कास्की / SK- चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा आगामी २०८३ साल बैशाख २५ र २६ गते कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका–८ स्थित सुन्दर ल्वाङ गाउँमा “सिनेमा संवाद” कार्यक्रम आयोजना हुने भएको छ। नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे गहन छलफल गर्ने उद्देश्यले आयोजना हुन लागेको यो कार्यक्रम यसअघि घान्द्रुक, सिक्लेस र घले गाउँमा सफलतापूर्वक सम्पन्न भइसकेको छ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, चिया बगान र सांस्कृतिक सम्पदाले भरिपूर्ण ल्वाङ गाउँ नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यका रूपमा चिनिन्छ। नेपाल सरकारबाट समेत पुरस्कृत यस गाउँमा हालसम्म थुप्रै नेपाली चलचित्र र म्युजिक भिडियोहरूको छायांकन भइसकेको छ। हरेक वर्ष हजारौँ पर्यटक भित्रिने यस गाउँमा अब सिनेमा क्षेत्रको विकाससँगै “ओपन फिल्म स्टुडियो” बन्ने सम्भावना पनि बढ्दै गएको छ। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै गाउँलेहरूमा कला र सिर्जनात्मक क्षेत्रमा आकर्षण समेत बढाएको देखिन्छ।
तर, यस सकारात्मक सम्भावनासँगै केही चुनौतीपूर्ण पक्षहरू पनि सतहमा आएका छन्। विशेषगरी ‘प्रसाद–२’ चलचित्रको छायांकन टोलीले ल्वाङ गाउँमा करिब एक महिनासम्म बसेर काम सम्पन्न गरेपछि स्थानीय होमस्टे तथा गाउँलेहरूलाई भुक्तानी नगरेको विषय अहिले पनि विवादकै रूपमा रहेको छ। करिब १४ लाख रुपैयाँ बराबरको बिल अझै भुक्तानी हुन बाँकी रहेको र टोलीले खाली बैंक चेक दिएको आरोप स्थानीयवासीले लगाएका छन्।
यस विषयमा सम्बन्धित निकायमा निवेदन दिइए पनि अहिलेसम्म ठोस समाधान नआएको गुनासो स्थानीयहरूको छ। यस घटनाले गाउँलेहरूमा सिनेमा टोलीप्रति अविश्वास र त्रास पैदा गरेको छ। यदि यस्तै प्रवृत्ति दोहोरिँदै जाने हो भने गाउँस्तरमा हुने छायांकनप्रति नकारात्मक प्रभाव पर्ने र समग्र नेपाली चलचित्र क्षेत्रकै भविष्य प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
यही सन्दर्भमा ल्वाङमा आयोजना हुन लागेको “सिनेमा संवाद” कार्यक्रममा यो मुद्दा प्रमुख एजेण्डाका रूपमा उठ्ने अपेक्षा गरिएको छ। चलचित्र निर्माण टोलीहरूले स्थानीय समुदायसँगको सहकार्य, आर्थिक पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने आवाज बलियो बन्दै गएको छ।
साथै, नेपाली चलचित्र क्षेत्र पछिल्लो समय बजारमुखी बन्दै गएको, चलचित्रले कमाएको रकमलाई मात्र सफलता मापनको आधार बनाउने प्रवृत्ति बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गरिएको छ। चलचित्रले समाजमा कस्तो प्रभाव पार्यो, कति सकारात्मक परिवर्तन ल्यायो भन्ने विषय ओझेलमा परेको आलोचना समेत भइरहेको छ।
ल्वाङ गाउँको यो सिनेमा संवाद कार्यक्रमले नेपाली चलचित्र क्षेत्रलाई उत्तरदायी, विश्वसनीय र दिगो दिशातर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ। साथै, स्थानीय समुदाय र चलचित्रकर्मीबीचको सम्बन्ध सुदृढ गर्दै भविष्यका लागि स्पष्ट मार्गनिर्देशन दिने विश्वास आयोजकहरूले लिएका छन्।






