अनलाईनमा तामाङ भाषाको फड्को !

SHARE:

तामाङ भाषा पनि यान्त्रिक युगमा प्रवेश गर्दै छ। तामाङ भाषीको लागि मात्र होइन, नेपालका सबै मातृभाषीहरूको लागि यो खुसीको दिन हो। सरकारी संयन्त्रमा प्रवेश गरेको दिन तामाङ भाषाले ऐतिहासिक फट्को मारेको हुनेछ। र ‘गुगल अनुवाद’ प्रविधिमा प्रवेश गरे सँगै यो भाषा पनि विश्व भाषाको सूचीमा दर्ज हुनेछ। अनि तामाङ भाषा मार्फत् प्राप्त हुने ज्ञानको क्षेत्र धेरै फराकिलो र व्यापक हुनेछ।

एकजना तामाङ नागरिकले जस्तै गरी मिसिनले पनि तामाङ भाषामा लेखपढ गर्नसक्ने यान्त्रिक अनुवादको सफल उपलब्धिको लागि काठमाडौँ विश्वविद्यालयका कम्युटर तथा इन्जिजियर विभागका प्राविधिक टोली र तामाङ राष्ट्रिय पुस्तकालयका तामाङ भाषा अनुवाद टोलीलाई म मुरीका मुरी धन्यवाद ज्ञापन गर्दछु। तामाङ भाषाले लिन लागेको यस्तो उचाइँ प्रज्ञापन गर्ने समारोहमा उपस्थित सबै सबैप्रति पनि म हार्दिक कृतज्ञता प्रकट गर्दछु। प्रा.डा. बालकृष्ण बलको आजको प्रस्तुतिले हामीलाई निकै उत्साहित र प्रोत्साहित गरेको छ। अब प्रविधिमार्फत् पनि मातृभाषाहरूलाई संरक्षण, संवर्धन र विकास गर्ने आधार प्रदान गरेको छ।

त्रैभाषिक मिसिन अनुवाद परियोजना सफल पार्न काठमाडौँ विश्वविद्यालयका कम्पयुटर विज्ञान र इन्जिनियरिङ विभागका प्रमूख तथा टिएमटि परियोजनाका प्रमूख-अनुसन्धाता प्रा.डा. बालकृष्ण बल जसको नेतृत्वमा डा. प्रकाश पौड्याल, श्री रूपकराज घिमिरे, श्री विपेशराज सुवेदी, श्री निश्चल कार्की, श्री जेनी पौडेल, श्री रूपक तिवारी, श्री ऋषिकेश शर्मा र डुबलिन सिटी विश्वविद्यालयका डा. प्रविन आचार्य र त्रिभुवन विश्वविद्यालयका मेरा सहपाठी प्रा.डा. बलराम प्रसाईजस्ता प्राविधिकहरू ११ महिनासम्म निरन्तर सक्रिय रहे। अनि तामाङ राष्ट्रिय पुस्तकालय तर्फबाट मेरो चहलपहलमा र इन्द्र तामाङको कुशल नेतृत्वमा श्री यकिना अगाघ, श्री बुद्ध योन्जन, श्री पेमा मोक्तान, श्री उदय थिङ, श्री बिनुका लामा र श्री कुसुम तामाङको सक्रियताले तामाङ-नेपाली-अङ्ग्रेजी मिसिन अनुवाद कार्यले ठोस आकार ग्रहण गर्नसक्यो। यस सफल कार्यको लागि विश्वभरिका तामाङ समुदाय यी दुइ संस्था र वहाँहरूप्रति सदा कृतज्ञ हुनेछन्।

काठमाडौँ विश्वविद्यालयका प्राविधिक टोलीलाई तामाङ भाषा मिसिनलाई सिकाउन के कस्ता चुनौतीको सामना गर्नु पर्यो त्यो यथासमय र यथास्थान वहाँहरूबाट व्यक्त हुने नै छ। तर म यहाँ तामाङ अनुवादकहरूले व्यहोरेका केही चुनौतीहरू राख्न चाहन्छु। विगत २५ वर्षदेखि तामाङ डाजाङ मासिक पत्रिका सम्पादन गरेको आफ्नो अनुभवबाट इन्द्र तामाङले तामाङ अनुवाद कार्यलाई जीवन्ता प्रदान गरे। वहाँले तामाङ भाषा अनुवाद टोलीका सदस्यहरूलाई निरन्तर हौसाइ रहे। ठोस मानकीकरण र प्राविधिक शब्दवलीसमेत खासै विकास नभएको तामाङ जस्तो मातृभाषाको लागि यो अनुवाद कार्य निकै कठिन र चुनौतीपूर्ण रह्यो। निरन्तर तामाङ परिभाषित तथा प्राविधिक शब्दावलीको विकास गर्दै, भाषाको स्तरीकरण र मानकीकरणको रूप स्थिर गर्न विज्ञजनसँग घनीभूत छलफल गर्दै यो टोली ११ महिनासम्म दिनरात सक्रिय रह्यो- मिसिनमार्फत् तामाङ भाषाका हरफहरू हेर्नका लागि र आफ्नो मातृभाषाले उचाइँ पाउँदाको खुसी अनुभूत गर्नका लागि।

म यहाँनिर अरासेली सेगाराको लामो सय मिटरको घटना सम्झन्छु : सन् १९९८ मा स्पेनकी अरासेली सेगारा तेन्जिङ नोर्गेको छोरा जम्लिङ नोर्गे शेर्पासँग सगरमाथा चढ्न गइन् र सगरमाथाको अन्तिम १०० मि. उनको जीवनको सबैभन्दा लामो लागेको कुरा व्यक्त गरेकी छिन्। उनले ‘Only 100 meter left but it is a longest 100 meter in my life’ (अब मात्र सय मिटर बाँकी छ तर यो मेरो जीवनमा सबैभन्दा लामो सय मिटर हो) भनेकी छिन् (हे० Everest (1998 IMEX documentary)। सेगारालाई अन्तिम १०० मिटर उक्लन अत्यन्त कठिन भएजस्तै इन्द्र तामाङका टोलीलाई परियोजनाको अन्तिम समय आआफ्ना जीवनको कठिनतम् समय ‘न निल्नु न ओकल्नु’को स्थितिमा पुगेको मैले महशुस गरेको थिएँ। म बेचराले उनीहरूलाई सान्त्वनासमेत दिन सकेको थिएन।

तामाङ राष्ट्रिय पुस्तकालयले काठमाडौँ विश्वविद्यालयको कम्पयुटर विभागसँग सहकार्य गर्न साउन ४, २०८२ (जुलाई २०, २०२५) मा ‘गुगल त्रैभाषिक मिसिन अनुवाद परियोजना’ मा हस्ताक्षर सम्पन्न भएको हो। अनुवादको लागि भाषाका पाँचवटा डोमेन (आर्थिक क्षेत्र)- कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति र सञ्चारका १०/१० हजार तामाङ वाक्य दरले एक लाख तामाङ वाक्य मिसिन अनुवादमा प्रवेश गराउनु थियो। हस्ताक्षरसँगै एकलाख नेपाली वाक्यको उपलब्धता प्रविधिक टोलीले गराएको र तारापुले पाँचजना अनुवादक छानेर एक-एकवटा डोमेनको जिम्मेवारी दिइएको थियो।

तेइस हजार वाक्यको प्रवेशपछि भाषा अनुवाद परीक्षणको लागि डिसेम्बर २६, २०२५ मा अनलाइन सार्वजनिक गरियो। यस दिनदेखि भाषिक समुदायले भाषा चेकजाँच गर्न सकिने भयो। अनि काठमाडौँ जिल्लाको शंखरापुर नपा-२ का स्थानीय तामाङ भाषी समुदायसँग (अप्रिल ६, २०२६) एक दिने कार्याशाला सम्पन्न भयो। समुदायले उदेक मान्दै अनुवाद कार्यलाई निकै रूचाएँ। यस प्रकारको सफलतापछि उत्साहित हुँदै बागमती प्रदेश सरकार (मे २१, २०२६), भाषा आयोग (जुन १, २०२६), प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय, सूचना प्रविधि विभाग (जुन ९, २०२६) मा उपलब्धि प्रस्तुत गर्ने काम भयो र आज हामी औपचारिक रूपमा नै समापन समारोह सम्पन्न गर्न उपस्थित भएका छौँ।

तामाङ भाषाको सन्दर्भमा हेर्दा ११ महिनाको हाम्रो सहकार्यबाट क) तामाङ-नेपाली ख) नेपाली-तामाङ ग) तामाङ-अङ्ग्रेजी र घ) अङ्ग्रेजी-तामाङ अनुवाद सम्भव भएको छ। यसपछि हाम्रो सक्रियता बाइ-प्रडोक्ट (उप-उत्पादन) को रूपमा (क) तामाङ पाठ पठन (टेक्स रिडिङ) (ख) तामाङ पाठ अनुवाद (ग) तामाङ मौखिक अनुवादतिर उन्मुख भएको छ। अनि तामाङ भाषामा ज्ञान राख्न चाहने जोसुकैले आफुलाई सहज हुने जुनसुकै लिपिमा लिप्यान्तरण प्रविधिबाट रोमन, देवनागरी, सम्भोटा, बङ्गाली-आसामी लिपिमा समेत सूचना सङ्कलन गर्न सकिने गरी हाम्रो जाँगर अगाडि बढ्दै छ। प्रारम्भिक चरणको लिप्यान्तरणको उपलब्धि हासिल हुन थालेको पनि छ।

तामाङ-नेपाली-अङ्ग्रेजी त्रैभाषिक अनुवादबाट विशेष गरी नेपालका तीनै तहका सरकारहरू- सङ्घीय सरकार, प्रदेश सरकार र पालिका सरकारहरूलाई अत्यन्तै कम खर्चमा धेरै लाभान्वित हुनेछन्। मानवीय जनशक्ति विनै भाषा अनुवाद कार्य सम्पन्न हुनेछ। ‘नागरिक एप’को माध्यबाट नागरिकले आफ्नो मातृभाषामा सरकारी सूचना पाउन सक्नेछन्। यस कार्यको लागि प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयको चासो बढेको मैले महशुस गरेको छु।

नेपालका १६ लाख तामाङ समुदायको मातृभाषा गुगल अनुवाद (Google Translate) सेवामा प्रवेश भएपछि तामाङ भाषा विश्व भाषा हुनेछ जसले गर्दा नेपाली र अङ्ग्रेजी भाषामा रहेका अथाह ज्ञानको भण्डारमा तामाङ भाषीको पहुँच हुनेछ र आजसम्मको सञ्चित तामाङ ज्ञानको भण्डारमा अकल्पनीय अभिवृद्धि हुनेछ। अनि दैनिकी र पर्यटनका साथसाथै शिक्षा, सञ्चार र सरकारी कामकाजमा गुगल अनुवादले अपूर्व सहयोग पुर्याउनेछ। भविष्यमा अनुवाद सेवाका साथै सर्च, भ्वाइस सर्च, युट्युब सब-टाइटल आदिमा पनि यसको सेवा विस्तार हुनेछ। हालसम्म नेपाली भाषा, मैथिली भाषा (सन् २०२२) र नेवाभाषा (सन् २०२४) ले मात्र गुगल अनुवादमा प्रवेश पाएका छन्।

मेरो विचारमा तामाङ भाषाले लिनु पर्ने भाषिक उचाइ लिइसकेको छ। मानवको उचाइ वृद्धि (growth plate) २०-२१ वर्षपछि स्थिर भएजस्तै तामाङ भाषाको आफ्नो उचाइँ स्थिर भइसकेको छ। मातृभाषाको निम्नतम् तह परिवारमा बोलचाल गर्नु हो भने उच्चतम् तह सरकारी कामकाजमा प्रयोग हुनु हो। तामाङ भाषा सञ्चार, शिक्षा हुँदै बागमती प्रदेशको सरकारी कामकाजको भाषा बनिसकेको छ। अब यस भाषाले जीवनता रहनका लागि निरन्तर पोषण तत्व लिनु पर्ने हुन्छ।

कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति र सञ्चार क्षेत्रका एक लाख वाक्यको प्रवेशपछि अब कानुनी र प्रशासनको आर्थिक क्षेत्रमा तामाङ अनुवादले प्रवेश गर्दै विज्ञान र प्रविधिको क्षेत्रमा प्रवेश गर्नुपर्छ र १० लाख तामाङ वाक्य प्रवेश गराउनु सक्नु पर्छ। यसो गर्न सके तामाङ भाषालाई धेरथोर पोषण पुग्नेछ। यसबाट तामाङ भाषाले अङ्ग्रेजी र नेपाली ज्ञानको अथाह भण्डारणमा प्रवेश गर्न सक्नेछ। यहाँ के स्मरण गराउन चाहन्छु भने तामाङ भाषाका संरचनामा रहेका सबै खाले व्याकरणिक वाक्यले प्रवेश पाइसकेका छन्। अब शब्दभण्डारलाई प्राथमिकता दिएर परिभाषित तथा प्राविधिक शब्दावलीको अभिवृद्धि गर्नुपर्ने हुन्छ।

अन्त्यमा म एकजना मातृभाषा अभियन्ताको नाताले पनि तामाङ भाषाले प्राप्त गरेको यस अवसर र उचाइँ नेपालका सबै मातृभाषाले प्राप्त गर्न सकुन्। तीन तहका सरकार तथा भाषा-प्राविधिकहरूको ध्यान यसतर्फ जान सकोस्। सबै भाषाको जीवन्त हुन पाउने ‘भाषिक मानव अधिकार’ सुरक्षित होस् भन्दै यस सुअवसरको लागि आयोजकप्रति कृतज्ञता प्रकट गर्दै र यहाँ उपस्थित सबैप्रति हार्दिक आभार व्यक्त गर्दै म विदा हुन्छु। धन्यवाद!

अमृत योन्जन-तामाङ
अध्यक्ष, तामाङ राष्ट्रिय पुस्तकालय, काठमाडौँ।
असार २, २०८३। See less

(काठमाडौं विश्वविद्यालयले नेपाली, तामाङ र अंग्रेजी भाषामा आधारित त्रैभाषिक यान्त्रिक अनुवाद (मसिन ट्रान्सलेसन) गुगल अनुवाद सार्वजनिक कार्यक्रमको समापन कार्यक्रममा तामाङ भाषा एवं साहित्य विज्ञ अमृत योञ्जनले राखेको मन्तव्य)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!