काठमाडौं । गोरेबहादुर खपाङ्गी फाउण्डेशनको आयोजनामा राजनीतिज्ञ तथा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी मगरको १०औं वार्षिक स्मृतिसभा सम्पन्न भएको छ ।
काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबार मानवशास्त्री प्राडा डम्बर चेम्जोङको प्रमुख आतिथ्यतामा स्मृतिसभा सम्पन्न भएको हो । कार्यक्रम उद्घाटन गर्दै चेम्जोङले खपाङ्गी मगरको तस्बिरमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्राडा डम्बर चेम्जोङले गोरेबहादुर खपाङ्गी मगरले देश र समाजमा विद्यमान एकजातीय वर्चश्वविरुद्ध संघर्ष गर्नु ठूलो योगदान भएको स्मरण गरे । वर्तमान परिप्रेक्ष्यमा राज्यको सबै निकायमा एकजातीय वर्चश्वले गोरेबहादुर खपाङ्गी मगरको विचार पुष्टि भएको उनले उल्लेख गरे ।

सभामा भिक्षु मेधङ्कर स्थवीर, विशेष अतिथिहरु पूर्वमन्त्री डा. केशवमान शाक्य, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष शान्ति देवान, गौरीशङ्कर उच्च माध्यमिक विद्यालय रामेछापका पूर्वप्रधानाध्यापक नीरबहादुर कार्की तथा नेपाल मगर संघका पूर्वमहासचिव लोकबहादुर थापा मगरले मन्तव्य दिएका थिए ।
हुमबहादुर थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य फाउण्डेशनका सल्लाहकार सञ्जोग लाफा मगरले राखेका थिए । कार्यक्रम संचालन सचिव खड्ग सारु मगर गरेका थिए ।

कार्यक्रममा विभिन्न मगर संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू र विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
स्मृति दिवस महोत्तरी जिल्ला, नेपाल मगर संघ केन्द्रीय समिति भवनमा पनि आयोजना गरिएको थियो ।






