राष्ट्रिय चलचित्र पुरस्कार २०८० : कुन विधामा क-कसले पाए ?

SHARE:

काठमाडौँ २७ नोभेम्बर २०२४ । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ बुधबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डद्वारा शीतलनिवासमा आयोजित कार्यक्रममा चलचित्रका विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिमार्फत नेपालको प्रकृति र संस्कृति समेटेर अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्र निर्माण गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको महत्वपूर्ण एक अङ्ग चलचित्र रहेको बताए । सो क्रममा राष्ट्रपति पौडेलले ‘दीर्घ साधना सम्मान’ बाट अभिनेत्री चैत्यदेवी सिंहलाई नगद रु तीन लाख ७५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका । नेपालको पहिलो चलचित्र ‘आमा’ मा अभिनय गरेकी अभिनेत्री सिंहले आफूले पाएको सम्मानले नयाँ उत्साह थपेको बताइन् ।

सो कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ तर्फ उकृष्ट चलचित्र ‘बुलाकी’ घोषित भयो । यस्तै अभिनेतातर्फ चलचित्र ‘प्रसाद २’ बाट बिपीन कार्की, अभिनेत्रीतर्फ ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का, निर्देशकतर्फ चलचित्र ‘दिमाग खराब’ बाटै निश्चल बस्नेत, सम्पादकतर्फ चलचित्र ‘महाजात्रा’ बाट मित्रदेव गुरुङ, छायाँकारतर्फ चलचित्र ‘बुलाकी’ बाट शिव ढकाल, लेखन (कथा, पटकथा, संवाद) तर्फ चलचित्र ‘बुलाकी’ बाट राजबाहदुर साने पुरस्कृत भए ।

यस्तै, आदिवासी, जनजाति, मातृभाषी चलचित्रतर्फ लिम्बू भाषाको चलचित्र ‘लोजिमा’ र व्यावसायिक सफल चलचित्र ‘जारी’ उत्कृष्ट घोषित भयो । निर्णायक समितिको तर्फबाट चलचित्र ‘टुल्की’ की अभिनेत्री स्वस्तिमा कार्कीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । उनीहरूलाई राष्ट्रपति पौडेल, सञ्चारमन्त्री गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरे ।

‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा तेस्रो पटक उत्कृष्ट अभिनेता घोषित भएका अभिनेता विपिन कार्कीले यसको महत्व छुट्टै हुने बताए ।

कार्यक्रममा लक्ष्मण सुवेदीले निर्देशन गरेको ‘सतीदेवी’, लिम्बू भाषाको चलचित्र ‘सुगुप’ र गुरुङ भाषाको चलचित्र ‘मार्कली’ लाई ‘विशेष चलचित्र’ घोषणा गरिएको थियो । यस्तै, विसं २०६१ असोज १० गते चलचित्रको प्रिन्ट (रिल) ढुवानीका क्रममा सडक दुर्घटनामा परी ज्यान गुमाएका प्राविधिक सूर्यमान तुलाधरलाई ‘विशेष योगदान सम्मान’ सहित नगद रु ५० हजार प्रदान गरिएको थियो । उक्त सम्मान स्वर्गीय तुलाधरकी श्रीमती अनिता तुलाधरले ग्रहण गरिन् ।

उक्त कार्यक्रममा कलाकार त्यैयव शाह, विद्या कार्की, बुद्धी तामाङ, निर्माता तथा प्रदर्शक नरेन्द्र महर्जनसहित ११ जनालाई ‘विशेष योगदान सम्मान’ प्रदान गरिएको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले बनाएको योजना र गरिरहेको कामको नतिजा केही समयमा देखिने बताए ।

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ को निर्णायक समितिको संयोजक निर्देशक बद्रीबहादुर अधिकारी र सदस्यमा बोर्ड सदस्य रविचन्द्र अधिकारी, कलाकार सुशील, छायाँकार गौरीशङ्कर धुजु, सवनम मुखिया, निर्देशक दीपा पाण्डे बस्नेत र सोमप्रसाद खतिवडा थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!