काठमाडौं १८ जुलाई २०२४ । नेपाली चलचित्र घरज्वाइँमा प्रस्तुत गरिएको रोधींको प्रसंग गलत भएको भन्दै तत्काल सच्याउन तमुधिं नेपालले आग्रह गरेको छ ।
अध्यक्ष हुमबहादुर गुरुङले बिहीबार विज्ञप्ति निकाल्दै चलचित्रमा प्रयोग भएको संवाद तथा दृश्य रोधींको मर्म र कर्मविपरित भएकाले तत्काल सम्पादन गर्न चलचित्र निर्माण टिमसँग आग्रह गरेका हुन् । ‘रोधी गुरुङ समुदायको पवित्र एवं सामाजिक सामुदायिक संस्कृति आफ्नै सामुदायिक सम्मानजनक र जिम्मेवार साथै सिक्ने सिकाउने, श्रम विभाजन गर्ने, सामुदायिक निर्णय गर्ने, दुःखसुख आदानप्रदान गर्ने, थिति निर्माण गर्ने सामाजिक धरोहरलाई कोही कसैले कुनै प्रसंगमा गलत प्रयोग, प्रस्तुति र प्रचार नगर्न अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले घरज्वाइँ चलचित्र निर्माणसँग सम्बन्धित पक्षले नकारात्मक वा भ्रमित हुनेगरी रोधीसँग सम्बन्धित प्रस्तुतिलाई तत्काल सम्पादन गर्न अनुरोध छ ।’
आगामी दिनमा संस्कृति, सभ्यता, मौलिकता, ऐतिहासिकतासँग सम्बन्धित चलचित्र प्रस्तुति गर्नुपूर्व सम्बन्धित समुदायसँग समन्वय गर्न/गराउन पनि चलचित्र विकास बोर्ड तथा चलचित्र सेन्सर समितिलाई अध्यक्ष गुरुङले अनुरोध गरेका छन् ।







