लन्डन ४ अप्रिल २०२६ । बेलायतमा बसोबास गर्दै आएका गीतकार एवं गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियान्ता विनय अधिकारीको रचना रहेको नयाँ गीत ‘लुकी लुकी’ सार्वजनिक गरिएको छ।
चर्चित गायक रामजी खाड र गायिका शान्तीश्री परियारको स्वरमा सजिएको उक्त गीत शुक्रबार विनय अधिकारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा विनय अधिकारी र कृष्ण लामिछानेको संयुक्त शब्द रचना रहेको छ भने संगीत संयोजन कृष्ण लामिछानेकै रहेको छ। एरेन्ज महेन्द्र भण्डारीले गरेका छन्।
गीतको भिडियोमा सुनिल क्षेत्री, विनय अधिकारी, करिष्मा श्रेष्ठ, अस्मिता जुरेली, जुना कार्की, पार्वती श्रेष्ठ र तिर्सना बराइलीको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन्।
त्यस्तै, कोरियोग्राफी अबि वाग्ले र रितेश सिन्जाली मगरले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् । भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन्।
बेलायतवासी गीतकार विनय अधिकारीका नयाँ प्रस्तुतिलाई दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने अपेक्षा गरिएको छ । युवा व्यवसायी अधिकारीको यसअघि ‘युके बस्ने माया’,‘दुनियाँ लठ्ठै छ’बोलको गीत बजारमा आइसकेको छ ।
नेपालको कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित अधिकारीले सांगीतिक क्षेत्रमा लगानी गरिरहेको बताएका छन् । उनी नेपालमा कोही कसैलाई समस्या पर्दा खुल्ला दिलका साथ सहयोग गर्ने मनकारी अभियन्ताका रुपमा पनि चिनिन्छन् । गोर्खामा विभिन्न विद्यालय, स्वास्थ्य चौकीको स्तरोन्नतिदेखि त्यहाँको जनताको शिक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष सहभागी भएर सहयोग गरिरहेका छन् ।
अधिकारी बेलायतमा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय अधिकारी गोर्खाली समाजको समेत नेतृत्वकर्ता हुन् ।
(थेगो):
हुन्न दायाँबायाँ
केटा: भाग्यमानि रैछु र मैसाब हजुर पायाँ
केटि: भाग्यमानी रैछु र मौसुब हजुर पायाँ
(१ केटा):
कमल फुल टास्से झै हिलैमा
मेरि सानू टास्सिन यो दिलैमा
(२ केटि):
फकाइ फकाइ आडैमा बसाइस्यो
थाहै न दि मायामा फसाइस्यो
(३ केटा):
जब तिम्रो कम्मर लर्कन्छन
ध्यानमा बस्या ऋषिनी फर्कन्छन
(४ केटि):
मरि हत्य तिम्लेनी गर्याहौ
राम्री छु र पछाडी पर्याहौ
(५ केटा):
मलाइ तिम्रो नजरले हानेको
तिम्लाइ मेरो पिआरले तानेको
(६ केटि):
मुरि हैन रोजेको मानुलाइ
अझै शंका छर केही सानुलाइ
(७ केटा):
अब किन अप्ठ्यारो मान्छ्यौ
यूके आछ्यौ काँ जान्छ्यौ के खान्छ्यौ
(८ केटि):
केटा केटि हरुको हुल जानी
पिज्जा खानि हल्लिने पुल जानि
(९ केटा):
काखमा राख्दै गालामा चुम्नी हो
मेट्रो रेल चढेर घुम्नी हो
(१० केटि):
घुम्न पाउँदा कस्ले नाइ भन्छर
लगे हुन्छ काँ लान मन्छर






