काठमाडौंमा १६ मेदेखि १८ सम्म पहिलो सगरमाथा संवाद, नेपाली दूतावास लन्डनद्वारा प्रचारप्रसार

SHARE:


लन्डन १३ मे २०२५ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको नेपाली दूतावास लन्डनले प्रचारप्रसार गरिरहेको छ ।

दूतावासले आफ्नो आधिकारिक वेबसाइटमा आइतबारदेखि विज्ञापन राखेर प्रचार गरेको हो । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद १६ देखि १८ मे (जेठ २ देखि ४ गते)सम्म काठमाडौँमा हुँदैछ । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस ८ गते काठमाडौँमा सगरमाथा संवाद हुने घोषणा गरेका थिए । त्यस्तै गत माघ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्ने निर्णय भएको थियो भने फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट संवादको अवधारणापत्र स्वीकृत गरी सचिवालय स्थापना गरिएको थियो ।

संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

प्रचार प्रसार समितिका संयोजक क्षेत्रीले समसामयिक विश्वका जल्दाबल्दा मुद्दाहरूमा राष्ट्र÷सरकार प्रमुखहरू, मन्त्रीहरू, सांसदहरू, नीति निर्माताहरू, विज्ञहरू, सञ्चारमाध्यम, व्यापारिक समुदायलगायतबीच नेपालमा बहुसरोकारवाला, अन्तर–क्षेत्रीय विश्वव्यापी संवादका लागि उपयुक्त मञ्च उपलब्ध गराउनु संवादको उद्देश्य रहेको जानकारी दिए ।

संवादमा झण्डै ४० देशका १५० बढी विदेशी पाहुनाको सहभागिता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । “विदेश पाहुनामध्ये केही उच्च राजनीतिक व्यक्तित्वदेखि विदेशमन्त्री, वन तथा वातावरणसम्बन्धी मन्त्री, उच्च सरकारी अधिकारी, दातृ निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखहरू, शैक्षिक व्यक्तित्व, जलवायु विज्ञलगायत हुनुहन्छ”, प्रचार प्रसार समितिका संयोजक क्षेत्रीले भने ।

काठमाडौँको होटल सोल्टीमा हुने संवादलाई सफल बनाउन अन्तरराष्ट्रिय मापदण्डअनुसार सबै तयारी गरिएको छ । संवादमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी करिब चार सय विशिष्ट व्यक्तित्वको सहभागिता रहने बताइएको छ । संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक उच्चस्तरीय प्लेनरी छलफल हुने, विभिन्न विषयमा १२ वटा समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको सचिवालयका सदस्यसचिवसमेत रहनुभएका वन मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए । तेस्रो तथा अन्तिम दिन हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छभने संवादको काठमाडौँ घोषणा जारी गरिने छ ।

संवाद नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि समेत उपयोगीसिद्ध हुने बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइने छन् । “संवादमा खासगरी हिमालबाट समुद्रसम्म परिरहेका असर, दिगो हरित अर्थ व्यवस्था, जलवायु हानिनोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारीलगायत विषयमा छलफल गरिने छ”, सहचिव डा ढकालले भने । सरकारले संवादमा हुने छलफल, मन्थन, संवादबाट निस्किने निचोड तथा निष्कर्षलाई नीति निर्माणमा समेट्ने जनाएको छ ।

सगरमाथा संवाद एक बहु–सरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ । एक मञ्चको रूपमा, यसले सकारात्मक परिवर्तनका लागि बहसलाई आकार दिन र अगाडि बढाउन सक्ने सरोकार, प्रभाव र क्षमता भएका समाजका बृहत् तप्काका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको हो । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो ।

विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून छ । तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । बढ्दो जलवायु परिवर्तनका असर, वायु प्रदूषणलगायत विश्वव्यापी सङ्कटले नेपालजस्ता अल्पविकसित, हिमाली देश र यहाँका नागरिक आक्रान्त् छन् । यस परिस्थितिमा संवादले जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन तथा सामूहिक कल्याण प्रवर्द्धन गर्ने विश्वव्यापी प्रयासमा योगदान गर्न सक्ने एक जीवन्त संवाद मञ्चको रूपमा आफूलाई प्रमाणित गर्ने उद्देश्य राखेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!