लन्डन। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा आगामी ३० मे २०२६ शनिबारका दिन “नवौँ लोक दोहोरी स्वर्णिम साँझ” भव्य रूपमा सम्पन्न गर्नका लागि तयारी अवस्थामा रहेको जानकारी प्राप्त भएको छ।
नेपाली लोक सङ्गीत र लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले संस्थाले हरेक वर्ष यो विशेष कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै आइरहेको छ। यस वर्षको कार्यक्रमलाई थप उत्कृष्ट र आकर्षक बनाउन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति रहने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल युके शाखाको अध्यक्ष मंसुधन थापा मगरले जनाएका छन्।
विगतका वर्षहरूमा जस्तै यस पटकको नवौँ संस्करणलाई पनि भव्य र सभ्य रूपमा सफल पार्न संस्थाका अध्यक्ष, संरक्षक, कार्यसमिति, सल्लाहकार, विभिन्न सहरका संयोजक, आजीवन तथा साधारण सदस्यहरू र सम्पूर्ण लोक तथा दोहोरी गीत पारखीहरूको साथ, सल्लाह, सुझाव र आशीर्वादको अपेक्षा गरिएको छ। संस्थाप्रति सदावहार रूपमा प्राप्त हुँदै आएको अगाध माया र सद्भाव अतुलनीय रहेको स्मरण गर्दै आयोजक समितिले यस वर्ष पनि सबैबाट स्वैच्छिक रूपमा स्पोन्सरसिप (Sponsorship) मार्फत सहयोग मिल्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमलाई व्यवस्थित रूपमा अगाडि बढाउन र पूर्वतयारीलाई सहज बनाउनका लागि आयोजकले आकर्षक स्पोन्सरसिप योजना समेत सार्वजनिक गरेको छ। जसअन्तर्गत ५० पाउन्डको ‘सिल्भर स्पोन्सर’ गर्ने सहयोगीले एउटा टिकट र १०० पाउन्डको ‘गोल्डेन स्पोन्सर’ गर्ने सहयोगीले दुईवटा निःशुल्क टिकट प्राप्त गर्नेछन्। साथै, स्पोन्सर गर्ने महानुभावहरूको तस्बिर कार्यक्रम अवधिभर हलको मुख्य स्क्रिनमा पावरपोइन्टमार्फत प्रदर्शन गरिने भएको छ।






