काठमाडौँ ९ सेप्टेम्बर २०२४ । ‘कुनै दिन अवश्य पाउने छौँ, कुनै दिन अवश्य रुनेछौँ’ सरोज बाँस्तोलाले रचेको यो गीत तीन दशकअघि सङ्गीतकार ओमविक्रम विष्टको हातमा परेको थियो । उनले उक्त गीत आफ्नै आवाजमा रेकर्ड गरे । तर, सार्वजनिक भने गर्न पाएन ।
यत्तिकै थन्किएर बसेको तीस वर्ष पुरानो गीतलाई अर्का गायक योगेश्वर अमात्यले जीवन्त बनाउन चाहे । गीत सङ्गीतको क्षेत्रबाट १२ वर्षसम्म मौन बसेका गायक अमात्यले यही थन्किएको गीत आफ्नो आवाजमा रेकर्ड गरेका छन् । आफ्नै युट्युबमा गीत सार्वजनिक गर्नुभएका गायक अमात्यले भने, “ओम दाईले मेरै लागि थाति राखे जस्तो लागेको छ ।”
गीतलाई गायक अमात्यले पुनः एरेन्ज गरी आफ्नो आवाजमा रेकर्ड गर्नुको साथै श्रव्यदृश्यसहित प्रस्तुत गरेका छन् । गायक अमात्यका ‘जब सन्ध्या हुन्छ,’ ‘लैजा चरी,’ ‘सिन्धुली गढी,’ ‘म मरे पनि मेरो देश,’ ‘मलाई प्यारो लाग्छ’ जस्ता कालजयी गीत लोकप्रिय छन् । गायक अमात्यको यस नयाँ गीतले दर्शकलाई पुनः उहाँप्रति आकर्षित गराउने विश्वास व्यक्त गरेका छन् । सङ्गीतकार विष्टले अमात्यको गीत सार्वजनिक भएपछि तीस वर्ष निर्जीव भएको गीतले जिवन्तता महसुस गरेको बताए ।
‘कुनै दिन’ गीतको श्रव्यदृश्यमा सुव्रत आचार्यको कन्सेप्ट र निर्देशन रहेकोछ भने क्रिएटिभ निर्देशक जया शर्मा रहेका छन् । श्रव्यदृश्यमा कलाकार प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकाश लामिछानेले अभिनय गरेका छन् । श्रव्यदृश्यमा आशिम रानाभाटको विशेष उपस्थिति रहेको छ ।
श्रव्यदृश्यको निर्माण व्यवस्थापन दीपेन्द्र गौतमले गर्नुभएको छ । यसमा सह निर्देशन साईव्रत आचार्यको छ । उत्सव दाहालले छायाङ्कन गरेको श्रव्यदृश्यका सम्पादक तथा रङ संयोजक विकास दाहाल छन् । गीतमा गोपाल रसाइलीले सङ्गीत संयोजन रहेको छ ।






