अन्टार्कटिका दक्षिणी ध्रुवमा अवस्थित हिउँनै हिउँले ढाकिएको सातौं महादेश हो । त्यसको भ्रमण गरेपश्चात् जिवा लामिछानेद्वारा कोरिएको हृदयस्पर्शी यात्रा संस्मरण हो, अक्षत अन्टार्कटिका । अन्टार्कटिका पृथ्वीकै अत्यन्त संवेदनशील र अप्रभावित भूभाग हो । त्यहाँ पुग्नु आफैंमा साहस हो भने त्यसको यात्रानुभूतिलाई शब्दमा कैद गरेर पुस्तकको रुप दिनु आफैंमा एक चुनौती पनि हो ।
मेरो विचारमा अक्षत अन्टार्कटिका मानवकेन्द्रित (Anthropocentric) भन्दा अलिकति टाढा रहेर पर्याकेन्द्रित (Eco centric) दृष्टिकोणबाट लेखिएको साहित्यिक कृति हो। यसबारे आफ्नो पाठकीय धारणा राख्नुअघि पर्या साहित्य (Eco literature)को आधारभूत तत्वहरु के के हुन सक्छन् भनेर संक्षेपमा प्रष्ट्याउन चाहन्छु ।
मानव, वनस्पति, वन्यजन्तु तथा वायु, जल, माटो, ताप, आकाशजस्ता पञ्चमहाभूतबीचको अन्तरसम्बन्धलाई केन्द्रमा राखेर लेखिने साहित्य पर्या साहित्य हो । प्रकृति वर्णनमा मात्र सीमित नरही पर्या साहित्यले वातावरणीय सन्तुलन, पारिस्थितिक संकट, जलवायु परिवर्तन, प्रदूषण, संरक्षण, जैविक विविधता तथा प्रकृतिमा मानवीय हस्तक्षेपका प्रभावलाई अभिव्यक्त गर्दछ । सरल भाषामा भन्नुपर्दा परम्परागत साहित्यले मान्छेले भोगेको पीडालाई प्रकट गर्छ भने पर्या साहित्यले पृथ्वी अथवा प्रकृतिले भोगेको पीडालाई प्रकट गर्छ ।
अक्षत अन्टार्कटिका अध्ययन गर्दा यो कृति सघन रूपमा पर्यावरणीय चेतनाले लेखिएको पाइन्छ । यसले अन्टार्कटिकाको प्राकृतिक छटा, यसको वातावरणीय संवेदनशीलता र मानवीय गतिविधिसँग जोडिएका पर्यावरणीय चुनौतीलाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ ।
ऐतिहासिक, सामाजिक र मानव संवेदनाका कौतुहल जगाउने अन्तर्वस्तु त छन नै यसमा; त्यसको बाबजुत पनि विकास र विनाश, पर्यानारीवाद, प्रदूषण, जलवायु परिवर्तन, जैविक विविधता, बासस्थान अतिक्रमण, चोरीसिकार जस्ता इको राइटिङका आयामलाई पनि जीवन्त रूपमा पेस गरिएको छ।
सदियौँदेखि हिउँको बाक्लो पत्रमा पुरिएको महादिपमा पाइला टेकेपछि मनमा उत्पन्न भावलाई अभिव्यक्त गर्न शब्द नै नपुगेको जिवाले अनुभूत गरेका छन् । उनी लेख्छन्, ‘शब्दको निरीहता त अन्टार्कटिका पुगेपछि पो थाहा हुँदोरहेछ।’ अत्यन्त कठोर, निस्सार तर अद्भूत सुन्दरताले भरिएको परिवेशलाई जिवाले इतिहास र विज्ञानका तथ्याङ्कले सिँगार्दै रोमान्चित अनि सूक्ष्म ढङ्गले प्रस्तुत गरेका छन् ।
प्रतिव्यक्ति कार्बन फूटप्रिन्टलाई घटाएर जीउन जान्नु नै दिगो जीवनशैली (Sustainable lifestyle) अपनाउनु हो। यसैलाई मध्यनजर गर्दै जिवाले आजकलको पर्यटन व्यावसायमा कार्बन बजेटिङको आवश्यकता भएको तर्क प्रस्तुत गरेका छन् ।
उनी जर्मनदेखि हजारौं माइलको हवाई यात्रा तय गरेर अर्जेन्टिना पुग्छन् । अनि त्यहाँबाट पानी जहाजमार्फत अन्टार्कटिका पुगेका छन् । आफ्नो त्यस यात्राले कार्वन उत्सर्जन हुन पुगेको सम्बन्धमा लेखक सजग देखिन्छन् । यसो भनौं, जिवा कार्बन बजेटिङ र कार्बन अफसेटिङजस्ता विषयलाई पनि यात्रासँग नै जोडेर हिँडेका छन् ।
हाम्रा यस्तै गतिविधिका कारण वायुमण्डलमा अत्यधिक मात्रामा कार्वन ग्यास उत्सर्जन हुनु नै जलवायु परिवर्तन र वैश्विक तापमान वृद्धिको प्रमुख कारण हो । यात्राकै आरम्भमा ‘क्षमा गर, म अन्टार्कटिका घुम्न जाँदैछु’ भन्ने लेखकको भावात्मक अभिव्यक्ति वातावरणप्रति अनुभूत गरेको अपराधबोध हो । यहाँनेर अन्टार्कटिका पुगेका एक पर्यटक जिवा र पर्यावरणीय चेत लिएर जिइरहेका एक लेखक जिवाबीच नैतिक द्वन्द्व स्पष्ट रूपमा देखिन आउँछ । यसले लेखकको इको राईटिङ्मा परिपक्वताको प्रमाण पेस गर्दछ ।
अन्टार्कटिकामा धुलोको मसिनो कणसम्म लैजाने छुट छैन । प्रस्थान गर्नुअघि पानी जहाजका स्टाफले कमिज र पत्लुङ्का गोजी टकटकाउन लगाउँदा रहेछन् । पेङ्गुइन र शिलजस्ता जनावरबाट ५–१५ मिटर टाढा रहनुपर्छ। जैविक सामग्री लैजान निषेध छ । खाध्यान्नको एक दाना पनि अन्टार्कटिकाको जमिनमा छोड्न नपाइने नियम रहेछ । त्यहाँको पर्यटन व्यवस्थापनमा शून्य–प्रदूषणको नीति कडाइकासाथ अवलम्बन गरिएको रहेछ । यस्तो थाहा पाउँदा जिवाले आफ्नै देशको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापनका कमजोरीलाई सम्झिन पुग्दै व्यथित मन लिएर अन्टार्कटिकाको यात्रालाई निरन्तरता दिन्छन् ।
यसरी पुस्तकमा व्यक्तिगत यात्रा वर्णन त छँदैछ त्यो भन्दा पनि अझ पर्यावरणीय आत्मसमीक्षाको गहिरो प्रस्तुति छ। कृतिको अर्को रोचक र महत्त्वपूर्ण पक्ष जनावरलाई केन्द्रमा राखेर प्रस्तुत गरिएका दृश्यहरू हुन् । पेङ्गुइन, सिल र ह्वेल- यी तीन प्रजाति पुस्तकको केही अध्यायहरुमा मुख्य पात्रको रुपमा जीवन्त बनेर उबिएका छन् । पेङ्गुइनको सामूहिक अनुशासन, जोडी छान्ने प्रवृत्ति, अण्डा पार्ने कष्टपूर्ण क्षण, अर्को पक्षीले तिनको अण्डा चोर्न गर्ने संघर्ष, जीवनचक्र र प्रजनन प्रक्रियालाई वैज्ञानिक तथा भावनात्मक रुपमा चित्रण गरिएको छ । यसले जिवाको लेखनमा पर्यासाहित्यिकता झल्किएको आभास हुन्छ।
त्यो क्षेत्रमा ह्वेल र सिलहरूको इतिहास झनै भयावह रहेछ । यसलाई मैले १६–१९ औं शताब्दीमा अफ्रिकाबाट अमेरिका र बेलायततिर हुने ट्रान्सएटलान्टिक दास व्यापार (Slavery)सँग तुलना गरें । त्यतिबेला अफ्रिकाका मानिसलाई जबरजस्ती समातेर वा किनेर एटलान्टिक समुन्द्र पार गराई मजदुरका रुपमा प्रयोग गरिन्थ्यो । बिसौं शताब्दीको मध्यसम्म युरोपियनहरु ह्वेल र सिलको सिकार गरेर त्यसको मासु, बोसो र छालालाई संसारमा बेच्दा रहेछन् । यो ऐतिहासिक व्यापारलाई पुस्तकमा बडो रोचक तरिकाले वर्णन गरिएको छ।
ह्वेल र सिलको यस्तो गैरकानुनी धन्दालाई ‘ह्वेलिङ’ र ‘सिलिङ’ भनिँदोरहेछ। अंग्रेजीका यी दुई शब्दले मलाई खुबै आकर्षित गरे । अनि मैले सम्झे- ‘माइनिङ’ र ‘क्लाउड सिडिङ’जस्ता शब्दहरु। पृथ्वीको गर्भबाट कोइला, गिट्टिबालुवा, धातु उत्खनन् गर्ने कार्यलाई ‘माइनिङ’ र कृत्रिम वर्षा गराउने विधिलाई ‘क्लाउड सिडिङ’। यी विषयवस्तुमा पनि कसैले कुनै दिन लेख्ला र तिनलाई मैले पर्या साहित्य मानेर यस्तै समीक्षा कोरुला भनेर एकैछिन घोत्लिएँ पनि ।
ह्वेलिङ्ले गर्दा बिसौं शताब्दीको उत्तरार्द्धतिर समुन्द्रबाट ह्वेलको संख्यामा गम्भीररुपमा गिरावट आएछ। यसै सन्दर्भमा सन् २००० तिर नेपालमा गिद्दजस्ता प्राकृतिक कुचिकारको संख्या पनि गम्भीर रूपमा घटेको स्मरण गराउन चाहन्छु ।
त्यस्तो अमानवीय क्रूरताबाट ह्वेल मुक्त हुनपर्छ, समुद्रमा तिनको संख्या पुनर्स्थापित हुन आवश्यक छ भन्ने कुराको बोध भएपछि संरक्षणकर्मीहरुले ‘मिट अस, डन्ट इट अस’ नामको अभियान चलाइएको सन्दर्भ पुस्तकमा आएको छ । पारिस्थितिक पुनर्स्थापन (Ecological restoration) का यस्तै कुरा गर्नुपर्दा, गिद्दको संख्या पुनर्स्थापनार्थ नेपालमा हाल जटायु रेस्टुरेन्ट सञ्चालनमा छन्, जहाँ गाईभैंसीको सिनो ल्याएर गिद्दलाई खुवाइन्छ ।
अक्षत अन्टार्कटिकामा सामुन्द्रिक जिवहरुको संख्यामा आएको संकटप्रतिको संवेदना र उपभोक्तावादी तथा साम्राज्यवादी सिकार परम्पराप्रति लेखकको आक्रोश उल्लेखनीय छ । यसले पाठकलाई संरक्षण बहससँग सिधै जोड्छ । अन्तर्राष्ट्रियस्तरमा पर्यावरणीय समस्या के के रहेछन् र तिनको संरक्षणमा केकस्ता कार्य भएका छन् भन्ने जानकारी दिन्छ। म स्वयं पनि वातावरणीय संरक्षण (Environmental conservation)मा लामो समय काम गर्दै आइरहेको छु तथापि ह्वेलिङ र सिलिङ्को बारेमा यस अघिसम्म अनभिज्ञ रहेछु ।
यी सबै प्रसङ्गले पुस्तकलाई जन्तुकेन्द्रित कथन (Zoo centric narrative) को रुप दिन्छ। अर्थात् यहाँनेर जनावरको अस्तित्वलाई साहित्यिक विमर्शको मूल विषय बनाइएको छ ।
अक्षत अन्टार्कटिकालाई पर्यानारीवादी सोचबाट पनि विमर्श गर्न सकिन्छ । पहिला पहिला अन्टार्कटिकामा महिलालाई जान प्रतिबन्ध गरिएको रहेछ। डेनिश अन्वेषक क्यारोलिन मिक्केल्सन सन् १९३५ मा अन्टार्कटिका टेक्ने प्रथम महिला रहेछिन् । तर अन्टार्कटिकाको सामुन्द्रिक क्षेत्रमा ह्वेल र सिलको सिकार खेल्न जाँदा जहाजमा महिलाहरुलाई पनि लगिँदोरहेछ जसलाई ‘ह्वेलिङ वाइभ्स’ भनिँदोरहेछ ।
यसरी लेखकले प्रकृतिलाई स्त्री समान संवेदनशील र असुरक्षित मान्दै आफ्नो लेखनलाई महिलासुलभ स्पर्श (Feminine touch) दिएका छन् ।
साहित्यमा मानवीय संवेदना आएन भने नियास्रो महसुस हुन्छ। लेखकले त्यो यात्रामा श्रीमती र छोराहरुलाई पनि जोडेर लेखनलाई पारिवारिक स्वाद दिएका छन् । घरमा कुरेर बसेकी श्रीमतीलाई सम्झेर अन्टार्कटिकाबाट लेखेको पत्र लेखक आफैं घर आइपुगेपछि बल्ल हुलाकीले ल्याइदिएको घटना रोचक छ । कृतिको अन्तमा छोरा अनुरागले जिवालाई लेखेको चिठी कृतिको सार हो भने पनि हुन्छ। उक्त पत्रमा आजका पुस्ता आफ्ना वरिपरिका वातावरणप्रति कति संवेदनशील छन् र वातावरणलाई जोगाउनु पर्ने आवश्यकताप्रति कति सचेत छन् भन्ने दृष्टान्त आउँछ। आजका किशोरकिशोरीहरू जलवायु चिन्ता (Climate Anxiety) बाट ग्रसित छन् । त्यसको संकेत अनुरागको पत्रमा पाउन सकिन्छ । मान्छेले आज आफू जति सभ्य भएको दाबी गरे तापनि पृथ्वीप्रति उसको दायित्व त्यति नै कमजोर बन्दै गैरहेको छ । अन्टार्कटिकाजस्तो अक्षत भूभाग आज नाजुक अवस्थामा छ र पृथ्वीका अरू स्थानहरू त झनै जोखिममा छन् ।
अन्टार्कटिका पृथ्वीको ‘अन्तिम अक्षत स्थल’ भएकाले यसलाई मानवीय अतिक्रमणबाट जोगाउनुपर्छ भन्ने दलीलले यो पुस्तकलाई साँच्चै अर्कै उचाइमा पुर्याएको छ।
आफूले गरेको यात्राले वातावरण क्षति हुनबाट मुक्त छैन भन्ने लेखकको स्विकारोक्ति सह्रानीय छ । जीवा जस्तो एक सहरमा बस्ने आधुनिक मानव, प्रकृतिसँग साक्षात्कार हुँदै, पृथ्वीको अन्तिम अप्रभावित स्थलमा पुगेर, रोमान्चित अनुभव बटुल्नु सकारात्मक पक्ष भए पनि त्यो यात्राले स्वयं प्रकृतिलाई नोक्सान पुर्याइरहेको चिन्ता कृतिभरि प्रतिध्वनित छ।
अक्सर नियात्राहरू व्यक्तिगत वर्णनमा सीमित रहेको पाइन्छन् । तर समग्रमा अक्षत अन्टार्कटिका पर्यावरणीय चेतनाले भरिएको; वैज्ञानिक तथ्य, अनुभूति र नैतिकताको मिश्रण; प्राकृतिक सौन्दर्य, भूगोल, हिमविज्ञान (Glaciology), जीवविज्ञान; इतिहास, राजनीतिशास्त्र र साहित्य समिश्रणको कृति हो । यसले केवल अन्टार्कटिकाको वर्णन मात्र गरेको छैन मानव जातिको प्रकृतिसँगको असमान सम्बन्ध र प्रकृति संरक्षणमा हाम्रो सामूहिक जिम्मेवारीलाई पुनर्विचार गर्न झकझकाउँछ। यस अर्थमा अक्षत अन्टार्कटिकालाई नेपाली इको साहित्यमा एउटा कोशेढुङ्गाको कृतिको रुपमा लिन सकिन्छ ।
अन्त्यमा, जिवा लामिछानेको अक्षत अन्टार्कटिका केवल यात्रा वृत्तान्त होइन; यो पर्यावरणीय चेतना, पारिस्थितिक संवेदनशीलता र प्रकृतिसँगको सहअस्तित्वबोधको गहिरो साहित्यिक कृति हो। पृथ्वीको अतिसंवेदनशील भूभागमध्ये एक मानिने अन्टार्कटिकालाई विषयवस्तु बनाएर प्रस्तुत गरेको यो लेखनशैलीले पारम्परिक मानवकेन्द्रित कथ्यबाट बाहिर निस्केर इको साहित्यको सिद्धान्तसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेको पाइन्छ।
नेपाली साहित्यका विभिन्न विधामा यस्तै पर्या साहित्यका कृतिहरु आउँदै गरुन् । किनकि पर्या साहित्यमार्फत वातावरण/प्राकृतिक संरक्षणको जनचेतना फैलाउन हामी सबै साहित्यकार/लेखक लाग्नु पर्ने अहिलेको आवश्यकता हो ।
फक्सटन, यूके- फेब्रुअरी २०२६


