
नेपाली राजनीति दिनप्रतिदिन रोचक बन्दै गएको छ । अझ युवा पात्राहरु बालेन शाह र गगन थापा प्रधानमन्त्रीका दाबेदारका रूपमा अगाडि आएपछि नेपाली राजनीतिमा पुस्तान्तरणको प्रक्रिया पनि सुरु भयो भन्दा अत्युक्ति नहोला । आज म यी दुई प्रधानमन्त्रीका दाबेदार पात्रहरूको प्रवृत्तिबारे छोटो भिडियो बनाउन गइरहेको छु ।
यी दुवै पात्रले आफ्नो क्षेत्र छाडेर अन्तैबाट चुनाव लड्न लागेका छन् । संयोग के भएको छ भने कोर काठमाडौंका पहाडी क्षेत्रीका छोरा गगनले कोर मधेशको सर्लाही रोजेका छन् भने काठमाडौंमै हुर्किए पनि मधेसी समुदायका बालेनले पहाडी बाहुल्य क्षेत्र झापालाई रोजेका छन् ।
एक अर्थमा हेर्दा यी दुवै प्रधानमन्त्रीका युवा दाबेदार राष्ट्रिय व्यक्तित्व बन्ने प्रयासमा छन् । उनीहरू आफ्नो समुदाय, गाउँघर र जिल्लाको परिधिभन्दा बाहिर निस्किएका छन् । प्रधानमन्त्रीको दाबी गरिसकेपछि देशभर जुनसुकै ठाउँमा परीक्षण हुन तयार हुनुपर्छ भन्ने गगनको स्पष्टिकरण चित्तबुझ्दो छ । बालेनको हकमा पनि यो तर्क लागू हुन्छ ।
यद्यपि, यससँगै उम्मेदवारहरूको आआफ्नै सोच र रणनीति जोडिएका हुन्छन् । बालेनले झापा रोज्नुको कारण उनकै मुखबाट स्पष्ट रूपमा सुन्न पाइएको छैन । यद्यपि, उनका नजिककाहरूको हवाला दिँदै आएका मिडिया रिपोर्टअनुसार उनले भनेका छन्, “केपी ओलीलाई नहराई चुनाव लड्नुको के मज्जा ?” यस भनाइमै उनको रणनीति देखिन्छ । विशेषगरी युवा पुस्तामा फैलिएको केपी ओलीविरोधी भावनालाई सम्बोधन गर्ने, साथै आफूलाई एक आँटिला र दृढ निश्चय भएका युवाको रूपमा उभ्याएर देशभरका युवाको समर्थन बटुल्ने प्रयास उनको रणनीतिमा देखिन्छ ।
यस अर्थमा गगन र उनको टिम भने अलि फरक देखिन्छ । सुरुदेखि नै उनीहरूले किन मधेस झरेको भन्ने कुरा स्पष्ट पार्दै आएका छन् । यसमा पनि उनीहरूको आफ्नै रणनीति छ, नेपाली कांग्रेसले मधेसमा गुमाएको भोट बैंक पुनःस्थापना गर्ने । बहुदल आएपछि लामो समयसम्म कांग्रेसका लागि मधेस मुख्य आधारभूमि थियो । तर मधेस आन्दोलनसँगै त्यो आधारभूमि कमजोर हुँदै गयो । गगनले कोर मधेसबाट उम्मेदवारी दिएर मधेसलाई प्रत्यक्ष सम्बोधन गर्ने संकेत दिएका छन् । यसले कांग्रेसका समर्थक र शुभचिन्तकमा उत्साह भर्ने र मधेसवादी भनिएका दलहरू कमजोर भएको अवस्थामा बालेनको कारण रास्वपातर्फ जान लागेको जनमत रोक्ने रणनीति पनि यसभित्र देखिन्छ ।
यी सबै तथ्यहरूको विश्लेषण गर्दा बालेनको निर्णय उनको अहम् र दृढतासँग बढी जोडिएको देखिन्छ भने गगनको निर्णय राजनीतिक दीर्घकालिन रणनीतिसँग ।
भिडियो


