आफ्नै जरा खोज्दै : छिरिङ र सोनामको रूपान्तरणको यात्रा !

SHARE:

  • शिब कुमार गुरुङ

केही दिनअघि युट्युबमा विद्या चापागाईंले प्रस्तुत गर्नुभएको ‘हेर्ने कथाको एपिसोड १६५ — छार्का स्कुल र सोनामको कथा — हेरेपछि मनमा अनेक विचारहरू तरङ्गित भए। ती अनुभूति र भावनालाई शब्दमा उतार्ने प्रयासस्वरूप यो लेख तयार गरेको हुँ । “समुद्र सतहबाट ४,००० मिटरभन्दा माथिको उचाइ, जहाँ हामीजस्ता तल्लो भेगका मानिसहरूलाई सास फेर्नसमेत कठिन हुन्छ र बाँच्नका लागि प्रकृतिसँग हरेक क्षण सङ्घर्ष गर्नुपर्छ।”

यो दृश्यले मलाई एउटा गहिरो सत्यसँग साक्षात्कार गरायो— विकास भनेको सहरमा थुप्रिएका सिमेन्टका संरचना मात्र होइन। वास्तविक विकास त छिरिङ र सोनामजस्ता युवाहरूको सोच र समर्पणमा निहित हुन्छ, जसले सुविधा र अवसरले भरिएको सहरको जीवन त्यागेर आफ्नै गाउँमा परिवर्तनको बीउ रोप्ने साहस गर्छन्।

छिरिङको सङ्घर्ष र शैक्षिक क्रान्ति !
विकट छार्का भोटमा जन्मिएका छिरिङ गुरुङको बाल्यकाल झन्डै १० वर्षसम्म गोठालो जीवनमै बित्यो। पछि बौद्ध शिक्षा अध्ययनका लागि काठमाडौँ जाने अवसर पाएका उनको जीवनयात्रा अत्यन्त प्रेरणादायी छ। काठमाडौँमा आधारभूत शिक्षा हासिल गरेपछि उनले चित्रकलाप्रतिको आफ्नो रुचिलाई पछ्याउँदै देश–विदेश घुम्ने, नयाँ अनुभव सँगाल्ने र फराकिलो संसारलाई नजिकबाट बुझ्ने अवसर पाए।

तर, बाहिरी संसार जति विशाल देखिए पनि उनको मन भने सधैं आफ्नै गाउँको अभाव, पीडा र पछौटेपनमै अल्झिरह्यो। गाउँको विद्यालय पूर्ण रूपमा सम्हाल्नुअघि उनले नजिकैको अर्को गाउँमा शिक्षण पेसा अपनाउँदै जीविकोपार्जनसँगै आफ्नो कला साधनालाई पनि निरन्तरता दिए।

सन् २०१२ तिर गाउँको सरकारी विद्यालय शिक्षक र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेपछि छिरिङले जीवनकै साहसी निर्णय लिए। उनले व्यक्तिगत सुविधा, स्थायित्व र सम्भावनायुक्त भविष्यलाई थाती राख्दै आफ्नै गाउँ फर्किने अठोट गरे। त्यसपछि सन् २०१४ देखि आफैंजस्तै काठमाडौँमा अध्ययन गर्ने अवसर पाएका साथीहरूको सहयोग जुटाउँदै उनले जीर्ण विद्यालय भवनलाई पुनर्जीवन दिन थाले। सुरुमा पाल टाँगेरै भए पनि उनले विद्यालय सञ्चालनलाई निरन्तर अघि बढाए।

आज, उनकै अथक् मिहिनेत, समर्पण र दूरदर्शी सोचका कारण गाउँका बालबालिकामा शिक्षाको उज्यालो फैलिएको छ। छिरिङ केवल एक शिक्षक होइनन्; उनी दुर्गम गाउँको भविष्य बदल्ने सपना बोकेका एक प्रेरणादायी अभियन्ता हुन्। उनी भन्छन्, “पहिले हामी बाह्य संसारबाट टाढा थियौँ र आफ्नै किसिमले आत्मनिर्भर थियौँ, तर अब हामी ‘ग्लोबल भिलेजसँग जोडिनु आवश्यक छ।”

मुस्ताङदेखि छार्का जोड्ने सडक अब केही किलोमिटर मात्र बाँकी छ। बाटो जोडिएपछि आउने परिवर्तनलाई आत्मसात् गर्न गाउँलाई मानसिक र शैक्षिक रूपमा तयार पार्न उनी निरन्तर खटिएका छन्। शिक्षा, स्वास्थ्य र पूर्वाधार नै गाउँ विकासका मुख्य आधार हुन् भन्ने उनको अटल विश्वास छ।

सोनामको त्याग, समर्पण र आमाप्रतिको प्रेम!
सोनाम भुटी गुरुङको कथा झनै हृदयस्पर्शी छ। बाल्यकालमै पिताको छायाँ गुमाएकी सोनामलाई शिक्षित बनाउन उनकी आमाले गरेको सङ्घर्ष अविस्मरणीय छ। नेपाली भाषा नबुझ्ने ती आमाले मितबुवाको सहयोगमा छोरीको उज्ज्वल भविष्यका लागि १०–१२ दिनसम्म कठिन हिमाली यात्रा पार गर्दै उनलाई काठमाडौँको विद्यालयमा भर्ना गराएको प्रसङ्गले जोकोहीको मन छोइरहन्छ। झन्डै ६–७ वर्षपछि आमासँग पुनर्मिलन हुँदा सोनामले आफ्नो मातृभाषा बिर्सिसकेकी थिइन् भने आमाले नेपाली बुझ्न सक्दिनथिन्। तर, भाषा हराए पनि माया हराएको थिएन। आत्मीयता र स्नेहले त्यो दूरी सजिलै मेटाइदियो।

एसईईपछि उच्च शिक्षाका लागि आर्थिक अभाव हुँदा छिरिङले उनलाई एउटा सर्तमा सहयोग गरे— “पढाइ सकेपछि गाउँकै विद्यालयमा फर्केर सेवा गर्नुपर्ने।” सोनामले यो सर्तलाई केवल सम्झौता नभई आफ्नो कर्तव्य र धर्मका रूपमा स्वीकारिन्। त्यसपछि उनी गाउँकै विद्यालयमा साना बालबालिकालाई शिक्षण गर्दै आफ्नो प्रतिबद्धता पूरा गर्न लागिन् । गाउँको भविष्य उज्यालो बनाउन उनको योगदान अत्यन्त प्रेरणादायी छ। तर सोनामको समर्पण यतिमै सीमित थिएन। उनले आमाले जीवनभर भोग्नुपरेको दुःख नजिकबाट देखेकी थिइन्। त्यसैले विद्यालयको जिम्मेवारीसँगै उनी पुर्ख्यौली बाख्रा गोठमा आमालाई सघाउँदै उनको बोझ हल्का गर्ने प्रयास गर्थिन् । यो केवल सहयोग मात्र थिएन; आमाप्रतिको सम्मान, कृतज्ञता र प्रेमको गहिरो अभिव्यक्ति थियो।

उनको कथा पढ्दा र सुन्दा मलाई आफ्नै बाल्यकालको सम्झना आउँछ। म पनि हिउँदमा बिहानै उठेर खेतबाट पराल बोक्दै र बर्खामा घाँस काटेर मात्र विद्यालय जान्थेँ। त्यसैले, आजको डिजिटल युगका अनगिन्ती अवसरहरूबीच पनि २–३ घण्टाको उकालो–ओरालो पार गर्दै गाउँमै शिक्षणमा समर्पित सोनामप्रति सम्मान अझ गहिरो हुन्छ। उनी आजको पुस्ताका लागि प्रेरणाको जीवित उदाहरण हुन् ।

हालै उनले काठमाडौँ आएर ब्याचलर्स तहको अध्ययन सुरु गरेको खबर उनको टिकटक र फेसबुकमार्फत थाहा पाउँदा अत्यन्त खुसी लाग्यो। ‘हेर्ने कथा को एपिसोड १६५ पछि आफूलाई धेरै मानिसहरूले चिन्ने र माया गर्ने गरेको अनुभूति उनले व्यक्त गरेकी रहिछिन्।

यो केवल उनको व्यक्तिगत सफलता मात्र होइन, दुर्गम गाउँबाट उठेको एउटा सपनाले समाजमा पाएको सम्मान पनि हो।
आशा छ, उच्च शिक्षा पूरा गरेर उनी अझ परिपक्व, निखारिएको र आत्मविश्वासी भएर फेरि आफ्नै गाउँको माटो र समाजको विकासतर्फ फर्किनेछिन्। किनकि यस्ता युवाहरू नै वास्तविक परिवर्तनका आधार हुन्।

राज्यको उपस्थिति र आर्थिक सम्भावना !
यो कथाले राज्य संयन्त्रप्रति गम्भीर प्रश्न पनि उठाउँछ। हामी दसैँमा बथानका बथान च्याङ्ग्रा देख्छौँ, तर ती कुन दुःख र मेहनतले यहाँसम्म आइपुग्छन् भन्नेबारे कमै सोचिन्छ। उपल्लो डोल्पाका यी गाउँहरू भेडा–च्याङ्ग्रा पालनका लागि अत्यन्त उपयुक्त छन्। यदि राज्यले यस्ता वास्तविक कृषकहरूलाई सहुलियत, तालिम र बजार पहुँच प्रदान गर्न सके, देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्न सक्छ। तर विडम्बना, राज्य अझै यसतर्फ पर्याप्त रूपमा संवेदनशील देखिँदैन।

निष्कर्ष
छार्का भोटको कथा केवल एउटा दुर्गम गाउँको सङ्घर्ष होइन, यो दृढ इच्छाशक्ति भए जहाँसुकै पनि परिवर्तन सम्भव छ भन्ने सशक्त उदाहरण हो । जबसम्म गाउँका युवाहरू आफ्नै माटोको सुगन्ध बिर्सेर सहर वा विदेशमा मात्र हराइरहन्छन्, तबसम्म देशको समग्र विकास अधुरै रहन्छ। छिरिङ र सोनामले देखाएको बाटो नै वास्तविक रूपान्तरणको मार्ग हो।

अन्त्यमा, हेर्ने कथा टोली र विद्या चापागाईंप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु। राज्यको पहुँच नपुगेका ठाउँहरूमा पुगेर त्यहाँका लुकेका कथा र हीराजस्ता युवाहरूलाई संसारसामु ल्याइदिनुभएकोमा हार्दिक धन्यवाद। यस्ता कथाहरूले नै हामीलाई आफ्नो माटोप्रति जिम्मेवार बन्न प्रेरित गर्छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!