनि जानि नजानि भतिजीले गरेकी प्रश्नले मेरो मुटुको दाहिने कुनामा चसक्क घोचेको जस्तो आभाष हुन्छ ।
अब उनको प्रश्नको उत्तर सही दिन सकुँला वा नसकुँला भनेर एकछिन सोच्न बाध्य हुन्छु । त्यसपछि आ जेसुकै मरोस् है भनेर फोनलाई थपक्कै सिरानी छेउमा राखेर बस्छु । तर उनको प्रश्नको उत्तर दिन पाउँदा नपाउँदै अर्को पटक टिङलिङ्ग आवाज आएको सुनिन्छ । त्यसपछि म अलिक अटेर गर्न थाल्छु । र, उनकी प्रश्नलाई बेवास्ता गर्दै आधुनिक दर्शन शास्त्रका पिता रन डकार्डले मध्याह्नको घाममा गम्लङ्गै सिरक ओढेर मानिसको जीवनको विषयमा सोच्ने गरेझैं म पनि गम्लङ्गै सिरक ओढ्छु र बेलायती किरात राईहरुको विषयमा सोच्न थाल्छु ।
बेलायतमा अहिले लगभग बिसौं हजार राईहरु बसोबास गरिरहेका छन् । यद्यपि त्यसको पुष्टि गर्ने आधिकारिक तथ्याङ्क अहिलेसम्म कहींकतै भेटिँदैन । बेलायती सरकारले आजभन्दा करिब दुई दशक अगाडिदेखि पूर्वगोर्खा सिपाहीहरुको लागि अध्यागमन नीति अलिक खुकुलो बनाइदिएपछि नेपाल छाडेर यतै घरजम गर्न आउनेहरुका संख्या ह्वारह्वार्ती बढिरहेका छन् । त्यसैले कोही सुरुको दिनदेखि नै यता आएर घरजम गरिसकेका छन् भने कोही भर्खर भर्खर आउँदै गरेका छन् र यो क्रम क्रमश: चलिरहेकै अवस्था छ ।
हो, ती सबै राईहरुको बेलायतमा एउटा जातीय संस्था छ । जसलाई अधिकतम मानिसहरुले, “किरात राई यायोक्खा बेलायत” भनेर चिन्ने गर्दछन् ।
सन् २००४ सालदेखि स्थापना गरिएको उक्त्त सङ्गठनको उमेर अहिले ठेक्कै २० वर्षको लडके जवान भएको छ । स्वभावैले २० वर्षे जवान भएपछि जोस बढि र होस अलिक कमि हुने गर्दछ । जस्लाई हामीले अन्यथा लिन पनि हुँदैन । जुन सामान्य मानिसमा हुने क्रमिक विकाशको सिदान्त वा मानविय प्रकृया नै मान्नु पर्छ । तर कसोकसो अलिक बढि होस गुमेपछि मानिसहरु स्वभावैले झगडालु, निर्दयी, स्वार्थि, लोभि र पापी हुन्छ भनेर माम्सबरीको राक्षस भनेर चिनिने थोमस हब्सले सयकडौ वर्ष अगाडि आफ्नो पुस्तक “लेभियाथान” मा लेखिसकेको छ ।
तर कुनै कुनै बेला हब्सको भनाई झै हामी पनि आफ्नो उदेश्य प्राप्तिको लागि अलिक बढि नै स्वार्थि भएका छौं जस्तो लाग्छ । नत्रभने समान उदेश्य बोकेर हिडेको र एउटै सङ्गठनको छाता मुनि ओत लागेर बसेका मानिसहरुको एक-आपसमा फरक विचार ननिस्कनु पर्ने हो जस्तो लाग्छ ।
जस्तो कि यहाँहरुलाई थाहा छ । किरात राई यायोख्खा बेलायत एउटा बिशुध्द जातिय सङ्गठन वा संस्था हो । देशभन्दा धेरै टाढा परदेशमा रहेको भएता पनि यसको मूलभुत उदेश्य भनेको पनि आफ्नो जातिको भाषा, धर्म, संस्कृति, परम्परा र कलाको संरक्षण वा सम्वर्धन गर्नु नै हो । त्यसको साथै एक-आपसमा सामाजिक सदभाव, प्रेम, सहिष्णुता र भाइचारा नै अन्तिम सत्य उदेश्य हो ।
यदि किरात राई यायोख्खा राजनैतिक दलको भात्रृ सङ्गठन हुँदो हो त मानिसहरु सामान्यतय दुई भागमा ध्रुविकरण हुँन्थे । किनभने जर्मनीका प्रख्यात दार्शनिक फ्रेडरिक नित्सेले, “राजनीतिज्ञहरुले समाजलाई दुई भागमा ध्रुविकरण गर्छन् – एउटा समुह (ट्रुप्स) र अर्को दुश्मन (इनेमी) भनेका छन् ।
हुनत हामी कुनै पनि राजनैतिक दलको भातृ सङ्गठन त हुँदै होइनौं । तर विधिको विडम्वना नै मान्नु पर्छ । अहिले हामी नित्सेले भनेझै दुई भागमा ध्रुविकरण भएका छौं । अनि भाईभाईमा एउटालाई मित्र र अर्कोलाई शत्रु देख्न थालेका छौं । त्यतिले मात्र कहाँ मान्छ र ? एक अर्कामा घमसान वाकयुध्दको दलदलीमा फसेका छौं ।
वाकयुध्दको बिषयमा म यहाँनेर एउटा सानो उदाहरण प्रस्तुत गर्न चाहें ।
म मेरो जीवन जिउने क्रममा पटक पटक आक्रापोलिस, एथेन्स पुगेको छु । यहाँहरुलाई अवगत भएकै कुरो हो । एथेन्स, ग्रिसको राजधानी हो । प्राचिन कालिन समयमा ग्रिकहरुले निक्कै धेरै वाकयुध्द गर्थे । तर उनीहरु प्रत्येक कुरोलाई वादविवाद गरेर अन्तिम टुङ्गोमा पुग्ने गर्दथे र त्यस निर्णयलाई सबैले स्वीकार गर्दथे । कालान्तरमा आएर त्यसलाई दार्शनिक भाषामा वाद (थेसिस) विवाद (एन्टिथेसिस) र संवाद (सिनथेसिस) भन्न थालियो ।






