आज हामी हाम्रा
स्रष्टाहरूको सम्झनामा
हृदयका पत्र-पत्रभित्र प्रेमले
आदर, सम्मान भरिरहेका छौँ
अक्षर र शब्दका ती पवित्र
देवालयहरूलाई फेरि मनदेखि
नमन गर्दै परिक्रमा गरिरहेका छौँ
जहाँ,
भूपि शेरचनका यक्ष प्रश्नहरूले
व्यवस्था नै झस्काईरहन्छ
मान्छेहरूको अनुहारमा
यो समयको धूलो उडाईरहन्छ
जहाँ,
मास्टर मित्रसेनको स्वरले
पर्खालको भित्ता भत्काएर सबको
हृदयको ढोका ढकढकाउन पुगिरहन्छ
र तिनको लोक धूनले पनि
तालमा ताल मिलाउँदै
नेपाली जनताको नाडी छाम्दै
मुटु नै छिचोल्न पुग्छ
जहाँ,
कवि शिरोमणि
लेखनाथका श्लोकहरू
गंगा नदी जस्तै अविरल बगिरहन्छन् र
वातावरणमा सुसेल्दै गुञ्जिरहन्छन्
अनि
कर्तव्य, जिम्मेवारी र करुणाबाट
शव्दहरूको धर्मशाला ठडाई रहन्छन्
जहाँ,
अमर गुरुङले
कविता, गीत र क्रान्तिको बीचमा
आफ्नै स्वरको मशाल जलाएर
गीतहरू यसरी गाए कि,
आफ्ना शब्दलाई नै अँध्यारो काट्ने
उज्यालो दीपक वा भुईं बत्ती बनाए
जहाँ,
लैनसिंह वाङ्देलको सिर्जना मुस्कुराए
चित्र र शैलीभित्र उनले
आफ्नो सीप र कलाको आत्मा भरे
र सौन्दर्यको नयाँ मानचित्र बनाए
यी सबै सिर्जनाका
अनमोल, अनन्त ज्योतिहरू हुन्
जुन कहिल्यै निभ्दैनन्
समयको पनि हर आउने समयमा
शान्त र स्थीर शिरताज झैं
प्रज्वल्लित भएर झल्किरहन्छन्
अजर अमर भई टल्किरहन्छन्
आज स्रष्टा दिवसको
पवित्र क्षणमा मुग्ध भएर
हामी स्मृति मात्र होईन
सिर्जनालाई पनि नमन गर्दछौँ
किनकि,
जसले शब्द बुन्यो
उसले कहीं न कहीं देश बुनेको छ
जसले मुक्त कण्ठले गीत गुन्जायो
उसले जनताको आवाज उठाएको छ
जसले कला सिर्जना गऱ्यो
उसले देशको इतिहास चिनाएको छ
त्यसैले मलाई लाग्छ
स्रष्टाहरू मरेर हराएको हुँदै होईन
उनीहरू त आफ्ना कृतिमा बाँचेर
अमर कला र शब्दहरूद्वारा
बोलिरहेका अनन्त आवाजहरू हुन्
हाम्रो समाजको आत्मा बनेर
आवश्यक पर्दा काँचुली फेरेर
नयाँ यात्रामा निस्कने सहासहरू हुन्
त्यसैले
प्रत्येक पुस्ताले नयाँ सास र
क्यानभासद्वारा युगान्तरसम्म
नयाँ अर्थ दिईरहून् र
स्रष्टाहरूको प्रकाश
हाम्रो चेतनाभरि सधैं झल्किरहून्
र सधैं यसरी नै टल्किरहून् ।






