लन्डन । तमु धीं यूकेले यही ३० अगस्टमा आयोजना गर्ने १७ औं नेपाली मेलाबाट बचत हुने सम्पूर्ण रकम नेपालका बाढीपीडितका लागि दिने निर्णय गरेको छ ।
फार्नबरोमा बिहीबार बसेको आकस्मिक बैठकले मेला पूर्वनिर्धारित समयमा गर्ने र बचत रकम भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको मेलाका संयोजक एवम् उपाध्यक्ष कमल गुरुङले जानकारी दिएका छन् । उनले मेलालाई सामूहिक रुपमा शोकलाई शक्तिमा बदल्ने हिसाबले मनाउने तयारी भएको बताए ।
अध्यक्ष जुमकाजी गुरुङले बेलायतवासी सम्पूर्ण नेपालीलाई मेलामा सहभागी हुन पुन: अपिल गरे । १७ औं नेपाली मेला लन्डनको केम्पटन पार्क रेसकोर्समा बिहान १० देखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ ।






