
२०६२/६३ को आन्दोलनलगत्तै भारतमा केही महिना पढ्न जाने मौका मिलेको थियो । अनि क्लासमा एउटा प्रस्तुति दिनुपर्ने भयो । मैले त्यही बेला “उदाउँदो युवा नेता” शीर्षकमा गगन थापाको बारेमा एउटा प्रस्तुति दिएको थिएँ । ३६ देशका सहभागीहरु भएको त्यो फोरममा धेरैले उनको बारे चासो राखेका थिए । त्यसबेला हामीहरु अहिलेका जेनजीहरुको पछिल्लो उमेर समूहमा थियौं । एकजना संघीयता र गणतन्त्रको पक्षपाती भएको नाताले पत्रकारितामै रहे पनि आफ्नो तहबाट ०६२/६३ को आन्दोलनमा म पूर्णरुपमा सहभागी थिएँ ।
सुरुवाती कालमा स्कूल तहमा जानीनजानी विद्यार्थी राजनीति गरेको बाहेक म कुनै पार्टीको सदस्य छैन । तर नेपाली राजनीतिलाई धेरै नजिकबाट बुझ्ने कोशिस गर्छु । त्यति मात्र होइन, राजनीतिका बारे कुनै समूहमा आफूलाई लागेको कुरा व्यक्त गर्न वा लेख्न पनि सधै तयार रहन्छु । कोही रिसाउलान् भन्नेसँग परवाह छैन । बदलिंदो परिस्थितिमा गगन थापाले अघि सारेका केही नीतिगत कुराहरु मलाई यथार्थ लागेको छ ।

भदौ २३ र २४ पछि मुलुक जुन परिस्थितिमा पुगेको छ, त्यसको सही विश्लेषण अहिलेसम्ममा कसैले गरेको छ भने त्यो गगन थापाले गरेका छन् भन्ने मेरो बुझाइ छ । अहिलेसम्मको उनको विश्लेषणबाट मैले निकालेको केही बुँदाहरु निम्न अनुसार छन्:
१. भदौ २३ र २४ मा जे भयो त्यो मूलत जनता त्यसमा पनि नवजवानहरुमा रहेको असन्तुष्टी र आक्रोशको परिणाम थियो । त्यसको कारण यतिका वर्षसम्म सत्तामा रहेका दलहरु हुन् ।
२. दलहरुले हरेक तह र तप्कमा गरेको “कब्जा गर्ने” जुन दलीयकरण छ, त्यो असन्तुष्टी र आक्रोशको प्रमुख कारण हो ।
३. कुशासन र भ्रष्टाचार त्यहिबाट सिर्जित भएका हुन् ।
४. अब दलहरुले त्यो दलीयकरण, कुशासन र भ्रष्टाचारलाई अन्त्य गर्ने प्रण गर्नु पर्दछ ।
५. दलीयकरण, कुशासन र भ्रष्टाचारको अन्त्य गर्ने संकल्पका माध्यमबाट युवा पुस्तामा आशा जगाउनु पर्दछ र तिब्रतर विकासलाई अघि बढाउनु पर्दछ ।
६. नेपाली कांग्रेस पुनरावलोकन, स्वीकार र नयाँ संकल्पका साथ अघि बढ्नु पर्दछ । त्यसका लागि नीति र नेतृत्व दुवै फेर्नु पर्दछ । म त्यसको नेतृत्व गर्न तयार छु ।
७. नेपाली कांग्रेस चुनाव केन्द्रित हुनुहुन्न, कम्युनिष्टहरुसँग गठबन्धन गर्नुहुन्न । एक पटक चुनाव हार्दा केही हुन्न, दीर्घकालिन सोचका साथ अघि बढ्नु पर्छ । यो नै पार्टी, समाज र राज्यका लागि हितकर हुन्छ ।
यति स्पष्ट रुपमा बुझ्ने र बुझाउन सक्ने समकालिन नेताहरु कोही छैन भन्ने मेरो बुझाइ छ । अहिले कांग्रेस भित्र एउटा प्रश्रव वेदना चलिरहेको छ, बिशेष महाधिवेशनको रुपमा । यसमा एकथरी कांग्रेस फुटोस् भन्ने चाहना राख्नेहरु पनि छन् । तर म कांग्रेस नफुटोस् भन्ने कामना गर्दछु ।
मैले सानैदेखि सुनेको र बुझेको कांग्रेस यथास्थितिवादी पार्टी हो । तर, गगन थापाको बुझाइ र भनाईहरु म सधै परिवर्तनकामी र रुपान्तरणकारी पाउँछु । यदी साँच्ची नै देशको भलो चाहन्छन् कसैले भने कांग्रेस फुट्न हुन्न । गगन–विश्वहरु कांग्रेसको मियो बन्नु पर्छ । नीति र नेतृत्व गगन–विश्वहरुको भएको अवस्थामा मात्र मुलुकले निकास पाउने देखिरहेको छु ।
अहिलेको परिस्थिति फरक छ, यो अवस्थामा जुनसुकै होस्: पुराना पार्टीहरुका लागि चुनाव जित्नु फलामको चिउरा चपाउनु जतिकै गाह्रो कुरा बन्ने निश्चित छ । यद्यपी कांग्रेसले गगनले भने जस्तै यो चुनावलाई मात्र हेर्ने होइन, दीर्घकालिन रुपमा सोच्नु पर्छ । रुपान्तरित र पुस्तान्तरित कांग्रेसले अन्य पुरानो र नयाँ दलहरुलाई पनि सही लिकमा ल्याउने छ भन्ने मेरो बुझाइ छ ।


