ब्राम्हणबाद : प्रवृति

SHARE:

सञ्जोग लाफा मगर

शिर्षक पढ्ने वित्तिक्कै सबैले गोरेबहादुर खपाङ्गी मगरलाई एकपटक पक्कै सम्झिने छन् । किनभने २०४७ सालमा एम. एस. थापा मगरसँग मिलेर नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा (हाल राष्ट्रिय जनमुक्ति पार्टी) स्थापना गरेका थिए । मार्क्सले रुपको मात्र व्याख्या गरेको थियो । रुप भनेको भौतिकवाद (Materialism) हो । भौतिक द्धन्दवाद (Materialism Conflict) लाई प्रमुख रुपमा जोड दिएकोले नामको आध्यात्मिक (धार्मिक, जातीय, वैचारिक अन्तरविरोध) Metaphysics हो । माक्र्सवाद युरोपमा भौतिक द्धन्दवाद हुन्छ । एशियामा जाति र धर्मको नाममा विभेद छ । त्यसैले नेपालमा जातीय अन्तरविरोध प्रमुख समस्या हो नकि वर्गीय समस्या । जातिवादी शासनले जरो गडेको ब्राम्हणवाद, भाग्यवाद विरुद्ध जनचेतना पैरवी, जनवकालत गर्दै आगो ओकलेका थिए गोरेबहादुर खपाङ्गी मगरले । विशेषगरी पुरातन बामपन्थी नेता र रुढिवद्ध वुद्धिजीविहरुले उहाँलाई बाहुन विरोधीको ट्याग झुण्ड्याईएका थिए । झुण्ड्याएको ट्यागजस्तै के साँच्चै बाहुन विरोधी हुन् त खपाङ्गी मगर ? मृत्युपर्यन्त संगत गरेको साक्षीले विचार सम्प्रेषणमा बाहुन विरोधी अभिव्यक्ति दिएको ज्ञात छैन । उहाँको आठौं स्मृति दिवस सन्दर्भमा किन बाहुन विरोधी भन्छन् ? विषयमा विमर्श गरेको छु ।

बाहुन, ब्रम्हत्व
स्वघोषित मनुस्मृतिमा मुखबाट जन्मिएको कारण बाहुन सर्वश्रेष्ठ जात भाष्यको विरुद्धमा हरिजन महिलाहरुले भारतीय बाहुन पण्डाहरुलाई प्रतिदिन चुनौतिकासाथ प्रतिप्रश्न गर्छन्­ “मान्छे जन्मने अंग सबैलाई थाहा छ । मुखबाट थुक र खकार मात्र निस्कन्छ/जन्मन्छ । तिमिहरुको जन्मने अंग त्यही हो भने केही भन्नु छैन ।” झन् हरिजन नेताहरु ब्राम्हणप्रति आक्रोश पोख्छन् । उनीहरुको राजनैतिक नारानै छ­, “बाहुन र सर्प एकैचोटी भेटे पहिला बाहुनलाई मार्नु । बाहुनले हामीलाई क्षणक्षणमा डसेर मार्छन् । सर्पले कुल्चिंदा मात्र डस्ने हो ।” त्यसैले रजनीकान्त शास्त्री हिन्दु जातिका उत्थान और पतन चर्चित पुस्तकमा लेख्छन्­ “बाहुन आर्यन भएकोले फारसीहरुले “डराएर भागी आएका कायरहरु, लुच्चा–फटाहा, काला, चोर, ठग, डाँकु र कमारा” आदि अपशब्दले दुत्कारिएको छ । नेपालमा धर्मरत्न यमीले बाहुनलाई ‘तिन फुके’ भन्थे । जातिलाई हेर्ने सवालमा नेकपा मालेका नेताहरुसँग खपाङ्गी सरको मतभेद बढेपछि “मालेमा ब्राम्हणहरुको वर्चस्व रहेछ” जनमञ्च साप्ताहिक– (वर्ष १, अंक ७ मंसिर २०, २०४७) पत्रिकामा पहिलो पटक अन्तरवार्ता दिदैं माले परित्याग गरेका थिए । आजभोलि भ्रष्टचारी र राष्ट्रघातिको पहिचान बनाएका बाहुनप्रति खपाङ्गी सरले कहिल्यै व्यक्ति र जातलाई दुवर्चन बोल्नु भएन । बरु उल्टै बाहुन विरोधीको लाहाछापले डामी दिए ।

बाहुनको ब्रम्हणत्व पक्षमा खुलेर बोल्ने ब्रम्हणत्वको बिरुद्धमा कोही पनि जानु हुँदैन भन्थे । बाहुनले टुपी पाल्नु, जनै लगाउनु, एकादशीको दिन मारकाट नगर्नु, गाईलाई माता मान्नु, नाक चुच्चो हुनु, चर्पी जाँदा जनै कानमा सिउरिनु, भात खानु अघि भातको सिता वरिपरि अवस्ती गर्ने चलन बाहुनको ब्रम्हणत्व हो । उनीहरुको जिवनपद्धति, संस्कार र पहिचान पनि हो । बुज्रुकहरुले ब्रम्हणत्वको अन्त्य नै ब्राम्हणवादको अन्त्य बुझेकाले ब्राम्हणवाद र ब्रम्हणत्ववारे सबैले बुझ्नेगरी भाषण, बहस, टिभि अन्तरवार्तामा खपाङ्गी सरले स्पष्ट बोलेका छन् ।

प्रवृति : कि वाद
बाहुन विरोधीको पगरीले गुथ्याँए पनि बाहुनको होइन ब्राम्हणवादको कट्टर आलोचक र विरोधी थिए खपाङ्गी सर । नेपालमा बर्गीय समस्याभन्दा पनि जातीय समस्या प्रमुख हो । ’तिब्र जातीय अन्तरविरोध भएको मुलुकमा सुकुम्वासी, सर्वहारा वर्गका भएतापनि भिन्न–भिन्नै जातिहरुको समाजमा वर्गीय एकता कायम हुन सक्दैन ।‘…..’जातीय अन्तरविरोध समाप्त भएपछि पुंजीवादको विकासमा मात्र वर्ग संघर्ष हुन्छ ।‘ (लेनिन संकलित रचना भाग–६) सारमा नेपालमा जातिवाद भन्नुनै एकल जातिवाद ब्राम्हणवाद त्यसमा पनि हिन्दुवाद हो । हिन्दू भित्रको विविध सामाजिक, राजनीतिक, आर्थिक कारणबाट उपेक्षित मधेसतीर चमार जात पहाडतीर सार्कीले गाईको मासु खान्छन् । खपाङ्गी सर भन्थे हिन्दुले गाईको मासु खाँदो रहेछ बाहुनले नखाँदो रहेछ । त्यसैले हिन्दुवाद भन्नुको अर्थ पनि ब्राम्हणवाद नै हो ।

चारवटा वेद, त्यसको खण्डहरू, यी वेद बाहेकका उपनिषदहरू अनेकौ स्मृतिहरू, स्तोत्रहरू, मनुस्मृति, रामायण, महाभारत, सुखसागर, स्वस्थानी, गीता, यज्ञवल्य, वृहस्पति आदि ब्राम्हणवादका स्रोत हुन् । यी सबै ग्रन्थहरुको आधारमानै नेपालमा जति पनि बनेका एकल जातिवादी संविधान, मुलुकी ऐन, कानुनको स्रोत पनि त्यहि हो । वाद भनेको समष्टिमा सबै ठाउँमा सर्वव्यापी हुन्छ । भूगोल, वातावरण र राजनीति नमिले पनि अमेरिका, पाकिस्तान बस्ने बाहुनले मन्दिर खडा गर्छ र पुजारी बाहुनै राख्छ । टुपी पाल्ने अरू जातको मान्छेलाई पुजारी राख्दैन । यो ब्राम्हणवादको नमुना हो ।

बाहुनले सबैलाई टुपी पाल्न अनिवार्य लाद्नु, सबै नियम मान्न उर्दी जारी गर्नु, अरूले छोएको नखानु, सबैलाई जनै लगाउन दबाब दिनु, एकादशीको दिन सबैलाई मासु खान बर्जित गर्नु आफ्नो समुदायको कुरा चित्त नबुझिकन अरूलाई थोपर्नु पनि ब्राम्हणवाद हो । बाहुनले गाई खाँदैन भन्दैमा तीन करोड नेपालीलाई गाई खान बन्देज लगाउनु ब्राम्हणवादी सोंच हो । अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ मा राष्ट्रिय जनावर गाई लेख्नु यो मुलुकमा ब्राम्हणवादको दबदबा हो भन्थे । यसको अन्त्य नभएसम्म ब्राम्हण आश्रमबाट जनजातिहरु बाहिर निस्कन राष्ट्रियता (जाति) तर्फ जान सक्दैनन् । जातमै बसिरहने तर्फ इङ्गित गरेका थिए­ “मान्छेले छोएको नखाने, मुसाले छोएको खाने व्यवस्थामा बसिरहनु हो ।”

नेपालमा आदिवासी जनजातिलाई राष्ट्रमा पुग्न नदिने मुख्य कडी ब्राम्हणवाद हो भन्थे । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रमा ब्राम्हणवादको स्वरुप बदलिएर नेपाली कॉंग्रेस , नेकपा एमाले, राप्रपा, नेकपा माओवादी (हालसालै स्थापना भएको विवेकशिल साझा पार्टी, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी) यी सबै ब्राम्हणवादमा आधारित राजनीतिक दलहरू हुन् । जो यहाँका आदिवासी जनजातिलाई राष्ट्रमा पुग्नबाट बञ्चित गर्न खोलिएको पार्टी हुन् । बगेको खोलाको पानी माथि पट्टि बसेर दलितले पिउन नहुने निर्घिन सोंच ब्राम्हणवादको छ । यसबाट मुक्त नहुञ्जेलसम्म दलित, आदिवासी जाति (राष्ट्र) मा पुग्न सक्दैनन् । आदिवासी आन्दोलनका नेताहरुले ब्राम्हणवाद प्रवृत्ति हो भन्ने भ्रम बोकेर अरुलाई भ्रममा डुलाएको देख्दा सभा, सम्मेलनमा तार्किक तर्कले मुखमा बुझो हालिदिन्थे ।

एकपटक नेपाल मगर संघ आयोजित सुरेश आले मगरको प्रस्तुत कार्यपत्रमा ब्राम्हणवादको व्याख्या गर्दै ब्राम्हणवाद प्रवृत्ति हो भनेपछि फ्लोरबाट प्रश्न सोधियो, ‘यदि ब्राम्हणवाद प्रवृत्ति हो भने माक्र्सवाद के हो ?’ जवाफमा सुरेश सरले ‘माक्र्सवाद दर्शन हो’ भने । यही विषयमा दुईजनाको घनिभूत छलफल भएको अहिले सम्झिन्छु । माक्र्सवाद एउटा व्यक्तिसँग गाँसिएको छ । तर ब्राम्हणवाद व्यक्तिसँग होइन, एउटा जात र समुदायसँग सम्बन्धित कुरा हो । ‘माक्र्सवादलाई दर्शन र ब्राम्हणवादलाई प्रवृत्ति’ भन्नु गलत हो भन्थे खपाङ्गी सर । प्रवृत्तिलाई सबैले बुझ्ने सरल भाषामा भनेका थिए । “गाउँघरमा कुलत, विकृत मानसिकता भएको मान्छेहरु जुवाडे, जड्याहा, झगडिया समुह, गुटमा हुन्छन् । जस्तैः पाँचदेखि दशजनाले सधैँ जुवा खेल्छ, जाँडरक्सी पिउँछ, निहुँ खोजेर झगडा गर्छन् भने त्यो प्रवृत्ति हो । यदि सिंगो ब्राम्हणवादी शासनबाट पाँचजना मात्रै आदिवासी जनजाति पीडित छन् भने त्यसलाई प्रवृत्ति भन्न सकिन्छ तर सिंगो आदिवासी जनजाति समुदाय नै पीडित छन् भने त्यो प्रवृत्ति नभएर दर्शन नै हो ।“

‘ब्राम्हणवादको साटो पुरेतवादको प्रयोग गर्न उपर्युक्त देखिन्छ’ खगेन्द्र संग्रौलाले दिएको सुझावप्रति पुरेत्याई कर्मकाण्डले मात्रै आदिवासी जनजातिलाई पीडित बनाइएको भए यसलाई पुरेतवाद मान्न सकिन्थ्यो । पुरेत त ब्राम्हण समुदायको एउटा सम्प्रदाय हो । कर्मकाण्डको प्रतिष्ठालाई पुरा गर्छ । सबै ब्राम्हणले पुरेत्याई गरेको पाइदैन । ब्राम्हणवादलाई पुरेतवाद, प्रवृत्ति मान्नु भनेको लेनिनकै भाषामा ‘मूल बाटो छोडेर बङ्ग्याइयो भने त्यो संसोधनवाद हो’ भनेका थिए ।

आदिवासी नेता, बुज्रुक बुद्धिजीविहरुले ब्राम्हणवाद आदिवासी जनजातिभित्र पनि छ भन्ने काइते तर्क र पत्रकार अरुण बरालको बाहुनवाद पुस्तकको पेटबोलिप्रति खपाङ्गी सरले दाह्री मुसार्दै भनेको सधैं सम्झन्छु – जनजातिले पनि दलितले छोएको खाँदैन । सोही बिषयलाई लिएर बाहुनहरूले जनजातिभित्र पनि बाहुनवाद छ भन्नु सर्वथा बेठिक छ । धनी आदिवासीले आफ्नो समाजभित्र त कसैलाई बार्दैन । आदिवासी जनजातिको कुन दर्शनले राज्यको मुल कानुन, ऐन, नियम बनेर शाषन गरेको छ ? आदिवासी जनजातिभित्र बाहुनवाद छ भन्नुको तात्पर्य ‘मूल विषयलाई बङ्ग्याइएर दिग्भ्रमित पार्नु हो ।’ त्यसैले आदिवासी जनजाति नेता कुहिरोका काग झैं रुमल्लीएका छन् ।

(२०८१ भदौ ११ गते गोरेबहादुर खपाङ्गी मगरको आठौं स्मृति दिवस सन्दर्भमा ।)

laaphaa@gmail.com

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!