प्रस्तुति: विक्रम भट्टराई – नेपाल।
भनिन्छ, जीवनका केही यात्राहरू धेरै पहिले योजना बनाएर होइन, मनले सोचेको बेला तुरुन्तै गरिनुपर्छ। अझ आस्था र विश्वाससँग जोडिएका तीर्थयात्राहरू त आज मनमा आएपछि भोलिसम्म पनि पर्खनु हुँदैन भन्ने मान्यता नै छ।
हाम्रो हकमा पनि यस्तै भयो। अघिल्लो साँझ अचानक निर्णय भयो। “भोलि मुक्तिनाथ जाऔँ।” अनि त्यसैको भोलिपल्ट बिहान ३ बजे, म र पवित्रा, कान्छो भाइ महेन्द्र र शंकर केसी भाइसँगै पोखराबाट मुक्तिनाथतर्फको यात्रामा निस्कियौँ। लगभग १८५ किलोमिटरको दूरी, समुद्री सतहबाट करिब ८५० मिटर उचाइको पोखरादेखि ३,८०० मिटर उचाइमा अवस्थित मुक्तिनाथ धामसम्मको यो यात्रालाई एउटा अन्धकारबाट उज्यालोतर्फको यात्राकै रूपमा लिन सकिन्छ।
पोखराबाट बेनी–गलेश्वरसम्मको सडक अहिले निकै राम्रो रहेछ। तर, गलेश्वरबाट मार्फासम्म पुग्दा वर्षायाममा हरेक चालक निकै सजग रहनुपर्ने देखियो। माथि पहाडको कुन भागबाट कहिले ढुङ्गा खस्ने वा पहिरो झर्ने हो, पूर्वानुमान गर्न गाह्रो हुन्छ। तर, यात्राको वास्तविक सुन्दरता र थ्रिल पनि यहीँबाट सुरु हुन्छ। कालीगण्डकी नदीको गर्जन सुन्दै, चिसो हावा खाँदै, अन्धकारलाई चिर्दै गाडी अगाडि बढिरह्यो। बाटोभरि महेन्द्र र शंकर भाइका हाँसो–ठट्टाले यात्रालाई अझ रमाइलो बनायो।
अचानक बनाइएको योजनाको एउटा सानो कमजोरी भने हामीले पनि अनुभव गर्यौँ। गाडीमा फुल ट्याङ्की पेट्रोल हाल्न बिर्सिएछौँ! जति माथि पुग्दै गयौँ, मलाई पेट्रोलको चिन्ताले उति नै सताउन थाल्यो। कतिपय ठाउँमा पेट्रोल पम्प छन् भन्दै अघि बढ्यौँ, तर ती सबै बन्द थिए। अन्ततः घाँसा पुगेपछि मात्र थाहा भयो, त्यो त्यस क्षेत्रकै अन्तिम पेट्रोल पम्प रहेछ। त्यहाँ पनि पम्पबाट नभई बोतलहरूमा राखिएका २० वटा एक–एक लिटरका बोतलबाट गाडीमा पेट्रोल भर्यौँ र बल्ल मन अलि ढुक्क भयो।
मार्फा पार गरेपछि त मानौँ अर्कै संसार सुरु हुन्छ र दृश्य नै पूरै बदलिन पुग्छ। पहाडहरू क्रमशः रुखविहीन हुँदै जान्छन्। भूगोल बदलिन्छ, वातावरण बदलिन्छ अनि मन पनि। बिहानको पहिलो घाम जब धौलागिरि हिमालको शिरमा पर्दै थियो, त्यो दृश्य शब्दमा बयान गर्न गाह्रो छ। एकछिन त यस्तो लाग्यो— यदि पृथ्वीमा स्वर्ग कतै छ भने, सायद यतै कतै छ।
त्यसैबेला सडकमा भारतीय नम्बर प्लेटका गाडीहरूको संख्या निकै बढिरहेको थियो। कतिपय ठाउँमा त हरेक १० वटा गाडीमध्ये ८ वटा भारतीय नै देखिन्थे। पवित्राले राति दुई बजे नै उठेर पकाएर थर्मसमा हालेर लगेको तातो चियाको चुस्की लिँदै बिहान करिब ८:३० बजे हामी कागबेनी पुग्यौँ। हिमाल, कालीगण्डकी र प्राचीन संस्कृतिको अद्भुत संगम हो कागबेनी। हामीले पनि आफ्नो परम्परा अनुसार त्यहाँ उपलब्ध विगोत्रीय पण्डितजीसँग दक्षिणाको विषयमा पहिले नै सहमति गर्यौँ। “स्वविवेकले दिने” सल्लाहअनुसार हामीले आफ्ना पितृहरूको नाममा पिण्डदान गर्यौँ। भारतका तीर्थाटनहरूमा त्यहाँका पण्डाहरूले दु:ख दिएको सम्झना भएकाले मैले पहिले नै यस्तो सल्लाह गर्न उचित ठानेको थिएँ। यसरी आफ्ना पितृहरूलाई पवित्र भूमिमा सम्झन पाउँदा त्यो क्षण मेरो लागि अत्यन्तै भावुक बन्यो।
त्यसो त, मेरो लागि यो दोस्रो कागबेनी यात्रा थियो। पहिलो पटक म आमा र कान्छो भाई गोविन्दका साथ यही कागबेनीमा पितृकार्य गर्न आएको आजभन्दा करिब ३२ वर्षअघि हो। सायद यसै कारणले होला, तीन पटकसम्म मुक्तिनाथ पुगिसक्नुभएकी हाम्री आमाले यसपालि “भो म जान्न” भन्नुभयो। समय बदलियो, जीवन बदलियो, तर कागबेनीको त्यो आध्यात्मिक स्पर्श भने अझै उस्तै रहेछ।
यद्यपि, कागबेनीमा सुधारको आवश्यकता पनि त्यत्तिकै टड्कारो देखियो। कागबेनी धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण भए पनि यहाँ केही आधारभूत पूर्वाधारहरू सुधार हुन जरुरी छ। स्नान गर्ने ठाउँ, कपडा फेर्ने व्यवस्था, शौचालयको सरसफाइ तथा कालीगण्डकीको पानीलाई सानो कुण्डमा थिगारेर अझ सफा रूपमा प्रयोग गर्न सकिने सम्भावनाहरू स्पष्ट देखिन्छन्। विश्वभरबाट आउने तीर्थयात्रीहरूलाई अझ सहज र सुखद अनुभव दिन यसतर्फ ध्यान दिनु आवश्यक छ।
कागबेनीबाट मुक्तिनाथको दूरी करिब १० किलोमिटर मात्र हो। तर यो १० किलोमिटर नेपालकै सबैभन्दा सुन्दर तीर्थमार्गमध्ये एक हो। मरुभूमि जस्तो भू–दृश्य, हिमालका भित्ताहरू, हावाको सुसाइ अनि आकाशसँग कुरा गरिरहेका जस्ता लाग्ने विशाल पहाडहरू। हामी बिहान करिब १० बजे मुक्तिनाथको पार्किङ क्षेत्रमा पुग्यौँ। त्यहाँको दृश्य देखेर म चकित भएँ। हजारौँ गाडीहरू पार्क गरिएका थिए, जसमा अनुमानतः ७० प्रतिशतभन्दा बढी भारतीय नम्बर प्लेटका थिए।
३,८०० मिटरको उचाइमा पुगेर पहिलो सास फेर्न पाउनु आफैँमा अलौकिक अनुभव हो। तर गाडीबाट बाहिर निस्कँदा शरीरले तुरुन्तै उचाइको प्रभाव महसुस गर्यो। केही घण्टाअघि मात्र पोखराको ८५० मिटर उचाइमा थियौँ, अहिले एकैदिनमा ३,८०० मिटरमा आइपुग्दा सामान्य ‘हाई–अल्टिच्युड’ को प्रभाव हुनु स्वाभाविकै थियो। कता–कता हुर्रिए जस्तो, लरबरिए जस्तो कस्तो–कस्तो अनौठो अनुभव भयो।
मुख्य प्रवेशद्वारबाट व्यवस्थित सिँढी चढ्दै मन्दिर क्षेत्रमा पुग्दा भक्तजनहरूको विशाल भीड देखियो। आषाढ सङ्क्रान्ति, सोमबार, औँसी र अधिकमास समाप्तिपछिको पहिलो दिन भएकाले पनि श्रद्धालुहरूको उत्साह विशेष थियो। रमाइलो कुरा त, भीडमा ९० प्रतिशतभन्दा बढी भारतीय भक्तजन थिए भने बाँकी मात्र नेपाली। एकछिन त हामीलाई यस्तो भान भयो कि हामी नेपाली भूमिमा होइन, कुनै भारतीय तीर्थस्थलमा छौँ! धन्न, बेलाबेलामा नेपाल प्रहरीका भाइहरूको वर्दी देख्दा झल्यास्स बनाउँथ्यो र यो नेपाल नै हो भन्ने विश्वास हुन्थ्यो।
मन्दिर परिसरमा रहेका १०८ धारामा नुहाउनेहरूको घुइँचो पनि उस्तै थियो। म अलि अल्छी मान्छे, त्यसमाथि त्यति चिसो पानीले नुहाउनु मेरा लागि कारगिलको युद्ध जिते सरह नै हुन्थ्यो। तर, जब त्यो हिमाली चिसो पानी शरीरमा पर्यो, मुटु नै काँपे पनि मनमा भने असीम शान्ति भरिएर आयो। साँच्चै दिल नै भरियो। हामीले पनि श्रद्धापूर्वक १०८ धारामा स्नान गर्यौँ, कुण्डमा डुबुल्की मार्यौँ र मूल मन्दिरको दर्शनका लागि लामो लाइनमा बस्यौँ। करिब डेढ घण्टाको प्रतीक्षापछि मात्र मुक्तिनाथ भगवान्को दर्शन प्राप्त भयो। त्यो क्षणको अनुभूति शब्दभन्दा निकै परको विषय हो। मैले यसरी भक्तिपूर्वक दर्शन गर्ने मौका अघिल्ला यात्राहरूमा अनुभव गर्न पाएको थिइनँ।
मुक्तिनाथ मन्दिर हिन्दू–बौद्ध एकताको एउटा अनुपम उदाहरण हो। यसको अर्को विशेष पक्ष भनेको यसमा अन्तरनिहित अनौठो धार्मिक समन्वय नै हो। मुक्तिनाथ हिन्दूहरूको प्रमुख वैष्णव तीर्थस्थल हो भने बौद्ध धर्मावलम्बीहरूले यसलाई “चुमिग ग्यात्सा” अर्थात् “एक सय आठ धाराको स्थान” का रूपमा पूज्छन्। यहाँको दैनिक पूजा–आजा तथा व्यवस्थापन परम्परागत रूपमा बौद्ध भिक्षुणी (आनी)हरूले गर्दै आउनुभएको रहेछ। मूल गुरुका रूपमा बौद्ध भिक्षुणीहरूलाई सक्रिय रूपमा देख्दा धार्मिक सहअस्तित्वको यो सुन्दर रूपले मेरो मन अत्यन्त प्रसन्न भयो।
मुक्तिनाथको धार्मिक महत्त्व अतुलनीय भए पनि यहाँको सरसफाइ व्यवस्थापनमा अझै सुधार आवश्यक देखिन्छ। विशेषगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय तीर्थयात्रीहरूको अत्यधिक भीड हुने समयमा फोहोर व्यवस्थापन, शौचालयको सरसफाइ, कपडा फेर्ने स्थान र बहुभाषिक सूचना बोर्डहरू थप प्रभावकारी बनाउन सकिन्छ। किनभने आस्था जति ठूलो छ, त्यसको व्यवस्थापन र संरक्षणको जिम्मेवारी पनि त्यत्तिकै ठूलो हुन्छ।
करिब १४ घण्टादेखिको भोकपछि थकाली खानाको स्वाद कस्तो हुन्छ, त्यो त त्यही परिस्थितिमा खाने मान्छेलाई मात्र थाहा हुन्छ! एकातिर मुक्तिनाथको चिसो मौसम, अर्कोतिर तातो भात, दाल, तरकारी र झ्वाइँ पारेर हालिएको घिउ— जीवनमा अरू के चाहियो र! त्यो पनि स्थानीय थकाली परिवारले पकाएको। प्रतिव्यक्ति रु. ५०० मा थपी–थपी खान पाइने त्यो भोजन केवल खाना मात्र थिएन, हाम्रा लागि यात्राको अर्को प्रसाद थियो। साँच्चै भन्नुपर्दा, हिमालको काखमा बसेर खाएको त्यो थकाली खाना जीवनभर सम्झिरहने स्वाद बनेर मनमा बस्यो।
दिउँसो करिब १५:०० बजेपछि हामी फर्किने तयारीमा लाग्यौँ। वर्षायाम भएकाले शंकर भाइले सकेसम्म चाँडो गलेश्वर क्षेत्र पार गर्न सुझाव दिइरहेका थिए र उनको त्यो सुझाव बिल्कुल सही थियो। यस मौसममा सामान्य सिमसिमे पानीले पनि सडक अवरुद्ध गराउन सक्छ। फर्किने क्रममा रुप्से झरनामा पुग्दा सूर्यको किरण झरनामाथि परिरहेको थियो। त्यहाँ पुगेका सयौँ पर्यटकहरू त्यो मनमोहक दृश्य मोबाइल र क्यामेरामा कैद गर्न व्यस्त देखिन्थे। उनीहरूको अनुहारमा देखिएको उत्साह देखेर मलाई पनि निकै आनन्द लाग्यो; आखिर उनीहरू हाम्रा देवता सरहका पाहुना हुन्। भनिन्छ नि, सुन्दरता आफैँमा संसारको सबैभन्दा ठूलो भाषा हो, जुन सबैले सहजै बुझ्छन्।
यसरी बिहान ३ बजे सुरु भएको हाम्रो यात्रा राति ९ बजे पोखरा फर्किएर टुङ्गियो। १८ घण्टाको निरन्तर यात्रा र दुईतर्फी गरेर १८५ किलोमिटरको दूरी। यात्राका क्रममा लेतेमा जाँदा र आउँदा दुवै पटक नेपाल प्रहरीले यात्रीहरूको सबै विवरण लिने गरेको देखियो, जुन सुरक्षाका दृष्टिकोणले एकदमै महत्त्वपूर्ण र सराहनीय लाग्यो।
मुक्तिनाथ र पशुपतिनाथ लगायत नेपालका प्रमुख तीर्थस्थलहरूमा आउने भारतीय तीर्थयात्रीहरू हाम्रो पर्यटन र धार्मिक अर्थतन्त्रका महत्त्वपूर्ण साझेदार हुन्। उनीहरूलाई सम्मानपूर्वक स्वागत गर्दै यो यात्रालाई अझ व्यवस्थित बनाउन नेपाल सरकारले केही व्यावहारिक सुधारहरू गर्न अति आवश्यक देखिन्छ। सीमा नाकाहरू तथा प्रमुख प्रवेश बिन्दुहरूमै नेपाल प्रवेश गर्दा होटल बुकिङ, स्थानीय नियम, आपतकालीन सम्पर्क नम्बर, धार्मिक स्थलका आचारसंहिता तथा “Do & Don’t” (के गर्ने, के नगर्ने) को सूची सहितको जानकारीपत्र (Brochure) उपलब्ध गराउनु पर्छ।
फोहोर जथाभावी फाल्न नहुने, सार्वजनिक स्थानमा सरसफाइ कायम राख्नुपर्ने, धार्मिक स्थलको सम्मान गर्नुपर्ने र ट्राफिक नियम पालना गर्नुपर्ने, साथै नियम उल्लङ्घन गरेमा लाग्ने जरिवानाबारे स्पष्ट जानकारी सहित प्रमुख तीर्थस्थलहरूमा नेपाली, हिन्दी र अंग्रेजी भाषामा सूचना बोर्डहरू राख्न कुनै ठुलै पापड बेलिरहनु पर्दैन। पार्किङ, शौचालय, स्नानस्थल र फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाउनु पर्छ। सकिन्छ भने तीर्थयात्रीहरूका लागि आफैँले पकाएर खानका लागि छुट्टै “डेजिग्नेटेड एरिया” (तोकिएको क्षेत्र) बनाइदिन पनि सकिन्छ। स्वयंसेवक वा सूचना केन्द्रमार्फत यात्रुहरूलाई आवश्यक मार्गदर्शन दिन सकिन्छ। अधिकांश भारतीय तीर्थयात्री अत्यन्त सभ्य, श्रद्धालु र सहयोगी हुन्छन्; केही व्यक्तिका व्यवहारका कारण सबैलाई एउटै दृष्टिले हेर्नु न्यायसङ्गत हुँदैन। स्पष्ट सूचना, चुस्त व्यवस्थापन र पारस्परिक सम्मानले उनीहरूको नेपाल भ्रमणलाई अझ सुखद र स्मरणीय बनाउन सक्छ, जसले हाम्रो धार्मिक पर्यटनको छविलाई विश्वभर अझ बलियो बनाउनेछ।
पितृस्मरण, हिमालको अलौकिक सौन्दर्य, मुक्तिनाथको पावन दर्शन, थकाली खानाको तिर्सना मेट्ने स्वाद, कालीगण्डकीको अनवरत गर्जन, आत्मीय साथीभाइको साथ र भगवानप्रतिको अटल विश्वास, यो यात्राबाट फर्केर आउँदा एउटा कुरा मनमा गहिरो गरी बस्यो। मुक्तिनाथ केवल एउटा मन्दिर मात्र होइन, यो त आस्था, प्रकृति, संस्कृति र सहअस्तित्वको एउटा जीवन्त विश्वविद्यालय हो। जीवनमा कम्तीमा एकपटक हरेक नेपाली वा सनातन धर्ममा आस्था राख्ने जोकोहीले पनि यो यात्रा अवश्य गर्नैपर्छ।







