
समय अचेल विश्वभरिकै मान्छेका विविध कारणहरुले किम्ती हुने गरेको देखिन्छ । त्यसैमा मेरो पनि परेको छ । जुन पुस्तक पढिसक्दा लागेका कुराहरु, पुस्तक आफैमा मध्यम गुणस्तरीय कागजमा उतारिएको रहेछ तर आवरण भने उच्चस्तरको छ ।
पुस्तकलाई नियात्राका २२२ पृष्ठभित्र दस-बीस सूचीका थुङ्गाहरुमा उनिएको माला जस्तै छ, यात्राले भोगेका क्रमहरु नै नियात्रा हुन् र लेखिएका धेरै ठाउँहरु धेरै भए पनि विशेष दुई भागमा बाँडिएको पाइन्छन् जसमा युरोप र एसिया ।
लेखिकाको यात्रा नागबेलीजस्तै रहेछन् कहिले युरोप त कहिले एसिया दोहोर्याई-तेहर्याई । यात्रा त्यत्तिकै हुँदैन । केही उद्देश्य अवश्य भए पनि अन्ततोगत्वा त्यो उद्देश्यले जनमानसलाई के दियो भन्ने चाहिँ मुख्य कुरा हुन् ।
ती एसिया यात्रामा परेका हङकङ र नेपाल नै परेका छन् । नियात्रामा रङ्गमन्च, रमझममात्र छैनन् कि नेपाल भित्रको यात्रामा उनिको बाल्यकालदेखि त्यहाँ रहिन्जेलसम्मका कुराहरु साथै स्थानीय जनजीवनका आस्था-विश्वासका मिथक-लोकोक्ति, आख्यानहरु र निश्चित जातिका पहिचान र स्तित्वका मुन्धुमी आधारशिला जसले सदियौँदेखि आफ्नो उद्गमभूमि र स्थल हो भन्ने ठाउँ तमोरलाई उजागर गरेको पाइन्छ । हुन त तमोर शब्द यदाकदा तमुर, तम्मुर, तम्बर, तम्बोर सुनिने हुँदा खाँटी के हो ? भन्ने अझै प्रश्न रहेझैं लाग्छ ।
युरोपेली यात्राले पूर्वीय र पश्चिमेली युरोप बीचको फास्लामात्र नभई विविध विषयउपर उल्लेख र सामान्य तर गहन ऐतिहासिक कुराहरुलाई बाहिर उतारेकी छिन् । जुन कुराले त पहिलो विश्वयुद्धले नेपालीको ज्यानको आहुति लिएको वा पहिलो विश्वयुद्धमा नेपालीको योगदान कि के हो ? भन्ने कुरालाई सबैको सामु प्रश्न राखेको छ । समग्रमा, पहिलो विश्वयुद्धको संक्षिप्त इतिहासमा सहादत प्राप्त नेपाली छोराहरुको नामावलीदेखि त्यस युद्धमा कुन देशका के कति हताहत भएका दर्दनाक आवरणमा देखाएको विवरण ।
युरोपका विविध मुख्य विषयका इतिहास मध्य मोनालिसाको बारे, आईफल टावर के हो ? फ्लान्डर्स फिल्ड र युरोपको गोर्खाली समाधिस्थलको वीर योद्धाको सालिक निर्माता को हुन् भन्नेबारे विस्तृत विवरण । त्यस्तै पूर्वी नेपालको रमणीयस्थल धरानको पहिलाको नाम के थियो ? बिजयपूर कसरी भयो ? देखि हाल धरानको ब्रिटिस छाउनिको बारे साथै आज ती त्यस्ता चन्द्रपूर र भोटेचौर स्थलहरु धरानका कता कसरी लुप्त भए ?
यति मात्र नियात्राले देखाउँदैन कि आफ्नो देश नेपालले केही निम्न काम गर्नु पर्दा भोग्नु पर्ने सास्ती । जहाँ देशको कर्मचारी र कार्यालय राष्ट्रिय संयन्त्रको दिक्दारी खेपाइको पराकाष्ठाले जन्मभूमि प्रतिको नैराश्यपन पनि उदाङ्गो बनाउन खोजेको पाइन्छ ।
अन्तमा, यी इतिवृतान्त प्रश्न, जिज्ञासा र कौतूहलताहरुको प्रत्युत्तरको लागि पुस्तक खोजी खोजी पढ्नु नै यसको निराकरणको मूल उपाया हुनेछ । पुस्तक सन्देश र सूचनामूलक रहेकोले भावीपुस्ता र अन्वेषकका लागि सहयोगी र ऐतिहासिक दस्तावेज हुने विश्वास लिएको छु । यो पुस्तकले कुनै बेलाको मेरो आफ्नै काज भ्रमण क्रमश: चाराली, ईलाम-लभडाँडा, राँके भञ्ज्याङ, फेदेन, भारापा, गोपेटार, परेवाडाँडा, अठार घरधुरी बगाउने सिनामे पहिरो र काबेली खोलामा पौडी खेल्दै र दुवाली फर्काउँदै भुरा माछा मारेको याद नदिलाएको होइन र यो पुस्तक अति सरल भाष्य र लोकलयको प्रयोग नै सालिनताको चिनारी हो ।
हुन त, यस्तै प्रकृतिका सरल लाग्ने पुस्तकहरु मैले हेरेकाहरु दमिनी भिर-राजन मुकारुङ, तीन चुल्हा-सचित राई र आधा जून-झलक सुवेदीका पर्दछन् । तर यो पुस्तकले आफ्नै मौलिकता बोकेको पाएँ । खुसी लाग्यो। उदीमान लेखिका जानु काम्बाङ लिम्बुज्यूलाई हार्दिक बधाई र अन्य लेख, रचना र पुस्तकका लागि जाँगरका खाँचो नपरुन् मेरो शुभकामना र शुभेच्छा ।






