चकमन्न रात [कविता]

SHARE:

बाहिर निस्पट्ट, चकमन्न अँध्यारो होस्
पारि जङ्गलतिर स्याल कराइरहोस्
आकाशमा बिजुली चम्कियोस्
आकाश गर्जिँदै मूसलधारे वर्षा होस्
झाडीतिर भ्यागुटोको ट्वार-ट्वार
सुन्न पाइयोस्
पानीका बुदहरु घरका छानामा बज्रिरहोस्
बलेनीबाट झरेका पानी बलेसी हुँदै
खोल्सीतिर बुर्कुसी मार्दै बगोस्
खोला खोल्सी उर्लेर छङछङ आवाज
मेरो कानमा गुन्जीरहोस्
गाउँभरि कुकुरहरु भुकीरहोस्
बेला बेलामा हावाहुरीको झोक्काले
झ्याल-ढोकालाई ढकढकाईरहोस्

हरेक बिहानी कुखुरीको कुखुरीकाँ
मेरो कानले सुन्न पाइयोस्
भकारोमा गाई भैंसीले घाँस
चपाउँदै गरेको देख्न पाइयोस्
बिहान पख पूर्वमा लाली चढोस्
घरको ढोका उघारेर हेर्दा
उत्तरतिर झलमल्ल हिमाल हाँसीरहोस्
चराचुरुङ्गीले चिरबिर गर्दै
खुल्ला आकाशमा स्वतन्त्र
पङ्खा फिजाइरहोस्
आहा ! त्यो चकमन्न अँध्यारो रात
त्यो झलमल्ल सुनौलो बिहान
मैले यो सहरमा
किन्न चाहेर पनी किन्न सक्दिनँ
ल्याउन चाहेर पनि ल्याउन सक्दिनँ ।

यो सहरमा जब रात पर्छ
सम्साँझै सहर झिलिमिली बल्न थाल्छ
पब डिस्कोतिर अतिरन्जित संगीतमा रक्सीका प्यालाहरु रित्तिरहेका हुन्छन्
झलमल्ल सहरको उज्यालोमा
गाडीको घ्यारघुर कोलाहलभित्र
मान्छेको भीडभाडभित्र
साँझपख झ्याँउकिरीले गीत गाउनै पाउँदैन
गाउँमा झै चकमन्न अन्धकार रात हुनै पाउँदैन जुनकिरीको टिलपिल देख्नै पाइँदैन
जमिन भित्रभित्रै बग्ने ढल निकासले
झरी पर्दा
बलेसीमा पानी बगेको देख्नै पाइँदैन
खोला खोल्सी सुसाएको सुन्नै पाइँदैन ।

भालेको डाँकोको सट्टा
अलरामले ठाउँ लिएपछि
बिहानी पख भालेको कुखुरीकाँ
सहरमा सुन्नै पाइँदैन
अझै यो बिरानो मुलुकमा
हिमाल हाँसेको देख्नै पाइँदैन
कोइलीको कुहुकुहु सुन्नै पाइँदैन
न्याउलीको विरह भाका सुन्नै पाइँदैन
सहरले मान्छेलाई दासी बनाएको छ
सहरले मान्छेलाई स्वार्थी बनाएको छ
सहरले सबैलाई पैसा पैसा भन्दै
माछा माछा भ्यागुतो बनाउँदै
दासी बनाएको छ ।

यद्यपि !
अरु त खै
त्यो सुनसान चकमन्न रातको कल्पना गर्दै
झ्यालको पर्दा बन्द गर्नु परेको छ
अझै !
त्यो सडकको ल्याम्प पोस्टबाट
जबर्जस्त !
मेरो कोठामा प्रकाश छिर्ने हिम्मत गर्दै छ
मेरो चकमन्न अँध्यारो रातको हत्या गर्दै छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!