– प्रकाश गुरुङ, MVO
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को त्यो गेट… जहाँ हामीमध्ये धेरैले उस्तै अनुभूति सँगालेका छौं। जब हामी छोराछोरीलाई बिदा गर्न पुग्छौं, उनीहरूको गलामा खादा लगाइदिँदा र तस्बिरका लागि ओठमा कृत्रिम मुस्कान सजाउँदा, भित्र मनमा भने एउटा नमिठो गाँठो परिरहेको हुन्छ। उनीहरू ‘अवसरको देश’– बेलायत, अष्ट्रेलिया वा अमेरिका उड्दै त छन्, तर त्यो रङ्गीन सपनासँगै त्यहाँको चिसो मौसम, महँगी र विरक्त लाग्दो एक्लोपनको चुनौती पनि उत्तिकै छ।
हामी अभिभावक हौं, हाम्रा सपना ठूला हुनु स्वाभाविक हो। कसैले जीवनभरको कमाइ त कसैले ऋण-धन गरेर उनीहरूलाई विदेश पठाएका हुन्छौं। तर हालै लन्डनस्थित नेपाली दूतावासमा भएको एउटा छलफलले तीतो सत्य बाहिर ल्याएको छ: हाम्रा सन्तानहरू त्यहाँ निकै संघर्ष गरिरहेका छन्। उनीहरू मानसिक तनाव (Mental Health battles), आर्थिक अभाव र डिप्रेसनसँग जुधिरहेका छन्।
यस्तो बेला अभिभावकको स्वभाव उनीहरूलाई घचघच्याउने वा सम्झाउने हुन्छ। फोनमा भन्न मन लाग्छ– “अझै मेहेनत गर,” “ऋण बिर्सिएका त छैनौ नि?” वा “समय खेर नफाल।” तर एउटा Life Coach को नाताले म भन्न चाहन्छु: जीवनमा आँधी-हुरी चलेको बेला उनीहरूलाई थप ‘दबाब’ (Pressure) होइन, एउटा सुरक्षित र भरोसायुक्त ‘आधार शिविर’ (Base Camp) को खाँचो छ।
पर्वतारोही र आधार शिविर (The Climber and The Base Camp)
कल्पना गर्नुहोस्, तपाईंको सन्तान एउटा ‘पर्वतारोही’ (Mountaineer) हो र विदेश त्यो ‘हिमाल’ हो जुन उनीहरू चढ्दै छन्। त्यो यात्रामा भिसाको समस्या रूपी ‘हिमपहिरो’ (Avalanche) आउन सक्छ, आर्थिक संकटको ‘खाडल’ (Crevasse) पर्न सक्छ र एक्लोपनको चिसो सिरेटो चल्न सक्छ।
कुनै पनि पर्वतारोहीले तब मात्र शिखर (Summit) चुम्ने आँट गर्छ, जब उसलाई थाहा हुन्छ कि मौसम खराब भएर फर्कनु परेमा तल एउटा सुरक्षित ‘आधार शिविर’ छ। नेपालमा बस्नुहुने बुवा-आमाहरू, तपाईंहरू नै उनीहरूका लागि त्यो ‘आधार शिविर’ हो।
हाम्रो समाजमा माया गर्नु भनेको ‘ठूलो अपेक्षा’ (High Expectations) राख्नु हो भन्ने बुझिन्छ। हामी सोध्छौं– “पैसा पठायौ?”, “अझै पढ्,” “किन थकाई लाग्छ?” तर याद राख्नुहोस्, उकालो चढ्दा स्वाँ-स्वाँ भइरहेको मान्छेलाई तलबाट कराउँदा उसको भारी हलुका हुँदैन, झन् गह्रौं हुन्छ।
यदि उनीहरूलाई तपाईंको डर लाग्यो भने, उनीहरूले वास्तविक पीडा लुकाउन थाल्छन् र बिस्तारै सम्पर्कविहीन (Radio Silence) हुन सक्छन्। यसको सट्टा Secure Attachment अपनाउनुहोस्। उनीहरूलाई भन्नुहोस्: “बाबु/नानी, आज शिखरमा पुग्न सकिनौ भने पनि केही छैन। थाकेका छौ भने एकछिन विश्राम लेऊ, हामी तिम्रो साथमा छौं। हामीलाई नतिजा (Result) भन्दा तिम्रो प्रयास (Effort) मा गर्व छ।”
सुझाव (Correction) भन्दा पहिले सम्बन्ध (Connection)
सफलताको बाटो कहिल्यै सीधा हुँदैन। जब परदेशबाट छोराछोरीले समस्या सुनाउन फोन गर्छन्, उपदेश दिन हतार नगर्नुहोस्।
-
यो नभन्नुहोस्: “तैंले यसो गर्नु पर्थ्यो… अहिलेसम्म काम किन पाइनस्?”
-
यो भन्नुहोस्: “तिमीले भोगेको कुरा सुन्दा निकै गाह्रो रहेछ जस्तो लाग्यो। मलाई विश्वास छ तिमीले यसको समाधान निकाल्नेछौ। अहिलेलाई लामो सास फेर, हामी तिम्रो साथमा छौं।”
यसलाई Timely Connection भनिन्छ। उचाइमा अक्सिजनको जति महत्व हुन्छ, परदेशमा आमाबुवाको एक शब्द हौसलाको मूल्य त्यति नै हुन्छ। लामो ‘लेक्चर’ त केवल कोलाहल मात्र हो।
खुसीको डिजिटल चोर (The Digital Thief of Joy)
हाम्रा छोराछोरीहरू एउटा नयाँ अदृश्य शत्रुसँग लड्दै छन्: तुलना (Comparison)। सोसल मिडियाले उनीहरूको खुसी चोर्ने काम गरिरहेको छ। साथीभाइले गाडी किनेको वा पार्टी गरेको फोटो देख्दा उनीहरूलाई लाग्न सक्छ– “म मात्र असफल भएँ कि?”
सोसल मिडियाले ‘तत्काल मज्जा’ (Instant Gratification) त दिन्छ, तर वास्तविक प्रगति जस्तै– ऋण तिर्नु, पढाइ सक्नु वा करियर बनाउनु कछुवाको हिँडाइ जस्तै धीमा हुन्छ। उनीहरूलाई सम्झाउनुहोस्: “अरूको हाईलाइट (Highlights) हेरेर आफ्नो जिन्दगीको मापन नगर। बिस्तारै हिँड्नु पनि अघि बढ्नु नै हो।”
साना जितको उत्सव मनाउनुहोस् (Celebrate Small Wins)
ठूलो सपनाको पासोमा मात्र नपर्नुहोस्। हामी सबैलाई भित्तामा टाँस्न ‘दीक्षान्त समारोह’ (Graduation) को फोटो त चाहिन्छ, तर सधैं शिखरको मात्र कुरा गर्दा यात्रा बोझिलो हुन्छ। साना जितहरूमा खुसी हुन सिकाउनुहोस्:
-
के यो महिना उनीहरूले कोठा भाडा तिर्न सके? सबास भन्नुहोस्!
-
के उनीहरूले बाहिरको जंक फूड छोडेर आफैं दाल-भात पकाएर खाए? खुसी हुनुहोस्!
-
के उनीहरूले यो गाह्रो हप्ता धैर्यतापूर्वक पार गरे? प्रशंसा गर्नुहोस्!
यही सानो हौसलाले नै उनीहरूमा ठूलो आत्मविश्वास भर्छ।
योजना र विवेक (Logic over Luck): सगरमाथाको पाठ
सगरमाथा आरोहीहरू ‘भाग्य’ को भरमा मात्र शिखर पुग्दैनन्। उनीहरूसँग स्पष्ट योजना (Plan), तालिम (Training) र सही मार्गदर्शक (Guide) हुन्छ। अनुसन्धानले भन्छ– बिना योजना हिँड्नेभन्दा लिखित लक्ष्य र योजना भएकाहरूको सफलताको दर निकै उच्च हुन्छ।
-
विद्यार्थीहरूलाई: अरूको देखासिखीमा लागेर मात्र विदेश नजाऊ (Don’t follow the herd)। आफ्नो बाटोको नक्सा र पाइलाहरूको योजना आफैं बनाऊ। भाग्यको भरमा मात्र शिखर चढ्न सकिँदैन।
-
अभिभावकहरूलाई: भावनामा बगेर दबाब नदिनुहोस्। बरु सँगै बसेर, सल्लाह गरेर योजना बनाउन मद्दत गर्नुहोस्। भनिन्छ नि— “बिना योजनाको लक्ष्य केवल एउटा इच्छा मात्र हो।”
सही सल्लाह लिन नहिचकिचाउनुहोस्
अन्त्यमा, इन्टरनेटमा पाइने “छिटो पैसा कमाउने” वा “सजिलो भिसा” को प्रलोभनमा नपर्नुहोस्। सही विज्ञ, मेन्टर वा अनुभवी व्यक्तिहरूसँग सल्लाह लिनुहोस्। अक्सिजन सकिएपछि उद्धार (Rescue) को प्रतीक्षा गर्नुभन्दा पहिले नै पूर्वतयारी गर्नु बुद्धिमानी हो।
मेरा प्यारा अभिभावकज्यूहरू, तपाईंका छोराछोरी बहादुर ‘पर्वतारोही’ हुन्। तर नबिर्सनुहोस्, शेर्पाहरूलाई पनि भारी बिसाउन ‘चौतारी’ चाहिन्छ। उनीहरूलाई तल खसाल्ने ‘आँधी’ होइन, उनीहरूलाई आड दिने बलियो ‘आधार शिविर’ बन्नुहोस्। आउनुहोस्, समाजलाई देखाउन “सफल” मात्र होइन, मनदेखि नै “आत्मविश्वासी र खुसी” सन्तान हुर्काऔं।


