काठमाडौँ १४ सेप्टेम्बर २०२४ । राष्ट्रपति रामचन्द्र पौडेलले अभिनेता विराज भट्ट, गायिका टीका पुन, गायक लालबहादुर धामी, साहित्यकार राजेन्द्रसिंह रावल, खेलाडी दीपक विष्ट, देउडा गायक नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्रबहादुर साउदसहित दश जना स्रष्टालाई सम्मान गरेका छन् ।
सांस्कृतिक समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रममा सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएका उनीहरुलाई सम्मान गरिएको हो । राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गरे ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि सहभागी थिए । कार्यक्रममा समाजका अध्यक्ष रामप्रसाद अवस्थीले गत वर्षदेखि सुरु गरिएको स्रष्टा सम्मान तथा देउडा महोत्सवलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।






