संजय सिङ्जाली मगर – नेपाल
नेपालको राजनीति फेरि एक पटक दिशाहीनताको नयाँ मोडमा उभिएको छ। विचारभन्दा शक्ति, संगठनभन्दा व्यक्तिको अहम, र मुल्यभन्दा मोहर हेर्ने प्रवृत्ति न केवल ठूला दलहरूमा देखिएको छ, साना र वैकल्पिक भनिएका पार्टीहरूभित्र पनि त्यसको विषाणु फैलिएको छ।
आज देशको कुनै कुनामा जनता तितरबितर छन्, सडकमा महँगी र बेरोजगारीको चापमा बेस्सरी मार खेपिरहेका छन् । तर नेताहरू सत्ताको मलामीमा लफडा गरिरहेका छन्। यही सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीभित्र अध्यक्ष केपी पालुवा र कार्यकारी अध्यक्ष केशव सूर्यवंशी मगर बीच देखिएको विवाद नेपालका वैकल्पिक दलहरूको गहिरो रोगको लक्षण हो जहाँ न विचार छ, न उत्तरदायित्व, न अनुशासन, न भविष्यप्रतिको इमानदार सोच।
केपी पालुवा पार्टीको नेतृत्वमा दशकभन्दा बढी समयदेखि छन्। उनको योगदान नकार्न सकिँदैन तर समस्या यतिबेला सुरु हुन्छ, जब नेतृत्व दीर्घकालीन हुन्छ तर उत्तराधिकारी उत्पादन हुँदैन। केशव सूर्यवंशी मगरलाई उनले कार्यकारी अध्यक्ष बनाए यो राम्रो संकेत थियो। तर त्यो जिम्मेवारी ‘दिए जस्तो गरेर’ रोक्ने काम भयो, सुम्पिने होइन।
उता, केशव सूर्यवंशी पनि नेतृत्वमा आउन आतुर देखिए, तर उनले संस्थागत प्रक्रिया र परिपक्वताको बाटोभन्दा सिधा टकरावको बाटो रोजे। युवा शक्ति पुरानो नेतृत्वको विकल्प बन्न सक्छ, तर त्यो विकल्प सशक्त र सम्वेदनशील हुनुपर्छ आत्मकेन्द्रित र आक्रोशपूर्ण होइन।
राजनीति कुनै व्यक्तिको जागिर होइन, यो विचारको यात्राको निरन्तरता हो। राष्ट्रिय जनमुक्ति पार्टीले आदिवासी जनजातिको अधिकार, आत्मनिर्णय र संघीयताको पक्षमा लडेको इतिहास बोकेको छ। तर आज त्यो पार्टी नेताहरूको व्यक्तिगत प्रतिष्ठा जोगाउने थलो मात्र जस्तो देखिन थालेको छ। पार्टीभन्दा “म” ठूलो हुनेबित्तिकै राजनीति सड्छ अहिले त्यही भइरहेको छ। आज राष्ट्रिय जनमुक्ति पार्टी जस्ता दलहरूले ठूला पार्टीहरूको विकल्प बन्ने दाबी गर्छन्। तर भित्रैभित्रै त्यही पुराना रोग गुटबन्दी, पदको होड, सत्तामोह,
अनुशासनहीनता। के यही हो वैकल्पिक राजनीति ? के जनता फेरि पनि धोका खान बाध्य छन् ?
केपी पालुवा र केशव सूर्यवंशी दुबै जनाले आफूभित्र झुकेको विचारशील नेता देखाउनुको साटो, ठडिएको ‘घमण्डी नेता’ मात्रै देखाइरहेका छन्। अहिले जरुरी छ, दुबै जना एक पाइला पछाडि हटेर संस्थालाई अगाडि बढाउने सोचमा लागून्। हामीलाई यस्तो नेता चाहिएको हो जसले सन्तान उत्पादन गरोस्, वैचारिक सन्तान, संगठन चलाउने अनुशासनयुक्त सन्तान, नेतृत्वको मूल्य बुझ्ने उत्तराधिकारी। केपी पालुवाले त्यो जिम्मेवारी पूरा गरेनन्। केशव सूर्यवंशीले त्यो अवसर संयमता र समझदारीसाथ लिन सकेनन्। यो जटिल प्रश्न हुन् सक्छ !
नेतृत्व सुम्पिन नसक्ने अध्यक्ष जिम्मेवार छन् ? कि नेतृत्व लिन नजाने कार्यकारी अध्यक्ष अपरिपक्व ?
शायद दुबै। नेपालको राजनीतिमा अहिले ‘राजनीतिक उत्तराधिकार’ सिङ्गो संस्थागत संकट बन्न थालेको छ। नेतृत्व सुम्पन नचाहनेहरूले संगठन मारिरहेका छन्, अनि नेतृत्व लिन नजान्नेहरूले संगठनको आत्मा कुहाइरहेका छन्। राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्व अब सोच्न तयार छैन भने, जनताले पनि चुप लागिरहनु हुँदैन। हामीले विचार मागेका थियौं, अब त ती विचारहरू पनि च्यापिएको देखिँदैछ। अब ढिलो नगरौँ, विचार र सिद्धान्तमा एक ढिक्का भएर अघि बढौँ।






