यात्रा संस्मरण : हङकङे भेटघाटको स्वाद !

SHARE:


भेटघाट भन्ने कुरा एउटा पक्षले चाहेर हुन्न । कसलाई भेट्ने वा नभेट्ने भन्ने कुरा गाह्रो कुरा हो ।
घटीमा पनि मन हुनुपर्‍यो र समय हुनुपर्‍यो । त्यसपछि आउँछ…अन्य कुराहरू । भेट्न मन लागेर पनि समय नहुने संख्या धेरै देख्दछु । भेट्न मन लाग्ने तर यो वा त्यो भनी ससानो ईगो, लिएर नभेट्ने पनि हुन्छन् ।
केही दिनुपर्छ भनी नभेट्ने पनि हुन्छन् । कति दुःख दिइरहने भनी नभेट्ने पनि हुन्छन् । मेरो फोन वा टेक्सको जवाफ आएन भनी नभेट्ने पनि होलान् । भेट्न मन लागेर पनि छुट्टी नहुनेहरू पनि छन् ।
भेट्न मन लाग्ने तर आफूलाई बेवास्ता गरेकोमा चित्त दुखाउने पनि हुन्छन् । गाल जोगाउनको लागि, चेपारे पार्न, काम परेर, दबाबमा परेर…कति औपचारिकता निभाउन र कति मनैबाट भन्ने पनि हुनुपर्छ ।
मलाई लाग्दछ धेरैलाई चिमोट्ने यसैले हो। नसा (Pressure Point) यही छ । मलाई केमा राख्नुहुन्छ र तपाईंलाई यहाँ कहाँ पाउनुहुन्छ त ?

फुपूलाई युङ्लुङ्मा भेट्नु मायाले हो । उहाँको खुट्टा समाएर ढोग्दा र अँगालो मार्दा मलाई स्वर्गीय आनन्द आउँछ । उहाँको आशीर्वादले म बलियो हुन्छु । प्रत्येक पटक भेट्दा अर्को पटक पनि भेट्न पाए हुन्थ्यो झैं लागिरहन्छ। उहाँलाई मैले के उपहार दिएँ वा उहाँले मलाई के भौतिक उपहार दिनुभयो भन्ने कुराले डिटेक्ट गर्दैन । उहाँको भौतिक शरीर रहेसम्म हङकङ आउँदा छुटाउन चाहन्न । फुपू र पानबहादुर पुसाज्यू (उहाँहरू) सम्माननीय हुनुहुन्छ । तर आज म भेटघाट मध्ये अहिलेसम्म तीनजनालाई केन्द्रमा राखेर लेख्न अनुमति चाहन्छु । भान्जा, मामा र मोती…

१) बहिनी-ज्वाइँलाई र १३ वर्षको भान्जालाई भेट्न गएको थिएँ । साँझ ८:२० भएको थियो । उ बास्केटबल खेल्न गएछ । उसले मामालाई (मलाई) नभेटी नजानु भनी खबर गरेछ । ९ बजे आइपुग्यो । हतारहतार थोरै मात्र खायो ।

बज्यै, बाबा र आमाले बढी खाईदिए हुन्थ्यो भन्ने तर उ कन्सियस भइसकेछ । ऊ कुराकानी गर्न चाहन्थ्यो ।
मैले संवादका लागि गुरूङ,नेपाली, चाइनीज र अंग्रेजीमा कुन भाषा सहज हुन्छ भनी सोधेँ। उनले फ्याट्टै अङ्ग्रेजी भनिहाले ।

कुन विषयमा रूची छ भनेँ । उनी विज्ञान…Astronaut …मा रूची छ रे । बढो घत्लाग्दो कुरा गर्ने र गुगल गरेर प्रश्न गरिरह्यो । यो जेनेरेसनको टिनेजले यसरी चासो लिएको गज्जब लाग्यो । बेलुकी १० बजेको थियो । अरू बिहानै काममा जाने…समयको पावन्दी …हामी छुट्नुपर्‍यो । भान्जाले केही गर्लान् भन्ने लागेको छ। मलाई आनन्द लाग्यो ।

२) दिल मामा – बाँगे स्याङ्जा । उहाँ बाँगेको हुनुहुन्छ । ठूलो पहिरो जाने बेला, वि.सं. २०२९ सालमा म बाँगेमा थिएँ । पहिरोले ठूलो क्षति गर्‍यो । पीडितलाई उबेला राहत दिइएको थियो । मेरो बुडो बाजे-बज्यै सती मरण हुँदा बाँगेमा नै थिएँ र देखेँ ।

झन्डै एक घन्टाको फरकमा बाजे-बज्यै गुमाएको असाध्यै दुर्लभ घटनाको साक्षी मेरो आमा र म थियौ । (बाँगे-आमाको मावलीतिर नारायण सोल्टी हुन् भने गोर्खा मेजर स्व नरकाजी र घनबहादुर बाजेहरू स्वाभाविक सती मरण लिनुभएका बाजे बज्यैका आफ्नै भान्जाहरू हुन्।)

बाँगे मलाई धेरै प्यारो लाग्दछ । दिल मामाले उहाँ जापान कल्चर भिसामा जाने बेला ५०० रूपैयाँ दिनुभएको थियो । त्यसपछि यो पटक उहाँलाई भेट्न पाइयो । एउटा केही गरौ भनी भौतारिरहेको स्ट्रगलिङ्ग (struggling) फेजको विद्यार्थीको लागि ठूलो उपहार थियो । त्यो पैसाले तो क हान्यो ।

म उहाँलाई अवश्यक परेको बेला गुन तिर्न चाहन्छु । उसो त गुन धेरै थरीका हुन्छन् ।
भनिन्छ, मान्छे चिन्ने -‘घाटमा, अदालतमा र तोकमा’
दिल मामाबाट अनअपेक्षित ५०० रूपैयाँको तोक ! त्यो हिसाब किताबको थिएन, पछि फर्काउला भन्ने थिएन, गुणगान गाइदेला भन्ने थिएन र दयालु भन्देला भनी दिनुभएको पटक्कै थिएन ।
त्यो माया थियो- अनकन्डिस्नल लभ (unconditional love)को एउटा अंश थियो । आभार प्रकट गर्छु मामा । मलाई मौका दिनुहोला । उहाँसँगको भेटघाट एकदम आनन्दमयी थियो । सम्बन्धको रिन्यु थियो।

३) मोती – हितैषी साथी र सहपाठी मोतीलाई कतिपयले अश्वाभिक, अव्यवहारिक र एकोहोरो कुरा गर्ने भन्नेहरू पनि छन् । कतिपय कुरामा सही पनि हुन सक्छ । त्यसोमात्र भन्दा उनलाई अन्याय हुन्छ । उनलाई नबुझ्नु वा आंशिकरूपमा बुझ्नु हो जस्तो लाग्दछ ।

नेपालमा पनि सरकारी जागिरको अनुभव लिएको व्यक्ति हो । पढाईमा तेज थियो । उनीसँग चेस खेल्न नडाराउने नेपाली कमै होलान् । उसो त उनी २०४६ सालको नेपाल शतरन्ज च्याम्पियनमा तेस्रा भएका हुन्- अहिलेको हिसाबले दोस्रा ।

धेरै किताब पढेका र हरदम केही न केही प्रयोग गरिरहन्छन् । उनी असाध्यै महत्वकांक्षी व्यक्तित्व हुन् । समयलाई युटिलाईज गर्न चाहन्छन् । लोभ नगर्ने, ईमान्दार,समयको महत्व बुझ्नेले हिसाबकिताब गरिहाल्दछ नै ! क्यान्टोनिज (Cantonise) विश्वको सबैभन्दा गाह्रो भाषा मानिन्छ। यो भाषा पढ्ने र लेख्ने मेरो पुस्ताका मान्छे उनीबाहेक देखेको छैन। (अहिलेका हङकङे नेपाली नानीहरू यताको जाने तापनि उताको जान्दैनन्)
किनभने क्यान्टोनिजमा स्ट्रोक, र्‍याडिकल, धेरै क्यारेक्टर र भिन्नाभिन्नै क्यारेक्टरहरू मिली टर्महरू बन्छन् र अर्थ फरक हुन्छ।
अहिलेको जस्तो एप्सहरू पाएमा उनी माथिल्लोस्तरका ज्ञाता बनी सक्दथे । सायद उनलाई राज्यस्तरबाट केही समय दिएर भूमिका दिइएमा नेपालीको लागि यासेस्ट (Assest) बन्न सक्दछ। झन्डै १ लाख बस्ने हङकङे नेपालीहरू र चिनियाँहरूलाई ब्रिजिङ गराउन नसकेको हो कि भन्ने लागिरहेको बेला मोतीजस्तै दक्षता लिएकाहरूबाट काम लिन सकिन्छ कि ?

परिस्थितिले दोस्रो घरबार गर्नु परेको मोतीको ठूला तीनजना नानीहरू हुर्किसकेका छन् । साढे दुई वर्षको बाबु उनको जोडीको सेतु बनेर जन्मेको छ । मनग्गै कमाइसकेकोले त्यति पीर गर्दैनन्, मोती । तर नयाँ च्यालेन्जलाई स्वीकार्दै अघि बढ्दैछन् – पोखरा-आर्मले मोती घोथाने ! पचासको उत्तरार्द्धमा सिभिलको नम्बरी मोती भेट्दा औधी खुशी लाग्यो। नाताले कुटुम्ब परे पनि कुनै दाजुभाइभन्दा टाढा छैनौं । भेट्न आयौ धेरै धन्यवाद छ ।

हङकङमा कसलाई भेट्ने वा नभेट्ने भनी निधो नभएको भड्केको ज्वालामुखीरूपी मनलाई हतारमा पोखेँ ।

भनिन्छ – तस्बिरमा सँगै भएकाहरू आफ्ना हुन्नन् । तर तक्दिरमा भएकाहरू मात्र आफ्ना हुन्छन् रे । जतिलाई भेटे सबै नियरेस्ट र डियरेस्ट होइनन् । तर विशेष चाहिँ अवश्य । तपाईंहरू छुटेमा मेरो मात्र गल्ती हुन्न है ।

नभेटेकाहरू तक्दिर वा भाग्यमा रहेनछ भनेर बुझ्नुहोला ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!