काठमाडौँ ३१ जनवरी २०२६ । बौद्धकी साम्राज्ञी मोक्तानले १८औं मिस तामाङको ताज पहिरेकी छिन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई उछिन्दै मोक्तान मिस तामाङ २०२६ बनेकी हुन् । उनलाई १७ औं मिस तामाङ अन्जु थोकरले ताज पहिरेकी थिइन् । विजेताले नगद ५० हजार रुपैयाँका साथ विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार हात पारेकी छिन् । उनले मिस कन्फिडेन्ट, भ्युअर चोइस टाइटलसमेत हात पारिन् ।
इन्जिनियर बन्ने सपना बोकेकी १८ वर्षीया मोक्तानले परिवारको माया र साथले यो सफलता पाएको र अब महिला सशक्तीकरणमा काम गर्ने बताइन् ।
प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनरअप बनिन् भने सृष्टि थिङ तामाङ सेकेन्ड रनरअप बनिन् । त्यसैगरी ओसिन गोले तामाङ थर्ड रनरअप बनिन् ।
फस्ट रनरअपलाई ३० हजार, सेकेन्ड रनरअपलाई २० हजार र थर्ड रनरअपलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिएको आयोजक मम्स इन्टरनेसनलकी अध्यक्ष रञ्जिता लामाले बताइन् । विजेताहरुलाई प्रमुख अतिथि फुर्वा खेन रिम्पोछे तामाङ र नायक अमिर दोङले टाइटल तथा पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा मिस फोटो जेनिकको टाइटल सृष्टि थिङ तामाङ, मिस ट्यालेन्टको टाइटल देवी वाइबा तामाङ, बेस्ट ड्रेस र मिस मल्टिमिडियाको उपाधि एश्वर्य घिसिङ तामाङ, बेस्ट वाक र ब्युटिफुल हेयरको टाइटल सुजिना गोङ्बा तामाङ, मिस पर्सनालिटीको उपाधि कबिना वाइबा तामाङ, मिस डिसिप्लेनको टाइटल पूजा जिम्बा तामाङ, ब्युटिफुल हेयरको उपाधि र बेस्ट स्माइलको उपाधि सोर्णिमा थिङ तामाङले जितिन् ।
निर्णायक मण्डलमा सफलता थिङ, शेषराज भट्टराई, लेक योञ्जन र प्रदीप बम्जन थिए ।


