विचार : संसद्को गरिमा कि राजनीतिक अलमल ?

SHARE:

संसद्मा देशको लागि आवश्यक कानुनहरू निर्माणको बारेमा झिनो बहस पनि सुनिँदैन । सांसदहरूले संसद्मा समस्याहरूको बारेमा बोलेको सुनिन्छ तर ती समस्याहरूको एकमुस्ट समाधान गर्न सक्ने नीति र कानुनहरू निर्माण गर्न निरन्तर आवाज उठाएको सुनिँदैन र सहकार्य गरेको पनि देखिँदैन ।

हिजोका दिनहरूमा अधिकांश सांसदहरूले संसद्मा समस्याहरू उठाए तर संविधानले सुनिश्चित गरेका मौलिक ह लगायत अन्य हक तथा अधिकारहरूको कार्यान्वयनको लागि कानुन बनाउन चासो र तत्परता देखाएनन् र सहकार्य गरेनन् । आजका अधिकांश सांसदहरूले पनि त्यही दोहोर्‍याउँदै छन् । हिजोका अधिकांश सांसदहरूले जे जे गल्तीहरू गरे, आजका अधिकांश सांसदहरूले पनि त्यही त्यही गल्तीहरू दोहोर्‍याउनै छन्। सङ्घको सांसदका अधिकांश सांसदहरूले जे गल्ती गर्दै छन् , प्रदेश सभाका अधिकांश सांसदहरूले पनि त्यही गल्ती दोहोर्‍याउनै छन् । किन?

सानो सानो समस्याहरूमा अलमलिएर र पूर्वाग्रही विवादहरूमा अल्झिएर सांसदहरूले सांसदबाट कानुन बनाउने र सहकार्य गर्ने महत्त्वपूर्ण कार्यलाई कहिलेसम्म पन्छ्याई रहने हो र कहिले सम्म विश्राम दिई रहने हो ?

किन सांसदबाट कानुनहरू बन्न लामो समय लाग्छ वा चाहिएको जरुरी कानुनहरू नै आवश्यक समयावधि भित्र बन्दैनन् ?

किन नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हक लगायत अन्य हक तथा अधिकारहरू कार्यान्वयन गर्ने कानुनहरू सांसदबाट अहिलेसम्म बन्न सकेका छैनन् ? जबकि नेपालको संविधान सभाबाट संविधान जारी भएको दश वर्ष भन्दा बढी नै भई सक्यो ।

नेपालको संविधानलाई कार्यान्वयन गर्ने र गराउने कार्यका लागि कानुनहरू तत्काल निर्माण गर्न किन सांसदहरू तत्पर देखिँदैनन् ?

नेपालको संविधानमा लेखिएका मौलिक हक लगायतका हक तथा अधिकारहरूको कार्यान्वयन गर्न कानुनहरू बनाउने कार्यमा संसद् र सांसदहरू व्यस्त देखिँदैनन्।

सांसदहरूले आफ्नो मुख्य कार्यभार भन्दा बाहिरको विषयहरूको बारेमा गन्थन मन्थन गरेर आफ्नो महत्त्वपूर्ण समय खेर फालिरहेका छन् र असमञ्जसमा परेर उदासीन जस्तो देखिन्छन् ।

संसद्को गरिमा राख्ने र बढाउने कार्य गर्ने दायित्व र कर्तव्य सांसदहरूको नै हो ।

संसद् र सांसदहरूको प्रमुख काम, कर्तव्य र अधिकार अति आवश्यक परेमा संवैधानिक प्रक्रियाबाट संविधानको संशोधन गर्नु र कानुनहरू निर्माण गर्नु नै हो ।

तर, नेपालको वर्तमान संविधान जारी भएको पनि दश वर्ष भई सक्यो । यो समयावधिमा धेरै मानिसहरू सांसद भए । सांसदको काम, कर्तव्य, अधिकार र भूमिकाको बारेमा कतिपय सांसदहरू नै अनभिज्ञ जस्ता देखिए । मुद्दा र विषयहरूको प्राथमिकता छुटाउने विषयमा दुबिधामा परेको देखियो ।

तर संसद्मा कानुन निर्माण गर्ने क्रममा गम्भीर बहसहरू भएका उदाहरणहरू नै करिब करिब छैनन् भन्दा पनि हुन्छ ।

के संसद् सांसदहरूले कुनै विषय वा मुद्दा वा बहसमा केवल पक्ष वा विपक्षमा समर्थन वा विरोध गर्ने थलो मात्रै हो र ?

के संसद् सरकारको काम कार बाईँको सम्बन्धमा चर्चा गर्ने स्थल मात्रै हो र ?

के संसद् विकास निर्माणका र तत्काल समस्याहरूको बारेमा समय खर्चिने ठाउँ मात्रै हो र ?

के सांसदले संविधानले सुनिश्चित गरेका मौलिक हक अधिकार लगायत प्राकृतिक र आर्थिक स्रोतहरूको बाँडफाँड सम्बन्धी कानुनहरू निर्माण गर्न गम्भीर भएर कार्य गर्नु पर्दैन र ?

के सांसदहरूले कानुनहरू तत्काल निर्माण गरेर संविधानले सुनिश्चित गरेका हक तथा अधिकारहरू जनतालाई दिलाउनु पर्दैन र ?

सांसदले कानुन निर्माण गर्ने कार्यको प्रगति किन निराशाजनक छ ? नेपालमा सांसदबाट कानुनहरू निर्माण गर्न बर्सौँ लाग्ने गरेको तथ्यहरूबाट स्पष्ट हुन्छ ।

यसैले नेपालको संविधानमा संशोधन गरेर संसद्मा प्रस्तुत भएको विधेयकलाई २८ दिन भित्र अनिवार्य रुपमा सांसदबाट पास वा फेल गराउनु पर्ने कडा र प्रस्ट कानुन बनाउनु आवश्यक छ । सांसदहरूले यस विषयमा गम्भीरतापूर्वक बहस र निर्णय गर्नु पर्दछ ।

कानुन निर्माण गर्ने कार्यमा सांसदले आफ्नो जिम्मेवारी र दायित्व किन निर्वाह गरिरहेका छैनन् ?

के सांसदहरूको यस्ता गतिविधिले संसद्को प्रतिष्ठालाई अझ कमजोर बनाउँदैन र ?

सांसदहरू तिनीहरू स्वयंको अस्त्र पनि हुन् र स्वयंको कवच पनि । सांसदहरुसँग व्यवस्थापिकाको अधिकार रहेको हुन्छ ।

यसैले विगतको जस्तै नियमित काम कारबाहीमा अल्झिने हो भने अहिलेको संसद् र सांसदसँग कुनै पनि विशेष कार्यको अपेक्षा गर्न सकिँदैन ।

तर, वास्तवमै संसद् र सांसदहरूले चाहने हो र दिनरात नभनी दत्तचित्त भएर मेहनतपूर्वक काम गर्ने हो भने अहिले सम्म नबनेका कानुनहरू एक वर्ष भित्रमा सांसदबाट बनाउन सकिन्छ र भविष्यको लागि आवश्यक कानुनहरू पनि पाँच वर्ष भित्रमा निर्माण गर्न सकिन्छ ।

अहिलेको संसद् र सांसदहरूले आम नेपालीलाई कस्तो चिनारी दिने हो, यसको गहन जवाफ संसद् भित्र सांसदहरूले निर्वाह गर्ने भूमिकामा नै लुकेको छ ।

संसद्को गरिमा सांसदहरूको नैतिकता, इमानदारिता, सत्यनिष्ठा, गतिविधि, क्रियाकलाप, सक्रियता, समझदारी, समन्वय र भूमिकामा निर्भर गर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!