महा चुम्लुङ यूके सिसेक्पा तङनामको महत्व

SHARE:

कृष्णकुमार हेम्ब्या
सिसेक्पा तङनाम युकेवासी याक्थुङहरुको लागि ‘महा चुम्लुङ’मा रुपान्तरण भइसकेको अवस्था हो । पछिल्लो समय संस्कृति चेत नभएका नेतृत्वले गर्दा यूके चुम्लुङको शाखा गिर्दै गएको र याक्थुङ संस्कृतिमाथि डरलाग्दो रुपमा अतिक्रमण भइरहेको अवस्था छ । परिणामस्वरुप यो वर्षको सिसेक्पा तङनाममा एकजना गजडीँया गायक ल्याउने अप्रिय निर्णय भयो ।

सिसेक्पा तङनाम ‘महा चुम्लङ’ मा स्थापित हुनु चुम्लुङ यूकेको संस्थागत कार्यदिशा, नेतृत्वको दृष्टिकोण, कुशलता र क्षमताले मात्र नभई हरेक याक्थुङहरुमा अन्तरनिहित साँस्कृतिक चेतनाको उपज थियो/हो । संस्कृति निर्माण एक दिन एक रात वा एकजनाले सम्भव छैन । धर्तीमा जन्मेका हरेक मान्छे जीवन रहेसम्म आफ्नो चेतना प्रयोग गरी नयाँ संस्कृति बनाउने प्रयत्न गर्छन्ै । संकृति निर्माण मञ्चमा बसेर खादा माला, ब्याच लगाउने अगुवा र चुम्लुङ अवार्ड पाउनेहरु मात्र हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । बेलायतवासी याक्थुङहरुको महा चुम्लुङ सांस्कृतिक पुँजीको स्वामित्व लिने सबैले अधिकार सबैलाई छ ।

हाम्रा पुर्खाले हजारौं लाखौं वर्ष खर्चेर याक्थुङ संस्कृति निर्माण गरे । याक्थुङ समुदायले चासोक तङनाम, कक्फेवा तङनाम, यक्वा तङनाम, सिसेक्पा तङनाम र बलिहाङ तङनाम प्रमुख चाडपर्वकारुपमा मनाउँदै आएका छन् । यी चाड पर्वहरु किरात, युमा वा अरु कुनै धर्मसँग सम्बन्ध छैनन् । याक्थुङ सभ्यता निर्माणका विभिन्न कालखण्डमा घटित विकासक्रमहरुसँग सिधै सम्बन्धी यस्ता चाडपर्वहरु पुर्खा, प्रकृति र कृषिलाई जोडेर हेर्नुपर्ने हुन्छ । सिकारी युगबाट कृषिमा रुपान्तरण हुँदा पुर्खाहरुले आर्जन गरेका ज्ञान, सीप, प्रविधि, अनुभव र पुँजीको संरक्षरण गर्न हामी यस्ता दिनलाई उत्सवको रुपमा मनाउँछौं ।

नेपालमा साउन १ का दिन मनाईने चाडलाई जातीय समुहअनुसार सिसेक्पा तङनाम, साउने संक्रान्ति, लुतो फाल्ने दिन, थारु गुरही पर्व, देउडा पर्व फरक नाम र फरक तरिकाले मनाइन्छ । यो चाड कसरी सुरु भयो भन्नेमापनि आआफ्नै मिथक र विश्वासहरु विद्यमान छन् । यो छोटो आलेखमा हामी याक्थुङ जातिको सिसेक्पा तङनामको मुन्धुम र यसको महत्व बारेमा संक्षेपमा चर्चा गरिन्छ ।

सिसेक्पा तङनाम
परापूर्वकालदेखि खेतीपाती गरेर आफ्नो जीवन गुजरा गर्ने याक्थुङहरु, आफूले लगाएको अन्नबाली भित्राउनअघि जीवन–जगतको सृष्टि र तिनको संरक्षरण गर्ने तागेरानिङ्वाफुमा र पुर्खाहरुको पूजाआजा गरी पाकेको नयाँ अन्न चढाई उनीहरुबाट अनुमति लिएर मात्र नयाँ अन्न खाने चासोक तङनाम प्रमुख चाड हो । माघे संक्रान्तिलाई नयाँ वर्ष ‘कक्फेवा तङनाम, बालीनाली लाउन अघि बैशाखा पूर्णेमामा ‘यक्वा तङनाम’, साउने संक्रान्तिमा ‘सिसेक्पा तङनाम’र बलिहाङ राजाको सम्झनामा मनाइले चाड तिहारमा ‘बलिहाङ तङनाम’हाम्रा प्रमुख चाडहरु हुन ।

सिसेक्पा तङनाममा गाऊघर तिर भर्खरै फलेर पाक्न लागेका अन्न र फलफूल, मकै, खुर्सानी, काक्रो, फर्सी, बरपीपलको पातहरु बाबियो÷खरको डोरीमा लहरै तुनेर मूल ढोकामाथि वरिपरि झुन्डयाइन्छ । बेलुका मासु, तोङवा आदि मिठोमिठो खानेकुरा खाईसकेपछि दियालो बालेर घरका कुनाकाप्चामा नाङ्लो ठटाउँदै बाहिर निस्केर अगुल्ठो र नाङ्लो घर बाहिर फ्याकिन्छ । ‘साक्च्योङ’अर्थात अनिकालका राजा घरमा पसेपछि पूरै गाउँ अनिकालले सताएर हैरान पारेपछि त्यसको विरुद्ध हाम्रा पुर्खाहरुले अनिकाल खेद्न अप्नाएको यो जुक्ति नै अन्ततः ‘सिसेक्पा तङ्नाम’ अर्थात साउने संग्रान्ती चाडको रुपमा विकसित भएको याक्थुङ मिथकहरुमा उल्लेख भएको पाईछ । कसैले असारे हिलोमैलोमा छालामा लाग्ने लुतो रोग फ्याक्ने चाडकारुपमा पनि लिन्छन्् ।

सांस्कृतिक महत्व
कृषकका लागि चैत, वैशाखा, जेठ र असार चार महिना अत्यन्तै कठिन दिनहरु हुन । यसैबेला भकारीका अन्नहरु रित्ति सकेका हुन्छन्् । वर्ष भरिका लागि खाने अन्न कमाउने यसै समयमा पर्छ । हावाहुण्डरी, बाढीपहिरो प्राकृतिक प्रकोप र अनेकौं हिंस्रक जंगली जनवारको सामनापनि यिनै बेलामा गर्नुपर्दछ । असारको अन्तसंगै अन्नबाली पाक्न थाल्छन्् । प्राकृतिक प्रकोप र रोगव्याध घट्न थाल्छन्् । दुःखका अनेकौं खुड्किलाहरु उक्लेर यो वर्ष बाचियो भन्दै खुशियाली मनाउने संस्कार आखिर याक्थुङहरुको सांस्कृतिक पर्व सिसेक्पा तङ्नाम भयो भन्न सकिन्छ । यही समयदेखि दिन छोटो हुंदै जाने र अन्नपनि पाक्न थालेकाले कृषकहरुको लागि पुरानो आर्थिक वर्ष समाप्ती र नयाँ आर्थिक वर्ष शुभाराम्भको कृषि पर्व पनि हो ।

याक्थुङ समुदायमा सिसेक्पा तङ्नाम कसरी सुरु भयो भन्दै भूमी सावदेनले आफ्नो अनलाईन याक्थुङ (लिम्बू) मा यसरी लेख्छन्ः

मानव विकास क्रममा सृष्टि कालदेखि नै मान्छेहरु बिभिन्न समुहमा बस्न थाले । तागेरा निवाफुंग माङले मेंछ्यंग याम्मी बनायो अनि मान्छे बनायो। ओछोन याक्थुङ लाजेमा पान मेंदाङना ले कुराकानी नमिल्दा झगाड़ा मात्र गर्न थाले। शोधुङ्गेन् तेम्भे मेन्छाम याक्मी पोक्मे देनमा नराम्रो सस्कार संस्कृति भएकोले त्यस ठाउबाट एक समुह मानिसहरु छुट्टीएर सिन्युक्ना लाजे अहिलेको तिब्बत र लिम्बुवानको छेउमा पुग्यो। त्यहाँ पुगेपछि त्यस ठाउँमा माङहाङ नाम गरेका एउटा शक्तिशाली हाङको उदय भयो ।

एक समय माङहाङको लाजेमा ठूलो खडेरी लाग्यो । लाजेको खेतबारी वन जंगल सबै सुकेरो गयो । खडेरीका कारण ठूलो अनिकाल आयो । जनता भोग भोकै मर्न थाले । आफ्ना जनताका दुःख देख्न नसकि अन्ततः माङहाङ आफै दिनरात माङ्सेवा गर्न थाले । एक रात सुतेकोबेला माङ्हाङ्लाई तागेरानिङ्वाफु युमा माङले सपनामा आएर दर्शन यसरी दियो र “मेरो धेरै सेवा प्रार्थना गर्नु भयो म खुशी छु त्यसैले भोलि बिहानै उठेर आफ्नो राज्यको सबै खेतबारीमा गएर हेर्नु त्यहाँ खानेकुराहरु पाकेको हुन्छ ल्याएर खानु जनताको जीवन बचाउनु आदेश आयो ।“ नभन्दै भोलि बिहानै माङ्हाङ उठेर हेर्दा खेतबारीमा भट्मास सिमि पुरै पाकेर खाउ खाउ लाग्दो देख्यो । पुरै हरियाली फर्सी, काक्रा, इस्कूस मकै, बर्खेधान अनेकौं थरीका फलेको थिए । माङ्हाङ्ले सबै जनतालाई बोलाएर “अब यो तागेरा निङ्वाफु र युमा माङ्को देन हुनाले सबै चिजबिज सफा गरी । सक्रान्ति आइज मंग्रान्ति जा सहकाल आइज अनिकाल जा भनेर नाङ्लो ठटाएर अगुल्ठो सग दोबाटो सम्म पुरियाउनु भन्नुभयो।“ सबैले त्यसै गर्न थाले। त्यसो गर्दै जादा पछि एउटा राम्रो संस्कृति हुन गयो र यसलाई विशेष पर्वको रुपमा मनाउन थालीयो र अहिले सम्म मनाईदै आएका छौं ।

बाटो बिराउँदै यूके चुम्लुङ
यूके चुम्लुङले २०२४ को सिसेक्पा तङनाममा एकजना गजडीँया गायकलाई ल्याउने अप्रिय निर्णय गरेको छ । स्थपना भएको २ दशकभन्दा धेरै भयो तर संस्थाले एउटापनि हाम्रो याञ्क्थुङ कलाकार ल्याएको छैन । यासेली योङहाङ, मनु नेम्बाङ, दिलिप फुरुम्बो, देशु सुहाङ, अटल तुम्बापो, गंगा फियाक, यादेन शेर्मा, सुनिता लाबुङ, सुमन लिम्बू, शिव सम्बाङफे निरन्ता नेम्वाङ, दर्जनौं-दर्जन राम्रो याक्थुङ संस्कृतिका कलाकार हुँदाहुँदै यस्ता जडिँयालाई ल्याएर के गर्न खोजेको बुझ्न सकिएन ।

पछिल्लो समय यूके चुम्लुङले आफ्नो बाटो बिराउदै गएको संकेतहरु देख्न थालेका छन् । यहाँ संस्थाको उद्धेश्य विपरित थुप्रै क्रियाकलापहरु गरेर बीसौं हजार पाउण्ड पैसा र समयको नाश भइरहेको छ । याक्थुङ सभ्यतामा कतै नभएको यलम्बरको नाममा यलम्बरहाङकप फूटवल प्रतियोगिता गरेर हरेक वर्ष हजारौं पैसा र समयको नाश गरिन्छ ।

यूकेबासी याक्थुङ समुदायले प्रमुखरुपममा मनाउँदै आएको सिसेक्पा तङनाम भेलामासमेत संस्थाको मर्म र भावना बिपरित गतिविधिहरु हुन थालेको छन् । याक्थुङ सभ्यता र संस्कृतिेको शानदार उजागर गर्ने हाम्रो लोपन्मुख पक्लुङ लेप्मा छेलो हान्ने, हक्चुम लक्मा (फाल हान्ने), चुङमा नान्छिङमा (लाप्पा खेल्ने), लि तोङ् आप्मा (गुलेली/धनुकाँड), वारुथङ (भाले जुधाइँ) बाजीजस्ता थुप्रै मौलिक र सांस्कृतिक खेलहरु छन् तर हाम्रा साथीहरुले ४ हजार यूके पाउण्डको रोटेपिङ खेलाइन्छन् । संस्थाको १३ हजार चुनावमा खर्चेर आएकालाई यो खर्च केही होइन । आफ्नो कला, संस्कृतिको लागि लामो समयदेखि कृयशिल सेवारो कलाकारलाई लात हानेर यहाँ चर्को पैसा खर्चेर अर्कै संस्कृतिको डान्स, गित सुनाइन्छ ।

अन्तमा
सुनाई र बुझाई जे भए पनि आखिर सिसेक्पा तङ्नाम प्रकृति, मानव विकास र मानवीय संवेदनाका अनेकौं पक्षसंग गहिरो सम्बन्ध रहेका पाइन्छन्् । विभिन्न कारणले बसाइँ सरेर बेलायत बस्ने याक्थुङहरु आफ्नो घरमा चाहेरपनि यस्ता परम्परागत चाड मनाउन पाउदैनन् । बेलायतको मौसम अनुकुलता पारेर सिसेक्पा तङ्नाममा नै लिम्बुहरु सन् २००९ देखि हरेक वर्ष भेला भएर चाडका रुपमा मनाउने परम्परा छ । यूकेमा यो दिनलाई खास गरी याक्थुङहरु आफन्त, कुलकुटुम्व भेट्ने एकमात्र वार्षिक भेटघाट गर्ने ‘महा चुम्लुङका’ रुपमा लिन्छन् ।

हरेक वर्ष याक्थुङ चुम्लुङ यूकेको आयोजनामा सिसेक्पा तङ्नाम बेलायतभरी छरेर बसेका लिम्बूहरुलाई यही दिन एकै थलोमा भेला पार्ने एक महत्वपूर्ण पर्वको रुपमा विकास भइसकेको छ । यहाँ भेला हुन हरेक क्षेत्रबाट दुइृतले बस रिजर्भ गरिन्छन् । याक्थुङ भेषभूषामा सजिएका हजारौं युमाथेवा, थाङवेन मेन्छ्याङहरु भेला भई स्वतस्फूर्त यालाङ, केलाङमा रमाएको दृश्यले याक्थुङ लाजेको कुनै थुममा ठूलो मेला बजारको सम्झना दिलाउछ । आफ्ना भाषा, लिपी, कला, धर्म, संस्कृतिहरुलाई जीवन्त राख्न र याक्थुङ विरासतको संरक्षण गर्न बेलायतवासीका लागि सिसेक्पा तङ्नाम कोसे ढुङ्गा अर्थात महा चुम्लुङ सावित भएको छ ।

(यो लेख लेखकको निजी विचार हो)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!